गोरक्ष समाचारदाता
दाङ, १७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद प्रकाश रसाइली ‘स्नेही’ले कांग्रेसलाई बलियो बनाउन नयांँ ढङ्गले सोच्नु पर्ने आवश्यकता रहेको बताएका छन् । कांग्रेसको १०० दिने विशेष अभियान एवम् ४९औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा मङ्गलवार घोराहीमा नेपाली कांग्रेस घोराही नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता रसाइलीले बद्लिँदो समयमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्दै पार्टीलाई बलियो र सङ्गठित नयाँ ढङ्गले अघि बढाउने गरी सोच्नुपर्ने बताएका हुन् । त्यसका लागि पार्टीमा रिभाइभ आवश्यक रहेको भन्दै अहिले केन्द्रमा त्यसको गृहकार्य भइरहेको समेत बताए ।
कम्युनिस्ट र नयाँ उदाएका पार्टीसँग प्रतिस्पर्धा गर्दै कांग्रेसलाई संगठन निर्माण गर्नुपर्ने चुनौती रहेकाले व्यक्तिगत चाहना र कुण्ठालाई हटाएर पार्टी संगठन निर्माणमा नेतादेखि कार्यकर्ता लाग्नुपर्ने आवश्यक रहेको बताए । त्यसका लागि समानुपातिक प्रतिनिधित्वसँगै दलित, मुस्लिम, महिला, मजदुर, किसान, अल्पसङ्ख्यक सबैका मुद्दालाई नयाँ ढङ्गले उठाएर कांग्रेस अघि बढ्नुपर्ने बताए । वीपी कोइरालाले सुरुवात गरेको समानुपातिक सहभागिता र प्रतिनिधित्व कांग्रेसले छोड्दा कम्युनिस्टले बोकेको र अहिले तल्लोवर्ग कांग्रेसदेखि टाढा भएको भन्दै कांग्रेसले तल्लोवर्गलाई समेट्ने गरी अघि बढ्नुपर्ने आवश्यक रहेको बताए ।
‘कांग्रेस पार्टीलाई बचाउन रिभिजन आवश्यक छ, यसका लागि पार्टीमा काम गर्नेको मूल्याङ्कन गर्ने पद्धतिको विकास गर्न जरुरी छ’, कार्यक्रमका प्रमुख अतिथि रहेका रसाइलीले भने, ‘सबै समुदायलाई समेट्नका लागि वर्गीय मुद्दा, सामानुपातिक प्रतिनिधित्वलगायतका मुद्दालाई परिमार्जित गरेर अघि बढ्न आवश्यक छ ।’ गुटगत राजनीति र निराशाका कारण कांगे्रेसभित्र आफैँले गरेका काम प्रचारप्रसार गर्न नसक्ने अवस्था रहेको भन्दै उनले यसलाई हटाएर पार्टीका नेता तथा कार्यकर्ताबिच हार्दिकता र प्रेम हुनुपर्ने बताए । पार्टीमा दण्ड र सजायको व्यवस्थालाई कडा रूपमा पालना गर्नुपर्ने भन्दै उनले पार्टीभित्र मौलाएको अराजकताको अन्त्य हुनुपर्ने बताए ।
पार्टीका कार्यकर्तालाई वैचारिक र संगठन निर्माणमा सशक्त रूपमा अघि बढाउन पार्टीको केन्द्रदेखि जिल्ला तहसम्म प्रशिक्षण विभाग गठन गर्नुपर्ने र समयमा प्रशिक्षण प्रदान गरिरहनुपर्ने बताए । त्यसले पार्टीका नेता तथा कार्यकर्तालाई रिभाइभ गर्ने र संगठन निर्माणमा सहयोग पुग्ने बताए । जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि समेत रहेका नेता रसाइलीले कांग्रेसलाई चलायमानसँगै पार्टीको पक्षमा जनमत बढाउन सामाजिक सञ्जालको प्रयोगलाई बढाउन आवश्यक रहेको बताए । सामाजिक सञ्जालको प्रयोगमा अन्य पार्टीको तुलनामा कांग्रेस पछाडि रहेको भन्दै उनले सूचना प्रविधिको माध्यममा कांग्रेसलाई आम पब्लिकसँग जोड्दै