Goraksha

National Daily

विदेशबाट फर्किएर भैंसीपालन, मासिक डेढ लाख आम्दानी

गोरक्ष समाचारदाता
दाङ, १५ पुस । दाङको देउखुरीमा दुई युवाले दुध बिक्री गरेर मासिक डेढ लाख रुपैयाँ बचत गर्दै आएका छन् । लामो समय वैदेशिक रोजगारीमा बसेर स्वदेश फर्किएका राजपुर गाउँपालिका–२ मटेरिया निवासी शिशिर पोख्रेल र चुडामणी पोख्रेलले भैसीपालन व्यवसाय गरेर मासिक डेढ लाख रुपैयाँ बचत गर्दै आएका छन् ।

तीन वर्षअघि १५ लाख रुपैयाँ लगानी गरेर इको नेपाल मल्टी एग्रो प्राइभेट लिमिटेड फर्म दर्ता गरेर व्यवसायिक दुध उत्पादन थालेका शिशिर र चुडामणीले अहिले दैनिक सय लिटर बढी दुध बिक्री गरेर डेढ लाख बढी आम्दानी गर्ने गरेका छन् । विदेशमा गर्ने मेहनत आफ्नै ठाउँमा गर्ने उद्देश्यले तीन वर्षअघि पाँच वटा भैसीबाट व्यवसाय सुरु गरेको शिशिर पोख्रेल बताउँछन् ।
उनका अनुसार अहिले फर्ममा साना ठुला गरेर २० बढी भैसी रहेका छन् । त्यसमध्ये १३ वटा भैसीले दुध दिने गरेका छन् । दैनिक सय लिटर बढी दुध बिक्री गर्दै आएको भन्दै सञ्चालक पोख्रेलले भने,‘अहिले दैनिक रूपमा सय लिटर बढीसम्म दुध बिक्री गर्दै आएका छौँ । जसबाट मासिक रूपमा डेढ लाख बढी बचत हुने गरेको छ ।’ फर्ममा उत्पादन भएको दुध बिक्रीका लागि लमहीमा आफ्नै ‘इको डेरी’ समेत सञ्चालन गरेको भन्दै पोख्रेलले मेहनत अनुसार आम्दानी भइरहेको बताउँछन् ।

आफ्नै डेरी सञ्चालनमा आएपछि विचौलियामार्फत् दुधमा हुने घाटा रोकिएको भन्दै उनले भने,‘आफ्नो डेरी नहुँदा अरूलाई दुध बिक्री गर्नु पर्ने बाध्यता थियो तर अहिले आफ्नो उत्पादन आफ्नै डेरीबाट बिक्री गर्ने गरेका छाँै, यसले आम्दानीमा वृद्धि गरेको छ ।’ पहिले फार्मबाट अरूलाई दुध बिक्री गर्दा प्रतिलिटर ६० रुपियाँ मात्र पाइने गरे पनि अहिले डेरी सञ्चालन भएपछि सय रुपियाँ लिटरका दरले बिक्री भइरहेको बताउँछन् ।

भैसीपालनमा दुधदेखि गोबर मलसमेत बिक्री हुने गरेकाले घाटा नहुने उनको भनाई छ । भैसीलाई दाना, घाँसखेतीलगायत नौ जना कर्मचारीलाई तलव दिँदा मासिक डेढ लाख बढी खर्च हुने गरेको बताए । आफ्नै दश कट्ठा जग्गामा भैसी फार्म सञ्चालन गरेको भन्दै उनले भैसीका लागि आवश्यक पर्ने घाँसका लागि पाँच विगाह क्षेत्रफल जमिन भाडामा लिएको बताए ।
उक्त जग्गामा भैसीका लागि आवश्यक पर्ने घाँस खेती गर्दै आएका छन् । दुधसँगै पाडापाडी उत्पादन गर्न सके बिक्रीका लागि समस्या नभएको भन्दै उनले फर्ममा माउ भैसीको सङ्ख्या ५० बढी पु¥याउने सोचमा रहेको बताउँछन् । विदेशकाभन्दा आफ्नै देशमा व्यवसाय गरेर आम्दानी गर्दा खुसी लाग्ने गरे पनि व्यवसाय गर्ने युवालाई सरकारले सहयोग नगरेको बताए । वास्तविक किसानभन्दा पनि विचौलीले अनुदान हात पार्ने अवस्था हुँदा ठुलो लगानी गरेर व्यवसाय गर्ने किसान समस्यामा पर्ने अवस्था रहेको पोख्रेलको भनाई छ ।

कोरियामा राम्रो कमाइ भए पनि आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर लागेको भन्दै उनले १५ लाखबाट सुरु गरेको व्यवसाय अहिले एक करोड बढीको भइसकेको बताएका छन् । दुध, दही बिक्रीबाट भइरहेको आम्दानीबाट खुसी भएको भन्दै उनले वास्तविक किसानलाई राज्यले सहयोग गर्ने अवस्था भइदिए आफूहरू जस्ता सम्भावनाको खोलीमा लागेका युवालाई व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने बताउँछन् । कोरियाबाट फर्किएका आफू र मलेसियाबाट फर्किएका दुई साथी मिलेर व्यवसाय गरेको र दुवैले कहिले फर्म र कहिले डेरीमा समय मिलाएर हेर्ने गरेको बताए । उनका अनुसार डेरीमा तीनजना र फर्ममा चारजनालाई रोजगारी समेत दिएका छन् ।