निःशुल्क सिकलसेल परीक्षण, ७८ जनामा पोजेटिभ
गोरक्ष समाचारदाता
दाङ, १६ पुस । लमही नगरपालिका–८ सतबरिया स्वास्थ्यचौकीमा गरिएको निःशुल्क सिकलसेल एनिमिया जाँच शिविरमा स्क्रिनिङ गर्दा ७८ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना, लमही नगरपालिकाको समन्वय तथा आत्मनिर्भर लुघवित्त वित्तीय संस्था लिमिटेडको सहकार्य एवम् मेट लाइफ नेपालको सहयोगमा सोमवार गरिएको सिकलसेल एनिमिया निःशुल्क जाँचसम्बन्धी शिविरमा परीक्षणका लागि पुगेको पाँच सय ७८ जनाको रगत स्क्रिनिङ गर्दा ७८ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको हो ।
स्क्रिनिङ गर्दा धेरैमा सिलकसेल पोजिटिभ देखिएकाले डिजिज वा ट्रेट पहिचान गरी उपचारमा सहजता ल्याउन पहल गरिने ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले जानकारी दिएकी छिन् । स्क्रिनिङ गरिएकामध्ये १३ दशमलव ५८ प्रतिशतमा सिकलसेल एनिमिया देखिएको छ । सिकलसेल एनिमिया निःशुल्क जाँच शिविरमा लमही नगरपालिका वडा नम्बर ७, ८ र ९ का स्थानीय चौधरीलगायतका समुदायका नागरिकको सहभागिता रहेको थियो । निःशुल्क शिविर उद्घाटनमा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले रोग लुकाएर बस्न नहुने भन्दै आफ्नो र आउने पुस्ताका लागि स्वास्थ्य परीक्षण अनिवार्य भएको बताए । सिकलसेल रोगकै कारण आर्थिक अवस्था कमजोर हुने परिस्थिति नहोस् भन्ने उद्देश्यले सहयोगी संस्थाहरूको सहकार्यमा गरिएको शिविरले पालिकाको स्वास्थ्य सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
सिकलसेल बिरामीको अवस्था पहिचान गरी रोगको उपचारमा सघाउ पु¥याउन र रोग पालेर अरूमा सार्ने अवस्थाको अन्त्य गर्नका लागि उपमहानगरपालिकाले विभिन्न सहयोगी सस्थासँग समन्वय गरेर निःशुल्क परीक्षणको व्यवस्था गरेको लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले बताइन् । शिविरमा सतबरिया स्वास्थ्यचौकी, लमही अस्पताल, सिसहनिया स्वास्थ्यचौकीलगायतको स्वास्थ्यकर्मी टोलीले सहयोग गरेका थिए ।
शिविरमा लमही अस्पताल ल्याव टेक्निसियन ध्रुव पण्डित, ल्याव टेक्निसियन निरीक्षक हिमाल आचार्य, सिसहनिया स्वास्थ्यचौकीका ल्याव असिस्टेन्ट, असिस्टेन्टहरू संगीता चौधरी, सुलोचना चौधरी र दुर्गेसी चौधरीले शिविरमा सिकसेल परीक्षण गरेका थिए । सतबरिया स्वास्थ्यचौकीका इञ्चार्ज ठाकुर भट्टराईको स्वागत एवम् विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण ग्रामीण महिला उत्थान केन्द्रकी पार्वती बस्नेतले गरेकी थिइन् ।
