Goraksha

National Daily

सामाजिक सञ्जाल दुरुपयोगको आत्मघाती चेत

के.पी. सुवेदी

सूचना र सञ्चार मानिसको चेतनामा समयानुकूल अद्यावधिक गर्ने संयन्त्रको रुपले हेर्ने गरिन्छ । हुन पनि मानिसहरु सूचनाविहीन अवस्थाको कल्पनामात्र गर्दा पनि उकुसमुकुस भएर निसास्सिए झै लाग्छ । हुन पनि हो चेतनशील मानव मस्तिष्क सूचनाको भोकले अत्तलिन्छ । जसरी पानीको प्यासले आत्तिएको हुन्छ, भोकले छटपटाएको हुन्छ ।

त्यस्तै–त्यस्तै अत्यावश्यक खुराक भइसक्यो, सूचनाको जिज्ञासा पनि । त्यसैले राज्यको एउटा महङ्खवपूर्ण अङ्ग बनिसकेको हुनाले त्यसाई राज्यको चौथो अङ्गको रुपमा सञ्चार तथा सूचनालाई हेर्ने गरिन्छ । देखे, भोगेको र सुनेको आधारलाई एकठाउँमा राखेर हेर्दा लोकतन्त्र र सूचनाको हक परिपुरक हुन्छन् भन्नेमा संदेह छैन । आजको युग लोकतन्त्र र लोकतान्त्रिक संस्कार र आचरण निर्माण गर्ने समय हो । लोकतन्त्र नभएको व्यवस्था वा अवस्थामा सूचनालाई प्रतिबन्धित गरिएको हुन्छ ।

त्यसले पनि एउटा निष्कर्ष के दिन्छ भने मानवको स्वस्थ चेतनालाई सम्मान गर्ने प्रणाली लोकतन्त्र हो त्यसको अर्थ आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारमा अतिक्रमण हुनु हुँदैन भन्ने सबैले बुझ्नु पर्छ । आफ्नो अधिकारको प्रयोग गर्दा अरुलाई के असर हुनसक्छ भनेर त्यसको हेक्का राख्नु साँचो अर्थमा प्रजातांत्रिक संस्कार हो ।

लोकतन्त्रमा निर्णय गर्न सबै नागरिक स्वतन्त्र र सक्षम हुन्छन् तर जब स्वतन्त्रताको खिल्ली उडाउने गरी स्वच्छन्दताको अभ्यासमा रमाउन खोजिन्छ त्यहाँ संस्कारहीन प्रवृत्तिको बोलबाला हुन थाल्छ त्यति बेला समाजमा द्वन्द्वको विजारोपण हुन्छ । त्यस्तो द्वन्द्वले कसैलाई नछोडी तहसनहस गरेर छोड्छ । कुनै पनि व्यवस्था आफैँ पूर्ण हुँदैन, त्यसलाई कानुनको राज एवम् विधिको शासनले सुसज्जित गर्ने काम गर्छ तर त्यसको लागि कानुनको कार्यान्वयन गर्ने निकाय र राज्य हाँक्ने नेतृत्व राजनीतिक सुझबुझले पूर्ण हुनुपर्छ ।

राजनीतिक इमान र राष्ट्रियताप्रति बफादार भएपछि नै व्यवस्थाप्रतिको दायित्व पूरा हुनसक्छ । आज सूचनाको विश्वव्यापि सञ्जाल छ । त्यसले विश्वका सबै मानिसलाई जोडेर राख्न सकिने अत्याधुनिक यन्त्रको विकास गरिसकेको छ । यसको प्रयोग गर्न जान्नेहरुले ठुल्ठूला आर्थिक प्रगतिका बहुआयामी बाटाहरु पहिल्याएर समृद्ध जीवन बिताउने र सबैलाई चकित पार्ने गरिरहेका छन् तर त्यसको देखासिकी गर्न खोजेर अरुको प्रतिभा र प्रगतिमा ¥याल चुहाउने बाँकी मानिसहरुको लागि भने यसले विकृत मनोदशामा पु¥याएको देखिएको छ ।

विद्युतीय सूचना प्रणालीको दुरुपयोग गरेर अपराध गर्नेहरु पनि दिनहुँ बढिरहेको नसुनिएको होइन । सरकारकै सूचना प्रविधिको सञ्जाल नै कब्जामा लिएर विध्युतीय सूचनाहरुसँग सम्बन्धित कामकाज ठप्प पार्ने साइवर अपराधीबाट गोपनीयता भङ्ग गरिदिने जस्ता पराध हुने गर्छन् तर नजानेर वा मनोरञ्जन लिने क्रममा कसैको व्यक्तिगत जीवनसँग खेलवाड हुने गरी सूचना संप्रेषण गर्नु पनि अपराध हुन्छ भन्ने ज्ञान कमै मानिसलाई होला ।

