Goraksha

National Daily

गुणस्तरको परिभाषा र शिक्षामा यसको आवश्यकता

यादव गिरी

आरम्भ

‘गुणस्तरु शब्द उच्चारण गर्न र अपेक्षा व्यक्त गर्न जति सहज छ, यसको वास्तविक परिभाषा र प्राप्तिको मार्ग भने समय, परिस्थिति र समाजको आवश्यकतामा आधारित हुँदै आएको छ । शिक्षा भन्नेबित्तिकै यसको गुणस्तर स्वतः उच्च हुनुपर्छ भन्ने धारणा स्थापित छ । विशेषतः सबैका लागि गुणस्तरीय शिक्षा मात्र एक चाहना नभएर अपरिहार्यता बनिसकेकोले यसलाई निःशुल्क र अनिवार्य बनाउनुपर्ने अन्तर्राष्ट्रिय मान्यता स्थापित छ ।

गुणस्तरको सामान्य परिभाषा भनेको मानव जीवनलाई सहज, सुरक्षित र समृद्ध बनाउने आधारभूत पक्षहरुको समायोजन हो । उदाहरणका लागि, शुद्ध पिउनलायक पानी, स्वच्छ हावा, स्वास्थ्यप्रद खाना, सुरक्षित आवास, जोखिमरहित पेसा, पर्याप्त आय, बिरामी वा आपतकालीन अवस्थाको उपचार, सन्ततिको उज्ज्वल भविष्यप्रतिको चिन्तामुक्त अवस्था, स्वतन्त्र अभिव्यक्ति र सूचनाको पहुँच, भयरहित जीवन, सहज यात्रा तथा बुढेसकालमा गरिमायुक्त जीवन जिउनसक्ने सामाजिक सुरक्षाको प्रबन्ध गुणस्तरको आधारभूत तङ्खव हुन् । मानव सभ्यताले प्रगतिका साथसाथै नयाँ ज्ञान, प्रविधि र सुविधाहरु हासिल गर्दै जाने क्रममा, यसलाई उपभोग गर्नसक्ने क्षमतालाई पनि गुणस्तरको मापनमा समेट्न थालिएको छ ।

शिक्षाको गुणस्तर मापन गर्न सकिने एउटा महङ्खवपूर्ण आधार भनेको यसले सिकारुलाई समाजमा सहज रुपले समायोजन गर्ने, आफ्ना जिम्मेवारी निर्वाह गर्ने र भोलिको संसारसँग प्रतिस्पर्धा गर्न सक्ने सिप प्रदान गर्छ वा गर्दैन भन्ने हो । यसका लागि सिकाइका विभिन्न तह अनुसार सिकारुले के–कस्तो ज्ञान, सिप र व्यावहारिक दक्षता हासिल गर्नुपर्छ भन्ने विषय पाठ्यक्रम र नीतिमा परिभाषित गरिएको छ । पाठ्यक्रमले सिकारुको उमेर, रुचि र समाजका आवश्यकतालाई ध्यानमा राख्दै शिक्षण र सिकाइका विधिहरु समेट्नु पर्छ ।

राष्ट्रिय शिक्षा नीतिले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सरकार, सरोकारवाला निकाय, शैक्षिक संस्थाहरु र अन्य साझेदारहरुको भूमिकालाई स्पष्ट रुपमा निर्दिष्ट गरेको छ । यस प्रक्रियालाई प्रभावकारी बनाउनका लागि अध्ययन, अनुसन्धान, तालिम, पाठ्यसामग्री विकास, भौतिक पूर्वाधार निर्माण र लगानीलाई प्राथमिकता दिइएको छ । साथै शिक्षण प्रणालीमा नवीन सोच र प्रविधिको समायोजन गर्दै शिक्षाको गुणस्तरलाई अझ प्रभावकारी बनाउन प्रयास गरिएको छ । यसरी शिक्षा, सिप र मानव क्षमताको विकासमार्फत् गुणस्तरीय जीवनयापन सुनिश्चित गर्ने प्रयास मानव सभ्यताको आधारभूत उद्देश्य हो । गुणस्तरीय शिक्षाले न केवल व्यक्तिको जीवनलाई समृद्ध बनाउँछ, बरु समग्र समाज र राष्ट्रको उन्नतिमा महङ्खवपूर्ण योगदान गर्दछ ।