सशक्त संगठन निर्माणमा नयाँ पुस्ता लाग्नुपर्ने बताएका हुन् । निर्वाचनमा भएको प्रतिस्पर्धालाई प्रतिशोधका रूपमा लिँदा पार्टी कमजोर भएको भन्दै प्रतिशोधलाई हटाएर पार्टीभित्र प्रेम र हार्दिकताको भावना विकास गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले सयदिने अभियानले जिल्लामा पाटी सुदृढीकरणका लागि सहयोग गरेको बताएका छन् । पार्टीले थालिएको अभियानले पार्टीका आन्तरिक विकृति हटाउन र एक्लै चुनाव लड्नसक्ने शक्तिको निर्माण गर्न सयदिने अभियान थालिएको भन्दै वडामा पार्टीमा देखिएका विवाद, जनताका गुनासा समाधान गरेर एकताबद्ध पार्टी संगठन निर्माणमा सहयोग पु¥याउने काम गरेको बताए । सयदिनेको अभियानका क्रममा जिल्लाका विभिन्न गाउँपालिका, वडासम्म पुगेर पार्टीको गतिविधिका विषयमा छलफल गरिएको, आन्तरिक विवाद, कमिकमजोरीका विषयमा जानकारी लिनेदेखि सकेसम्म विवाद समाधान गरेर पार्टीलाई संगठित बनाउने काम भएको बताएका थिए । अभियानले पार्टीको आन्तरिक पद्धतिलाई जीवन्त राख्न सहयोग गरेको भन्दै जतिसक्यो चाँडै क्रियाशील सदस्य नविकरणको कामलाई सक्न वडा कार्यसमितिलाई सभापति डाँगीले निर्देशन दिएका थिए ।
नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावतको सभापतित्वमा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा सभपाति, वडामा खटिएका प्रतिनिधिले वडामा भएको कांग्रेसका गतिविधिबारे जानकारी गराउँदै कांग्रेसको संगठन निर्माणदेखि जनतालाई आकर्षण गर्न कांग्रेसभित्र देखिएको गुटगत राजनीतिको अन्त्य हुनुपर्ने, पार्टी र जनप्रतिनिधिबिचको समन्वयमा विकास, निर्माणका कार्य अघि बढाउनुपर्ने, संगठन निर्माण र कार्यकर्ताहरूमा मेलमिलाप र उर्जाका लागि गतिविधि नियमित हुनुपर्ने र पार्टीको सिद्धान्तविपरीत जानेलाई कारबाहीको व्यवस्था हुनुपर्ने माग राखेका थिए । उपसभापति दुलर्भ केसीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस नगर सचिव पुष्पराज आचार्यले गरेका थिए ।
यसैबिच नेपाली कांग्रेसले सुरु गरेको सयदिने अभियान अन्तर्गत नेपाल दलित संघ दाङले मङ्गलवार घोराहीमा कार्यक्रम सम्पन्न गरेको छ । दलित संघ दाङले आयोजना गरेको समावेशी लोकतन्त्र र नेपाली कांग्रेस विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले सामावेशी रूपमा दलित समुदायको प्रतिनिधित्व हुन नसकेको बताएका थिए । कानुनी रूपमा व्यवस्था भए पनि अहिले समावेशी रूपमा प्रतिनिधित्व हुन नसक्नु दुःखद् भएको भन्दै समान रूपमा प्रतिनिधित्वका लागि कांग्रेसले जोड दिनुपर्ने बताएका थिए ।
दलित संघ दाङका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । यसैबिच दाङमा सञ्चालन भएको सयदिने अभियानको आज समापन गरिने भएको छ । समापन कार्यक्रम बुधवार ११ः३० बजे नेपाली कांग्रेसको घोराही स्थित पार्टी कार्यालयमा आयोजना गरिएको नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिएका छन् ।