Goraksha

National Daily

पार्टी र जनप्रतिनिधिबिचमा सहकार्य आवश्यक

दाङ,१५ पुस । नेपाली पार्टीको संगठनलाई बलियो बनाउनका लागि जनप्रतिनिधि र पार्टीविचको सहकार्यलाई बढाउनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।

नेपाली कांग्रेसले दाङ क्षेत्र नं. २ (क) ले सोमवार घोराहीमा आयोजना गरेको पार्टी र जनप्रतिनिधिबिचको छलफल कार्यक्रमका सहभागीले पार्टीलाई आगामी निर्वाचनमा सफल बनाउनका लागि जनप्रतिनिधिले इमानदारिताका साथ काम गर्नुपर्ने बताएका थिए । निर्वाचन जितेपछि पार्टी र कार्यकर्तालाई विर्सने प्रवृति जनप्रतिनिधिहरुमा हुने गरेको भन्दै त्यसले जनप्रतिनिधिसँगै पार्टीलाई घाटा गर्ने सहभागीले बताएका थिए ।

नेपाली कांग्रेस क्षेत्र नंं. २ (१) का सभापति प्रकाश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले जनतालाई पार्टीप्रति आकर्षण गर्नेगरी जनताप्रतिनिधिले ध्यानदिनुपर्ने बताए । निर्वाचनका क्रममा जनप्रतिनिधिले गरेका प्रतिवद्धता पुरासँगै पार्टीको बिचारलाई सहयोग पुग्ने गरि काम गर्नुपर्ने र त्यसमा पार्टीका नेताहरुले सहयोग गर्नुपर्ने बताएका हुन ।

कार्यक्रममा नेपाली कांग्रेस दाङ जिल्ला उपसभापति गिरिराज सुबेदी, महासमिति सदस्य किरणकिशोर घिमिरे,नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारी, सचिव बलदेव मल्ल, बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी, घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डेयलगायतले बोलेका थिए ।

उपसभापति लक्ष्मणकुमार बुढाथोकीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सचिव शिशिर अधिकारीले गरेका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा नेताहरुको सहभागीता रहेको थियो ।