प्रेस सेन्टर घोराहीमा नयाँ नेतृत्व
गोरक्ष समाचारदाता
दाङ, १७ पुस । प्रेस सेन्टर नेपाल घोराही शाखाको मङ्गलवार दोस्रो अधिवेशन सम्पन्न भएको छ । संगठनका कार्यवाहक अध्यक्ष हेमराज परिवर्तनको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि शर्माले पत्रकारले पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । पत्रकारिता क्षेत्रमा कमजोर हुँदै गएकाले त्यसलाई थप व्यवस्थित बनाउन पत्रकारले बोल्ने भन्दा लेख्ने कुरामा विशेष जोड दिनुपर्ने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रयीय सदस्य हेमराज शर्मा डायमण्डले सधैँ रचनात्मक र सकारात्मक समाचार सम्प्रेषणमा कलम चलाउनुपर्नेमा बताएका थिए ।
यसैगरी नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सविन प्रियसनले पत्रकारिताको माध्यमबाट नै समाज रूपान्तरण हुने भन्दै सबै संगठनका क्रियाशिलताले यो सम्भव हुने । उनले समाज रूपान्तरणमा सञ्चार संगठनको क्रियाशिलता नदेखिए समग्र पत्रकारिता क्षेत्र नै कमजोर हुने बताएका थिए । प्रेस सेन्टर नेपाल नीति तथा परामर्श समितिका सदस्य उदय जिएमले पत्रकारिता क्षेत्रमा जोडिएका हरेक पत्रकारले आफ्नो व्यत्तित्व विकाससँगै पहिचान निर्माण गर्न आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले महासंघले पत्रकारको पेसागत सुरक्षाका लागि जिल्लामा रहेका पत्रकारिता गर्ने विभिन्न सञ्चार संगठनसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले जिल्लामा क्रियाशील सबै संगठनहरूको उद्देश्य पत्रकारका हक र अधिकारका लागि काम गर्ने भएको हुँदा त्यसका लागि सबै संगठनसँग नेपाल पत्रकार महासंघ दाङ शाखा छलफल, समन्वय र सहकार्य गर्ने बताएका थिए
कार्यक्रममा माओवादी केन्द्र घोराही नगरका अध्यक्ष अटल चौधरी, प्रेस सेन्टर नेपाल दाङका संस्थापक अध्यक्ष पुरन शर्मा, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका महासचिव भुपेन्द्र वली, प्रेस चौतारी नेपाल दाङका पूर्व अध्यक्ष जेएन सागर, प्रेस सेन्टर नेपाल दाङकी अध्यक्ष अनिता पोख्रेल, जनपत्रकार संगठन नेपाल दाङका उपाध्यक्ष जंग रेउलेलगायतले भनाइ राखेका थिए । सेन्टर नेपाल घोराहीका उपाध्यक्ष वर्षा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य सुविन शेर्पाइलीले गरेका थिए ।
यसैबिच प्रेस सेन्टर नेपाल घोराही शाखाको दोस्रो अधिवेशनले हेमराज परिवर्तनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा वर्षा मगर र विष्णु गोराथोकी, सचिवमा सुविनराज शेर्पाइली, सहसचिवमा अमृता डाँगी र रमण शर्मा, कोषाध्यक्षमा भिउमान पुन पगर चयन भएका छन् । सदस्यमा असिमा घर्ती मगर, बलजित दमाई, मनोज मगर, हिरा केसी, रामकुमार दाहाल, प्रज्वल खड्का र नवीन गौतम चयन भएका छन् ।
