Goraksha

National Daily

कोइलावासमा एक हजार बढीको आँखाको शल्यक्रिया

गोरक्ष समाचारदाता
कोइलावास, १५ पुस । कोइलावास आँखा उपचार केन्द्रमा आँखाको शल्यक्रिया गर्न आउने नागरिक संख्या बढदै गएको छ ।

गढवा गाउँपालिका–८ कोइलावासमा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, लमही आँखा अस्पतालले आँखा उपचार केन्द्र सञ्चालन गरी मासिक रूपमा शल्यक्रियासहितको दैनिक आँखा उपचार सेवा दिँदै आएको छ । शनिवार भएको शल्यक्रियासहितको शिविरमा २५ जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ भने एकजना आँखामा मासु पलाएको बिरामीको शल्यक्रिया गरिएको हो । ३३ जना बिरामी शल्यक्रियाका लागि उपचार केन्द्रमा आएकोमा २६ जनाको प्रा डा प्रदिप बास्तोला सहितको प्राविधिक टोलिले शल्यक्रिया गरेको थियो ।

उक्त वडामा गढवा गाउँपालिकाले आँखा उपचार केन्द्र स्थापनाका लागि १० कट्टा जमिन उपलब्ध गराएसँगै प्रदेश सरकार अन्तर्गत गाउँपालिकाको बजेटबाट ३० लाख बराबरको कोइलावासमा उपचारकेन्द्रको भवन निर्माण भएको थियो । २०२३ देखि मासिक रूपमा शल्यक्रिया सेवा सुरु गरेको उपचार केन्द्रले हालसम्म आठ हजार बढीलाई आँखा उपचार सेवा र एक हजारको शल्यक्रिया गरेको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक शम्शेर थापाले जानकारी दिए । त्यससँगै यस वर्ष पनि ओटि भवन निर्माणका लागि गाउँपालिकाले ३० लाख बजेटबाट भवन निर्माणको काम अगाडि बढाएको प्रमुख प्रशासक शम्शेर थापाले जानकारी दिए ।

आवश्यकता अनुसार विभिन्न समयमा निःशुल्कसहित निःशुल्क आँखाको शल्यक्रिया शिविर उपचार केन्द्रमा सञ्चालन हुँदै आएको छ । आँखा अस्पतालले आँखाका बिरामीको सहजताका लागि र सेवा विस्तार गर्ने उद्देश्यले त्यहाँ मासिक रूपमा शल्यक्रिया गर्दै आएको र त्यसलाई आँखा उपचार केन्द्रको हवको रूपमा विकास गर्नका लागि लमही आँखा अस्पतालले गुरुयोजना बनाएर त्यसलाई उच्च प्राथमिक्तामा राखेको थापाको भनाई छ । २०१० साप्ताहिक रूपमा सेवा सुरु भएको थियो । दैनिक १५÷२० जना आँखा उपचार केन्द्रमा बिरामी आउने गरेकोमा धेरैजसो बिरामी भारतीय आउने गरेको उपचार केन्द्रका प्रमुख सुरज साहुले जानकारी दिए ।

यससँगै कोइलावासको विकास र विस्तारमा समेत थप टेवा पुग्ने अपेक्षा गरिएको छ । केही वर्ष पहिले खण्डहर हुँदै गएको कोइलावासमा चलहपल पनि बढेको छ । उपचार केन्द्रमा नै शल्यक्रिया सहित आँखा उपचार सेवा सुरु भएसँगै उक्त वडाका साथै छिमेकि देश भारतका नागरिकलाई समेत सहज भएको छ । उपचार केन्द्रमा आँखाको शल्यक्रिया गरेका बिरामीले उपचार सेवा राम्रो भएको भन्दै खुसी समेत व्यक्त गर्ने गरेको उपचार केन्द्र प्रमुख साहुको भनाई छ ।