बालाराम खड्का
तुलसीपुर, १७ पुस । तुलसीपुरमा रहेको पर्यटकीय स्थल ‘राप्ती शान्ति उद्यान’ बाह्य तथा आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको छ । विसं २०६० सालमा वन ऐन बमोजिम विधान तथा कार्ययोजनामै समावेश गरी यस क्षेत्रलाई उद्यानको रूपमा विकास गरी पर्यटकीय स्थल बनाउन समूहभित्रका उपभोक्ता, राजनीतिक दल, नागरिक समाजले संयुक्त भेलाबाट निर्णय पारित गरी उद्यानको स्थापना भएसँगै यसको विकास र विस्तार पनि हुँदै गएको छ । द्वन्द्वकालमा शान्तिको सन्देश दिन भन्दै निर्माण गरिएको ‘राप्ती शान्ति उद्यान’ यतिबेला जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ ।
तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको उक्त उद्यान (पार्क)मा पछिल्लो समय जिल्लासँगै छिमेकी जिल्लाबाट पनि पर्यटक घुम्न आउने गरेका छन् । उद्यानको अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोजका लागि दैनिक आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको पार्क व्यवस्थापन समितिले जनाएको छ । करिब १२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त उद्यानको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गर्छ ।
राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर सल्यान सडक खण्डको तीन किलोमिटर उत्तरमा श्रीगैँ गाउँबाट डेढ किलोमिटर पूर्व पर्ने उक्त पार्कको पूर्व–दक्षिणमा वनजङ्गल, पश्चिम तथा उत्तरमा गणेशपुर गाउँ पर्छ । जिल्लामा आउने जोकोही राप्ती शान्ति उद्यानको अवलोकन गरेर जाने गरेका छन् । उद्यानको अवलोकन गर्न काठमाडौँबाट आएका स्वास्थ्य मन्त्रालयका पूर्व महानिर्देशक कृष्णबहादुर चन्दले उद्यानको अवलोन गर्दा आन्नदित महसुस भएको बताए ।
‘शान्ति उद्यान पार्क देख्दा आनन्द आयो, पार्कबारे धेरैबाट सुनेकी थिएँ, आज प्रत्यक्ष घुम्न पाउँदा यहाँको सुन्दरताले आनन्दित बनायो’, चन्दले भने । उनले काम विशेषले दाङ आएको समयमा उद्यानको अवलोकन गर्ने अवसर मिलेको बताए । यसैगरी रेशमबहादुर खड्काले पनि राप्ती शान्ति उद्यानको नाम धेरै सुनेको र अवलोकन गर्ने अवसर नमिलेको भन्दै आफूले प्रत्यक्ष अवलोन गर्ने अहिले अवसर मिलेको भन्दै खुसी व्यक्त गरे । उनले पर्यापर्यटनदेखि विभिन्न लोपोन्मुख जनावर हेर्न पाएको सुनाए । उनले दाङको मुख्य पर्यटकीय आकर्षणको रूपमा रहनु यस क्षेत्रको गर्वको कुरा भएको सुनाए ।
शान्ति उद्यानमा रहेको गौतम बुद्धको प्रतिमा, प्राकृतिक मनोरमदेखि त्यहाँको विविध कुराले आफूलाई मनमोहक बनाएको पार्क घुम्न आएकी सुरेखा गुरुङले बताइन् । यसैगरी स्थानीय समाजेवी तथा शान्ति उद्यान स्थापनामा महत्वपूर्ण भूमिका खेलेका कृष्णकुमार गिरीले पछिल्लो समयमा यस क्षेत्रको गहनाको रूपमा रहेको राप्ती शान्ति उद्यानमा धेरै पर्यटक आउने गरेको बताए । उनले सबै क्षेत्रका पर्यटक उद्यान अवलोकन गरेर खुसी हुने गरेको बताए । उनले यसको थप विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहने बताए ।
राप्ती शान्ति उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले पछिल्लो समयमा शान्ति उद्यानमा विभिन्न क्षेत्रबाट अवलोकन गर्न पाउने गरेको बताए । ‘पार्कभित्रको मुख्य आकर्षण भनेको भगवान गौतम बुद्धको मूर्ति हो, यसका साथै पार्कको विकासका लागि पहल गरिरहेका छौँ’, भण्डारीले भने । उनले पछिल्लो विकाससँगै पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताए । शान्ति उद्यानमा पर्यापर्यटनको विकास गर्दै वातावरणीय सन्तुलन कायम राख्ने, विपन्नवर्गका सथानीयको आयआर्जनमा टेवा पुग्ने र आन्तरिक तथा बाह्य पर्यटक भित्राई आम्दानी वृद्धि गरी समूहभित्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सहयोग पु¥याउने उद्देश्य रहेको भण्डारीको भनाइ छ ।
शान्ति उद्यानमा शान्ति बाटीका, कृत्रिम जलासय र वाटर फाउन्टेनले पर्यटकलाई आकर्षण गर्नुका साथै आयआर्जनमा पनि टेवा पु¥याएको उनले बताए । पछिल्लो समयमा शान्ति उद्यानमा बोटिङ पुल र कृत्रिम जलासय निर्माण गरी पर्यटकलाई डुङ्गा सयर गराउने उद्देश्यले प्रदेश सरकारको सहयोगबाट बोटिङ पुल निर्माण गरिएको छ । सो बोटिङ पुलमा अहिले ४ हजार माछाका भुरा पालिएको अध्यक्ष भण्डारीले बताए । ‘राप्ती शान्ति उद्यान यस क्षेत्रको पर्यटकीय गन्तव्यसँगै यसैका कारणले सयौँले रोजगारी पनि पाउनुभएको छ, यसको विकास र विस्तारका लागि हामी दिनरात खटिएका छौँ’, भण्डारीले भने ।
शान्ति उद्यानमा जङ्गली जनावराको संरक्षण र संवर्धनका लागि डिभिजन वन कार्यालय र उद्यानको आन्तरिक लगनीमा कृत्रिम जलासय निर्माण सुरु भएको छ । पार्कको उत्तरतर्फ बालबालिकाका लागि बालउद्यानसँगै ‘बेबी रेल’, पिङ, चिप्लेटी र नजिकैमा स्विमिङ पुल निर्माण गरिएको छ । पार्क वरपर चराचुरुङ्गीको मधुर स्वर सुन्न पाउनुका साथै प्राकृतिक तथा जैविक विविधताले भरिएको रमणीय वातावरण रहेकाले पर्यटक आकर्षित हुने गरेका छन् । पछिल्लो समयमा विभिन्न संस्कृति झल्कने पोसाकका साथै घोडा सवारको व्यवस्था गरिएकाले पर्यटकको आकर्षण झनै बढेको छ । पार्कमा बत्तीको व्यवस्थापन गरेर राति १० बजेसम्म पर्यटक रमाउने व्यवस्था पार्कले मिलाएको छ ।