फेसबुक, ट्विटर र अनलाइन समाचार समेत पनि सही सूचना सबैका लागि हुनु पर्नेमा कसैका विरुद्धमा कसैलाई उक्साउने र त्यसको सम्भावित भवितव्य अनुमान गरी संप्रेषण गरिदिने व्यवहार कति गैह्रजिम्मेवार हुँदोरहेछ भन्ने धेरै घटनाले देखाइदिए सामाजिक सञ्जालमा मनलागी लेखेर चरित्रहत्या मात्र गरिएको हुँदैन । सामाजिक द्वन्द्व निम्त्याउने, अरुको निजी जीवन र गोपनीयता सुरक्षित राख्न नसक्ने मानिसको सूचना चोर्ने साइबर चोरहरुको वृद्धि भएको छ ।

आफ्नो निजी तथा सार्वजनिक जीवनको सीमा थाहा पाउन सञ्चारकै सदुपयोग जान्नु पर्ने हुन्छ । आफूलाई मनन् पर्ने व्यक्तिको निजी मामलामा प्रवेश गरेर चरित्रहत्या गर्नु एउटा अपराध हो । आजभोलि सामाजिक सञ्जालको उपयुक्त प्रयोगसम्बन्धी सही ज्ञान नहुँदा अरुको सामाजिक प्रतिष्ठामा आँच आउने काम गर्दा कानुनको फन्दामा पर्नेको सङ्ख्या दिनकै बढिरहेको छ ।

आफूलाई अमुक कारणले मन नपर्दैमा जथाभावि बोल्नु वा लेख्नु अपराध हो चाहे कानुनले चिनोस् या नचिनोस् तर साइबर अपराध नियन्त्रण गर्ने संयन्त्रले प्रभावकारी काम गर्नसकेको छैन । त्यस्ता संयन्त्रहरु बेलाबेला विवादबाट गुज्रिनु परेको घटनाले यसले दृढतापूर्वक कारबाही गर्न अलमलिएको छ । गर्न त विरोध नभएको होइन र विरोधको सामना गर्न नसकेर वा त्यसलाई झेल्ने जोखिम ठुलो देखेर यसको कार्यान्वयन गर्न नसकेको हो भने त्यस्तो कानुन खारेज गरे हुने नत्र कानुनको कार्यान्वयन गर्नेले देख्ने सुन्ने र महसुस गर्ने हुनुपर्छ ।

परिस्थितिलाई सङ्गीन बनाउने र उत्पन्न जटिलतामा रमाउने उद्दण्ड प्रवृत्ति सबैलाई हानिकारक हुनसक्छ । उद्दण्डता सर्जकलाई पनि त्यसकोप्रति असरले छोड्दैन । सहीलाई सही र गलतलाई गलत भन्न यदि कुनै स्वार्थले रोकेको छ भने त्यो भन्दा आत्माघाती विचार अरु छैन । अहिलेको स्थानमा सधैँ रहन पनि कोही सक्तैन र रिस गरेर सही ठाउँमा पुग्न कोही सक्तैन ।

हाम्रोमा अलि विशिष्ट राजनीतिक चरित्रको विकास हुँदैछ । यो हानिकारक किन भइरहेको छ भने सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा एउटै कानुनको दुईथरि व्याख्या गर्ने, दुईथरि अर्थ लगाउने प्रवृत्ति पालिरहँदा देशप्रति घात हुने जस्ता कुरामा विचार पुराउनु नै पर्छ । बोल्ने अधिकार संविधानले दिएको छ तर कसैको चरित्रहत्य गर्ने, ज्यान मार्ने धम्की प्रत्यक्ष रुपमा सार्वजनिक स्थलमै दिने यस्तो असभ्य र हिंसात्मक प्रदर्शन गर्न पाइन्न । आज जनादेश अनुसार प्रतिपक्षी हैसियतमा रहेका गणतन्त्रवादी वा गणतन्त्र विरोधी जोसुकैले पनि संविधानले नदिएको सुविधाका लागि हिंसात्मक बाटो रोज्छ भने राज्यले त्यसलाई बहाना गर्न पाइन्न । त्यसलाई बेलैमा नियन्त्रन गरे हिंसात्मक द्वन्द्वको भूमरीमा पर्ने दिन आउन सक्छ । राज्य त्यस्तो गतिविधि गर्ने तत्वबाट सावधान रहँदै समयमै उचित कदम चालोस् । किनभने सामाजिक सञ्जाल सूचनाको सही स्रोत बनाउन सकियो भने आम नागरिकको पहुँचमा सूचनाको हक सुरक्षित रहनेछ ।