गुणस्तरीय शिक्षा र वर्तमान परिप्रेक्ष्य

नेपालको संविधानले जनतालाई प्रत्याभूत गरेका मौलिक अधिकारहरुको उपभोग सुनिश्चित गर्न र दिगो विकासका लक्ष्यहरु पूरा गर्न शिक्षामा गरिनुपर्ने प्रयासहरुसँग गुणस्तरीय शिक्षा सघन रुपमा अन्तरनिर्भर छ । शिक्षा आफैँमा जीवनको अन्तिम लक्ष्य नभएर उन्नत जीवनयापनका लागि एक साधन हो । यसलाई गुणस्तरीय बनाउन शिक्षा विभिन्न बहुपक्षीय पक्षहरुसँग सुसम्बद्ध रहनु पर्दछ । शिक्षाले मानव जीवनमा चेतना, सिप, विवेक, र कर्तव्यबोधको विकास गरी समृद्धिको यात्रामा अग्रसर गराउँछ । यही कारणले शिक्षा अन्य विषयभन्दा बढी महङ्खवपूर्ण मानिन्छ ।

गुणस्तरीय शिक्षा प्रदान गर्न, यससँग सम्बन्धित प्रत्येक पक्षको उच्चस्तरीय कार्यक्षमता र जिम्मेवारी अनिवार्य हुन्छ । शिक्षामा संलग्न जनशक्ति, प्रयोग हुने प्रविधि, लागतका सञ्चालक र संस्थागत संरचनाहरुले चेतना, सिप, विवेक र कर्तव्यको मापदण्डमा खरो उत्रिनुपर्ने आवश्यक छ । शिक्षामा गुणस्तरीयता मापन गर्ने मापदण्डहरुमा स्तरीय सिकारु, शिक्षण प्रक्रियाहरु, विषयवस्तु, लगानी, वातावरण, जनसहभागिता, नीतिगत संरचना, व्यवस्थापन, मूल्याङ्कन पद्धति र उपलब्धि विशेष गरी महङ्खवपूर्ण हुन्छन् ।

तर वर्तमान समयमा लोकप्रियतावाद र उपभोगवादको हाबी हुने प्रवृत्तिले गुणस्तरको व्यावहारिक अर्थ खोज्न र त्यसप्रति जिम्मेवारीपूर्वक समर्पण गर्न नसकेको देखिन्छ । शिक्षामा नेतृत्वदायी भूमिकामा रहेका केही व्यक्तिहरुले आफ्ना स्वार्थका कारण शिक्षार्थीहरुको भविष्यलाई नै जोखिममा पारिरहेका छन् । अझै विडम्बना त के छ भने गुणस्तरीय शिक्षा प्रबन्ध गर्ने जिम्मेवारी उनै व्यक्तिहरुमा छ, जो आफूले आफ्नो जीवनको गुणस्तर निर्धारण गर्न नसक्ने अवस्थामा छन् ।
शिक्षाको गुणस्तर सुधारका लागि विगतको गुरुकुलीय परम्परा र त्यसले दिएका मूल्यहरुको पुनः समीक्षा र पुनर्जागरण आवश्यक छ । गुरुको आश्रमप्रति लगाव, शिक्षाका लागि जीवनको तपस्यामा समर्पण गर्ने संस्कार र अभिभावकको ममता र त्यागको भूमिकाजस्ता विशेषता आधुनिक शिक्षामा हराउँदै गएका छन् । शिक्षार्थीहरुको निष्ठा र कठिन श्रमको परम्परा पुनःस्थापित नगरेसम्म गुणस्तरीय शिक्षाको लक्ष्य प्राप्त गर्न सकिँदैन ।

