Goraksha

National Daily

कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

गोरक्ष समाचारदाता
दाङ, १६ पुस । नेपाली कांग्रेसले आज मङ्गलवार मेलमिलाप दिवस मनाउँदै छ । पार्टीका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला ‘वीपी’लगायतका नेताहरू राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किभएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।

कांग्रेसले देशभर विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदैछ । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बिचमा रहनुपर्छ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका वीपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेता मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि भारतबाट २०३३ पुस १६ गते स्वदेश फर्किका थिए ।

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको, पाकिस्तानबाट बङ्गलादेश अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेपछि वीपीलगायतका नेताहरू देशको सार्वभौमसत्ता रक्षाका लागि ज्यानको बाजी थापेर स्वदेश फर्किएका थिए । दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै स्वदेश फर्किएका वीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि राजनीतिक दल र राजा मिल्नुपर्ने धारणा राखेका थिए ।

यसैबिच राष्ट्रिय मेलमिलाप दिवससँगै नेपाली कांग्रेसले थालेको सयदिने अभियान अन्तर्गत आज नेपाली कांग्रेस घोराही नगर समितिले कार्यक्रम गर्ने भएको छ । कार्यक्रम दिउँसो १ बजे घोराही पार्टी कार्यालयमा हुने भएको नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावतले जानकारी दिएका छन् । यसैगरी दलित संघ दाङले पनि समावेशी लोकतन्त्र र नेपाली कांग्रेस विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस १०० दिने अभियानसँगै राष्ट्रिय मेलमिलाप दिवसका अवसर पारेर बिहान १०ः३० बजे नेपाली कांग्रेस दाङको घोराही पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरिएको नेपाल दलित संघ दाङका अध्यक्ष बाबुराम विश्वकर्माले जानकारी दिएका छन् ।