जङ्कफुडको प्रयोगले बालबालिकामा कुपोषण समस्या
बालाराम खड्का
तुलसीपुर, १८ पुस । बदलिँदो जीवनशैली, गलत खानपान, जङ्कफुडको अधिक प्रयोग र किटनाशक औषधीको प्रयोगका कारण आवश्यक पोषक तत्व मानव शरीरले पाउन सकिरहेका छैनन् । जसका कारण मानिमा कुपोषण तथा पौष्टिक तत्वको कमीका कारण विविध स्वास्थ्य समस्या देखिने गरेका छन् । सामान्यतया शरीरमा पोषणतत्वको कमी भएमा कुपोषण हुनुका साथै शरीरमा विभिन्न समस्या देखिने गर्छ । कुपोषणकै कारण शरीरमा विविध रोगले आक्रमण गर्ने गर्छ ।
लुम्बिनी प्रदेशमा पोषणको समस्या १६ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या अत्यधिक देखिने गरेको छ । तुलसीपुर उपमहानगरपालिकामा गरिएको सर्वेक्षण अनुसार तीन दशमलव पाँच प्रतिशत पोषणको समस्या रहेको छ । खानामा पोषक तत्व नपाउनु वा त्यसको आहारको मात्र नमिल्दा कुपोषण हुने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक बिमल केसी बताउँछन् । ‘जङ्कफुड तथा बदलिँदो आधुनिक जीवनशैलीका खानाले कपोषण निमत्याएको छ’, जनस्वास्थ्य निरीक्षक केसीले भने ।
उनले पहिलो चरणमा पालिकाका १५ हजार बालबालिकाको पोषणको अवस्था जाँच गर्न सुरु गरेका बताए । अहिलेको समयले मानिसको जीवनशैली कामका व्यस्त बनाएकाले हरेक कुरा छिट्टो र सहज चाहने भन्दै केसी भन्छन्, ‘आफनो र सन्तानको बाँकी जीवन सहज बनाउने आशले दिनहुँ हतारिँदै काममा जाने र समय बचाउने चक्करमा जङ्कफुड प्रयोग गर्नुहुन्छ, जसले मानव शरीमा आवश्यक पौष्टिक तत्व पूरा गर्दैन ।’ उनका अनुसार व्यस्तताले बालबच्चालाई शारीरिक र मानिसक रूपमा स्वस्थ राख्न के कस्ता खाना खान दिने भन्ने फुर्सदसम्म नपाइरहेको अवस्था छ । ‘अभिभावक काममा व्यस्त भएर बालबालिकालाई आवश्यक पर्ने पौष्टिकयुक्त खाना खुवाउनेसम्मको फुर्सद छैन’, उनले भने, ‘यसैका कारण बालबालिका कुपोषणको शिकार हुनु पुग्छन् ।’
विश्व स्वास्थ्य संगठनका अनुसार कुपोषण पौष्टिक तत्वको कमी भएर वा बढी भएर पनि हुनसक्छ । कुपोषणको समस्या हाम्रो शरीरलाई चहिने सूक्ष्म पोषकतत्व (माइक्रोनुट्रिएन्स)को अभावले पनि हुने गर्छ । खानामा पौष्टिक तत्व न्यून भए बच्चाको उमेर अनुसार उचाइ कम हुने, उचाइ अनुसार कम तौल हुने गर्छ । यसैगरी पौष्टिक तत्व धेरै भयो अनावश्यक तौल बढ्ने र मोटोपना बढ्छ । शरीरलाई चाहिने सूक्ष्म पोषकतत्व अभाव हुँदा अरू विभिन्न किसिमका गम्भीर अवस्था आउँछन् ।
यसले कमजोर शारीरिक र मानसिक विकास, मानसिक समस्या, अन्धोपन, कुपोषण लागेमा अन्य रोगको जोखिम बढेर जाने चिकित्स बताउँछन् । पोषणको स्रोत हाम्रो खानपान नै भएकाले बालबालिकालाई कुपोषित हुनबाट जोगाउन खानपानमा विशेष ध्यान दिननुपर्ने चिकित्सक बताउँछन् । पौष्टिक आहार भन्नेबित्तिकै महँगा खानेकुरा हुन् भन्ने आम बुझाइ छ । खाद्य उत्पादनको पौष्टिक संरचनासम्बन्धी चेतनाको कमीको कारणले गर्दा मानिसले प्रायः खाद्यवस्तुको गुणस्तर मूल्यका आधारमा मूल्याङ्कन गर्ने गरेको पाइन्छ ।
तुलसीपुर उपमहानगरपालिकले यस क्षेत्रका १५ हजार बालबबालिकाको पोषण अवस्थाको जाँच गर्न सुरु गरेको छ । गैरसरकारी संस्था बेससँगको सहकार्यमा १९ वटै वडामा रहेका छ महिनादेखि ५ वर्षसम्मका १५ हजार बालबालिकाको शरीरमा भएको पोषण अवस्था जाँच अभियान सुरु गरिएको स्वास्थ्य शाखाका पौष्टिक फोकल पर्सन केसी बताए ।
पोषणमार्फत् जीवन रूपमान्तरण अन्तर्गत टोल बस्तीमा पुगेर बालबालिकामा पोषण जाँच गरिने उनले बताए । यसैगरी कडा कुपोषण भएका बालबालिकालाई उपमहानगरले उपचार समेत गर्ने केसीले बताए । उनका अनुसार कडाकुपोषण भएका बालबालिकालाई नगरका ८ वटा स्वास्थ्यचौकी र तुलसीपुरको भिमसेन मेट्रो अस्पताममा राखेर उपचार हुने छ । ‘हामीले बालबालिकाको सबै जाँच गर्नेछौँ, उपचार नै गर्नुपर्ने अवस्था भए उपचार पनि गर्नेछौँ’ उनले भने, ‘सामान्य देखिएका आमालाई सचेतना दिने छाँै ।’
यसैबिच पोषण जाँचको सुरुवात तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० एक समारोहको आयोजना गरेर बुधवारदेखि सुरु गरिएको छ । समारोहलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले शारीरिक र मानसिक रूपमा बालबालिकालाई स्वस्थ राख्न पौष्टिक आहारा कमी गर्न नहुने बताए । पौष्टिक आहारा कमी भए कुपोषणलगायतका प्राणघातक रोगले आक्रमण गर्ने भन्दै नगर प्रमुख खड्काले सम्भावित खतराको पहिचान गर्न पोषण जाँच गर्न थालिएको बताए । १० नं. वडाध्यक्ष यमराज केसीको अध्यक्षतामा भएको कार्यक्रम तुलसीपुर उपमहानगरकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगीलगायतले पौष्टिक सचेतनाका बिषयमा बोलेका थिए ।