नेपालको विगत हेर्दा, कुनै समय खाद्यान्न निर्यात गर्ने मुलुक अहिले मानवशक्ति निर्यात गर्ने अवस्थामा आइपुगेको छ । यसले नेपालको शिक्षाको गुणस्तर कमजोर भएकोतर्फ औल्याउने हो कि बाह्य अवसरहरुको खोजी बढेकोतर्फ इङ्गित गर्ने हो भन्ने प्रश्न विचारणीय छ । तथापि हाम्रो इतिहासले शिक्षा आर्जनका लागि अपनाएका कठोर परिश्रम र त्यागको परम्परालाई पुनः स्मरण गर्नुपर्छ ।

गुणस्तरीय शिक्षाको खोजीमा अन्धानुकरण र नक्कली अभ्यासको प्रभावले हाम्रो मौलिकता, परम्परा र निजत्व गुम्न सक्ने खतरा छ । शिक्षामा स्वआर्जन, स्वपरम्परा र स्वधर्मको पुनर्जागरण गरी शिक्षालाई जीवनोपयोगी बनाउन आवश्यक छ । शिक्षाले केवल ज्ञान र सिपको प्रसार मात्र होइन, व्यक्तित्व र समाजको सुदृढीकरणको आधार पनि प्रदान गर्नुपर्छ ।

यस सन्दर्भमा शिक्षा क्षेत्रमा प्राचीन मूल्य र आधुनिक प्रविधिको सम्मिलन गरी गुणस्तरीय शिक्षाको अभिवृद्धि गर्न सकिन्छ । शिक्षालाई जीवनका सबै पक्षमा हस्तक्षेपकारी बनाउँदै देशको दिगो विकास र समृद्धिको मार्गप्रशस्त गर्नु आजको प्रमुख चुनौती हो । गुणस्तरीय शिक्षा नीतिगत योजना, दीर्घकालीन लगानी, र समर्पित नेतृत्वद्वारा मात्र सुनिश्चित गर्न सकिन्छ ।

नेपालमा शिक्षाको गुणस्तरीयता सुनिश्चित गर्न श्रम, सिप र विवेकको परिपूर्ण संयोजन आवश्यक छ । शिक्षण संस्थाहरुलाई श्रमशीलता, सिर्जनशीलता, र इमानदारीको आधारमा सुदृढ गर्ने वातावरण निर्माण गरिनुपर्छ । शिक्षा केवल शरीरलाई शारीरिक श्रमबाट मुक्त गर्न होइन, बरु जीवनलाई अर्थपूर्ण र उत्पादक बनाउने माध्यम हो । ‘मेकालेु सोचबाट मुक्त हुँदै, श्रमसँग सिप र ज्ञानको सहकार्य गर्ने शिक्षाको यात्रा नै गुणस्तरीय शिक्षाको दिशामा अगाडि बढ्ने सही मार्ग हो ।

जसरी हाम्रा पुर्खाहरु घरपरिवार त्यागेर श्रम र कठिन परिश्रमको माध्यमबाट शिक्षा आर्जन गर्थे र त्यसपछि समाज तथा परिवारमा योगदान गर्न फर्कन्थे । यसैगरी आजका शिक्षार्थीहरुलाई पनि श्रम र शिक्षाको प्रतिफलसहित आफ्नो घरगाउँ वा राष्ट्र फर्कने चेतना प्रदान गर्नुपर्छ । यसलाई शिक्षाको परिभाषा र उद्देश्यको रुपमा पुनःस्थापित गर्दै व्यवहारमा लागु गर्न आवश्यक छ ।

शिक्षकको भूमिका र चुनौतीहरू

शिक्षाको केन्द्रविन्दु शिक्षक हुन् । गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षकमा इमानदारिता, नैतिकता र जिम्मेवारीबोध अपरिहार्य छ। शिक्षकले आफ्नो विषयमा विज्ञ हुनुका साथै हरेक पूर्वाग्रह, लोभ, कृपावाद र नातावादबाट पूर्णतः मुक्त हुनुपर्छ । पलपलमा उनीहरुको इमानदारिता र सामाजिक भूमिकाको परीक्षण हुन्छ । त्यसैले शिक्षकलाई आफ्नो जिम्मेवारीप्रति सदैव सचेत रहनु आवश्यक छ । शिक्षकले केवल विद्यार्थीको मूल्याङ्कन गर्ने मात्र होइन, आफ्नो व्यक्तिगत र व्यावसायिक मूल्याङ्कन पनि निरन्तर गर्नुपर्ने हुन्छ ।

