सरकारलाई असफल हुने छुट छैन : महासचिव पोख्रेल
गोरक्ष समाचारदाता
दाङ, १६ पुस । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले कसैलाई चित्त नबुझ्दैमा वर्तमान सरकार ढल्छ भनेर अफवाह फैलाउनु गलत भएको बताएका छन् । नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग दाङले सोमवार घोराहीमा आयोजना गरेको नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय पार्षद्, प्रदेश पार्षद् तथा सदस्यहरूलाई सम्मान एवम् बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले देशको विकास र समृद्धिका लागि बनेको वर्तमान गठबन्धन सरकार नढल्ने बताएका हुन् ।
देशमा अराजकता र बेथितिलाई हटाउँदै सुशासन, विकास र समृद्धिका लागि वर्तमान गठबन्धन बनेको भन्दै महासचिव पोख्रेलले सरकारलाई असफल बनाउने छुट दुई प्रमुख पार्टी कांग्रेस र एमालेलाई अब नभएको बताए । अस्थिरताको हौवाबाट तर्सिनुपर्ने अवस्था नरहेको भन्दै उनले सरकारमा रहेका दुई दल चुनौतीको सामना गर्ने गरी गतिलो गृहकार्य गरेर अघि बढिरहेको बताए । ‘अहिलेको सरकार सङ्कट समाधान गर्न संवेदनशील छन् । संविधान कार्यान्वयनको एकदशकको समीक्षा गरेर अधिक्तम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउँछौँ’, महासचिव पोख्रेलले भने, ‘त्यसका लागि अहिले दलबिच गृहकार्य भइरहेको छ ।’ सरकारले लगानीको वातावरण निर्माण गर्ने गरी भूमिका बढाएको बताउँदै लगानी गर्न नडराउन समेत लगानीकर्तालाई आग्रह गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको बताउँदै भने, ‘विगतको तुलनामा अहिले धेरै सुधार भएको छ । विगतमा भन्दा १७ प्रतिशतले राजस्व सङ्कलन बढेको हो । पुँजीगत खर्च बढेको छ । दुई महिनाभित्र सबै भुक्तानीको दायित्व तिर्नुपर्ने बाटोमा सरकार जाँदैछ । मौद्रिक तरलतालाई व्यवस्थित गर्नुपर्ने छ ।’
माओवादी नेतृत्वको सरकार रहँदा कर्मचारीलाई तलब खुवाउने पैसा नहुनुका साथै विकास निर्माणका काम गर्ने निर्माण व्यवसायीको पैसा रोकिएको बताए तर अहिले उक्त अवस्थामा सुधार आइरहेको पोख्रेलको दाबी थियो । राजनीतिक अस्थिरताका कारण मुलुकको विकास निर्माण तथा आर्थिक पक्ष प्रभावित भएको बताउँदै उनले अपेक्षा गरिए अनुसारको परिणाम आउन केही समय लाग्ने बताए । कांग्रेस एमालेको गठबन्धन सरकार बनेपछि अहिले विकास निर्माणले लय लिन थालेको भन्दै पोख्रेलले धैर्य गरे केही समयमा अर्थतन्त्रमा सुधारसहित विकास–निर्माणका कामले गति लिने र जनताले चाहेको समृद्धि प्राप्त हुने बताएका थिए ।
‘परिस्थिति परिपक्व नहुँदासम्म संविधान संशोधनको काम अघि बढ्दैन । विगतमा जुन अवस्था रह्यो त्यस्तो अवस्था आउन नदिने गरी संविधान संशोधनको प्रक्रिया अघि बढाउँछौँ’, महासचिव पोख्रेलले भने, ‘तीन तहका सरकारको कामलाई प्रभावकारी बनाउने गरी संरचना सुधार, अधिकारमा स्पष्टता र कानुन सुधार गरेर जानसक्ने बारेमा समेत गृहकार्य गरिरहेका छौँ ।’ राजनीति भनेको इतिहास भएको भन्दै महासचिव पोख्रेलले नयाँ भन्ने बित्तिकै विकल्प हुन नसक्ने भएकाले राजनीति घामछाँया जस्तो नरहेको स्पष्ट पारेका थिए ।
महासचिव पोख्रेलले संस्थागत पत्रकारिता कमजोर हुँदा सामाजिक सञ्जाललाई पत्रकारिता मान्ने जमात बढ्न थालेकोप्रति चिन्ता व्यक्त गरेका थिए । संस्थागत पत्रकारिता कमजोर हुँदा अराजकता र स्वच्छन्दतावाद हाबी भएको भन्दै महासचिव पोख्रेलले भने, ‘तथ्यहीन, भ्रामक र नियोजित चिज बढी खोजिन थाल्यो । अब संस्थागत पत्रकारितालाई बलियो बनाउने गरी नयाँ बहस सुरु गर्नुपर्छ । सोसल मिडिया चलाएर पत्रकार भन्ने गलत अभ्यास हुनु हुँदैन, यो राम्रो होइन ।’ पत्रकारिता क्षेत्रमा देखिएका विसङ्गति हटाउन पत्रकार महासंघले पहल गर्नुपर्ने बताएका थिए । दाङको विकास निर्माणले गति लिएको भन्दै महासचिव पोखरेलले सरकारले आन्तरिक स्रोतबाट तुलसीपुर–घोराही फोरलेन सडक विस्तारका लागि बजेटको सुनिश्चिततादेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरमा टरिगाउँ एयरपोर्टलाई विस्तार गर्ने काम अघि बढेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारिता क्षेत्रमा उत्पन्न विकृति असङ्गतिलाई न्यूनीकरण गर्दै मर्यादित पत्रकारिताका लागि महासंघ लागिपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले पत्रकार महासंघलाई सबैका साझा संस्थाका रूपमा अघि बढाउने बताए । सबै पत्रकारको साझा संस्था महासंघ भएका कारण महासंघमा सर्वसम्मत नेतृत्व चयन भएको भन्दै अध्यक्ष सुवेदीले महासंघका साझा चरित्रलाई ओझेलमा नपर्ने बताए । नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग दाङका प्रमुख सङ्गीत बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण किरण गौतमले गरेका थिए ।
