Goraksha

National Daily

विद्यार्थीलाई पोसाक वितरण

गोरक्ष समाचारदाता
भालुबाङ, १७ पुस । दाङको राप्ती गाउँपालिका–४ वडा कार्यालयले वडाभित्रका दलित परिवारका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । वडाभित्रका दुई सामुदायिक विद्यालयका बालविकासदेखि ५ कक्षासम्म अध्ययनरत ६७ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो ।

जनज्योति आधारभूत विद्यालय नयाँगाउँका ४३ र माध्यमिक विद्यालय मौरीघाटका २४ जना दलित विद्यार्थीलाई ५१ हजार रुपैयाँ बराबरको पोसाक वितरण गरिएको वडाध्यक्ष वीरबहादुर चौधरीले जानकारी दिएका छन् । प्रत्येक विद्यार्थीलाई विद्यालय पोसाकको रूपमा सर्ट र पाइन्ट वितरण गरिएको हो । वडाध्यक्ष चौधरीका अनुसार वडाको आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत पोसाक वितरण गरिएको हो ।

अध्यक्ष चौधरीले यस पटक दलित विद्यार्थीलाई मात्रै पोसाक वितरण गरिएको भन्दै आगामी वर्षमा जनजाति, विपन्न र अन्य वर्गका विद्यार्थीलाई समेट्ने बताए । पोसाक वितरण कार्यक्रममा वडा सदस्य विष्णुप्रसाद पोख्रेल, बालिका सुनार, वडा सचिव भगवती सुवेदी, मौरीघाट बजार व्यवस्थापन समितिका कोषाध्यक्ष गोविन्दबहादुर केसी, विद्यालयका प्रधानाध्यापकलगायत अन्य शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।