तर शिक्षणलाई जागिरे रुपमा मात्र लिने प्रवृत्तिले शिक्षाको उद्देश्यलाई कमजोर बनाएको देखिन्छ । शिक्षकको भूमिका केवल कक्षामा पढाउनेमा सीमित छैन । उनीहरुले विद्यार्थीको नैतिक विकास, बौद्धिक मार्गदर्शन र जीवनोपयोगी सिपको प्रसारणमा महङ्खवपूर्ण योगदान दिनुपर्छ । शिक्षकलाई जिम्मेवार बनाउने र उनीहरुको भूमिकालाई परिभाषित गर्ने प्रभावकारी प्रणालीको विकास आजको प्रमुख आवश्यकता हो ।

मूल्याङ्कन प्रणाली र नवीनता

शिक्षकमा आधारित विद्यार्थी मूल्याङ्कन प्रणाली शिक्षालाई सरल, विश्वसनीय, र समयसापेक्ष बनाउन एक प्रभावकारी उपाय हो । शिक्षकले विद्यार्थीकै वास्तविक क्षमता र उपलब्धिलाई मूल्याङ्कन गर्ने अवसर पाउनेछन्, जसले गर्दा कापी हराउने, पुनः परीक्षा लिने, समयमा नतिजा नआउने र प्रमाणपत्र लिन हैरानी हुने समस्याहरुको अन्त्य हुनेछ ।

तर मूल्याङ्कन प्रणालीलाई सफल बनाउन शिक्षक, विद्यार्थी र अभिभावक सबैको इमानदारी, नैतिकता, र परिपक्व सोच आवश्यक छ । शिक्षकले जथाभावी मूल्याङ्कन गरेमा प्रणाली गञ्जागोल हुनेछ, जसले शैक्षिक विश्वासनीयतालाई कमजोर बनाउँछ । यसमा शैक्षिक नेतृत्वले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ । शिक्षण संस्थाहरुले शिक्षकलाई निर्देशन, स्रोत, र प्रोत्साहन प्रदान गरी मूल्याङ्कन प्रणालीलाई निष्पक्ष र प्रभावकारी बनाउने पहल गर्नुपर्छ ।

विद्यार्थीको भूमिका पनि कम महङ्खवपूर्ण छैन । अङ्कको आधारमा शिक्षकलाई धम्क्याउने, हिंसात्मक गतिविधि गर्ने, वा शैक्षिक संस्थामा अराजकता मच्चाउने प्रवृत्तिको अन्त्य गर्नु अत्यावश्यक छ। यस्तो वातावरणमा मूल्याङ्कन प्रणाली केवल एक बौद्धिक विलासको विषय बन्न सक्छ। त्यसैले, शिक्षक–विद्यार्थी–अभिभावकबीचको समन्वय र परिपक्व सोच शिक्षाको मूल आधार हुनुपर्छ ।

अन्त्यमा,

गुणस्तरीय शिक्षा श्रम र सिपको उचित समायोजनमा निर्भर रहन्छ । शिक्षक र विद्यार्थी दुवैले शिक्षा आर्जनलाई श्रमसहितको प्रक्रिया मानेर अघि बढ्नुपर्छ । विद्यालयहरुमा प्राविधिक शिक्षा र श्रमशील वातावरण निर्माण गर्ने प्रयासले मात्र शिक्षाको उद्देश्यलाई साकार बनाउन सकिन्छ । शिक्षाले केवल प्रमाणपत्र प्रदान गर्ने माध्यम बनेर सीमित रहनुहुँदैन । यसले व्यक्तिलाई ज्ञान, सिप, र चेतनाको पूर्ण विकास गराउँदै, समाज र राष्ट्रको उन्नतिमा योगदान गर्न सक्षम बनाउनुपर्छ । शिक्षामा नवीन सोच र जिम्मेवारीबोधको विकास गरिँदा मात्र गुणस्तरीय शिक्षा साकार हुनेछ ।