Goraksha

National Daily

बढ्दै चिसो, स्वास्थ्यमा ख्याल गर्न स्वास्थ्यकर्मीको सुझाव

बालाराम खड्का
तुलसीपुर, १५ पुस । पछिल्लो समया देशभरको मौसम चिसिँदै गएको छ । मौसमविद्का अनुसार अब देशभर चिसो बढ्दै जानेछ । मौसमविदका अनुसार तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः बढ्दै जान्छ । पछिल्लो केही दिन केही स्थानमा पानी पर्नुका साथै मौसममा बदली भएकाले न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ । पश्चिमतराई, मध्यतराई र पूर्वीतराईका केही क्षेत्रमा हुस्सु लाग्ने गर्छ तर मध्याह्नपछि क्रमिक रूपमा सुधार हुँदै जाने क्रम छ ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस हुन थालेको छ । जाडो महिना मङ्सिर–पुस भए पनि पुसदेखि अत्यधिक जाडो बढेको छ । चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्छ । जिल्लामा चिसोकै कारण त्यति समस्या नदेखिए पनि बालबालिकादेखि वृद्धवृद्धाहरू बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । चिसो बढेसँगै विभिन्न किसिमका समस्या देखिने गर्दछन् । विशेषतः गर्मी समयभन्दा जाडोमा बालबालिका र वृद्धवृद्धालाई स्वास्थ्यमा बढी समस्या हुन्छ ।

चिसोबाट जोगिन सकियो भने धेरै रोगबाट बच्न सकिन्छ । चिसो मौसममा देखापर्ने प्रमुख स्वास्थ्य समस्या भनेको फ्लु, रूघाखोकी, हाइपोथर्मिया, श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुसम्बन्धी समस्या, कार्बनमनोअक्साइड पोइजनिङलगायतका समस्या देखापर्ने चिकित्सक बताउँछन् । चिसोका कारण झ्यालढोका सबै बन्द पारेर आगो ताप्ने चलन छ तर कतैबाट हावा नै नछिर्ने गरी झ्यालढोका बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बनमोनोअक्साइडको मात्रा बढ्न जान्छ र उक्त ग्यास धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारका समस्या देखिन सक्छन् वा मृत्यु पनि हुन सक्छ । जाडो याममा ग्यासगिजरका कारण मृत्यु हुने घटना प्रायः सुनिने गर्दछ । यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र प्रयोग गर्नु राम्रो हुन्छ ।

जाडो बढेसँगै कतिपयको जोर्नीको दुखाइ, बाथरोगको लक्षण देखिनेलगायतका समस्या आउने तुलसीपुरको सिटी अस्पातालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा हेमराज शर्माले बताए ।
उनका अनुसार बाहिरी तापमानमा उतारचढाव आएसँगै त्यसले मानिसको शरीरमा सिधै असर गर्छ । तापमानमा कमी आएका कारण जोर्नीहरूको नसा सङ्कुचन हुन्छ र त्यस भागमा रगतको तापक्रम घट्छ । जाडोबाट बच्नका लागि न्यानो कपडा लगाउनु पर्छ । टोपी, मफलर, पञ्जा र मोजा लगाउन बिर्सनु हुँदैन । ‘विशेषगरी बाहिर निस्कँदा सचेत रहनुपर्छ । यसैगरी बिहानभन्दा बेलुका शारीरिक व्यायाम गर्नुपर्छ । जाडोमा कम शारीरिक कसरत र बढी खाना खाइने हुनाले तौल बढ्ने सम्भावना हुन्छ ।

चिसोमा सरुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ । नियमित साबुनपानीले हात धुने र शरीर फूर्तिलो राख्न नुहाउनु पर्ने चिकित्सहरूको सुझाव छ । चिसो पानी भन्दा मनतातो पानीले नुहाउनु राम्रो हुन्छ । यसैगरी मुटुका बिरामीले जाडोमा बाधा पर्ने गरी शारीरिक काम गर्नु हुँदैन । बिहान–बेलुका बढी जाडो हुने भएकाले सकेसम्म घरभित्रै बस्नुपर्छ । स्वस्थ खानपानमा ध्यान दिन आवश्यक छ । फलफूल तथा तरकारी, भिटामिन सी, डी जस्ता तत्व भएको खानेकुरा पर्याप्त मात्रामा खाएमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने डा। शर्र्माको भनाइ छ ।

‘अहिले जाडो मौसम छ, जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रूघाखोकी र त्यसको कारण हुने जटिलता तथा दीर्घ असरहरूको समस्या भएको चिकित्कस बताउँछन् । रूघाखोकीको प्रमुख जटिलता भनेको निमोनिया हुनु हो । बालबालिकालाई स्वास्थ्य समस्या वर्षभरि नै देखिन सक्छ तर बालबालिकामा कुनै–कुनै स्वास्थ्य समस्यामा भने मौसमी प्रभाव पनि हुन्छ । जाडो मौसममा बालबालिकामा निमोनियाको समस्या बढी हुन्छ । बालबालिकामा जाडो मौसममा लाग्ने मौसमी रूघाखोकीको समयमा राम्रोसँग उपचार नगर्दा निमोनिया हुने गर्छ ।

यसैगरी बालरोग विशेषज्ञ डा किशोर खत्रीले जाडो दिनमा भुस, गुइँठाहरूको आगो ताप्नाले धुवाँबाट बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धालाई स्वास्थ्यमा असर पु¥याउने भएकाले सजग रहन आग्रह गरेका छन् । डा। खत्रीले धुवाँमा लामो समयसम्म बस्दा कार्बनमोनो अक्साइड जस्ता विषादी ग्यास निक्लने हुँदा बाबालिकको फोक्सोमा असर र मुटुको स्वास्थ्यमा पनि असर गर्ने भन्दै सचेत हुन आग्रह गरे ।

यसले दिमागमा पनि असर पु¥याउने भएकाले गुम्सिएको कोठाभित्र आगो बालेर नताप्न आग्रह गरे । ‘जाडोमा विशेष गरी आगो ताप्ने चलन छ, यसले न्यानो गराए पनि धेरै बेर धुवाँमा बस्दा विभिन्न समस्या हुन सक्छ, त्यसैले सबैले ध्यान दिनुपर्छ’, डा।खत्रीले भने ।