Goraksha

National Daily

पार्टीलाई बलियो बनाउन रिभिजन आवश्यक : नेता रसाइली

तुलसीपुर कांग्रेसको सयदिने अभियान
खेमराज रिजाल
तुलसीपुर, १४ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद प्रकाश रसाइली ‘स्नेही’ ले कांग्रेस पार्टीलाई अब नयांँ पद्धतिबाट मात्रै बचाउन सकिने बताएका छन् । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका इकाइ समितिले सयदिने अभियान अन्तर्गत शनिवार तुलसीपुरमा आयोजना गरेको कार्यक्रमलार्ई सम्बोधन गर्दै नेता रसाइलीले पार्टीलार्ई नयाँ शक्तिका रूपमा विकास गर्दै बचाउनका लागि रिभिजन आवश्यक रहेको बताएका हुन् ।

‘कांग्रेस पार्टीलाई रिभाइभ गर्न रिभिजन आवश्यक छ, यसका लागि पार्टीमा सबैभन्दा पहिले मूल्याङ्कन पद्धतिको विकास गर्न जरुरी छ’, प्रमुख अतिथि रसाइलिले भने । नेपाली कांग्रेसले वर्गीय मुद्दाको उठान गर्न नसकेको तथा आफूले गरेका असल काम पनि अरूलाई भन्न नसकिरहेको अवस्थाले कांग्रेसलाई चलायमान बनाउन नसकिने भन्दै यसका लागि सूचना प्रविधिको माध्यममा जोडिन उनले आग्रह गरे ।

‘आठ लाख ८९ हजार क्रियाशील सदस्य छन् भनेर हामी चुप लागेर कोठेबैठकमा सीमित रह्यौँ भने अब नेपाली कांग्रेस प्रजापरिषद् पार्टी जस्तै हुने छ, त्यसैले अग्रज नेतृत्वदेखि युवा पुस्तासम्म सूचना प्रविधिको पहुँचमा जोडिन आवश्यक छ’, प्रमुख अतिथि रसाइलीले भने । सामाजिक सञ्जालको अत्यधिक प्रयोग गरेकै कारण पाँच महिना अघि उदाएका पार्टीले यति धेरै जनमत प्राप्त गर्न सकेको भन्दै उनले तुलसीपुर नगर समितिलाई सामाजिक सञ्जालमा जोडिन आग्रह गरे । ‘म तुलसीपुर नगर सभापतिलाई भन्न चाहन्छु, भन्नुस् सुरेशजी ! तपाईँले कतिवटा फेसबुक पेज बनाउनुभएको छ, वडाका के कति फेसबुक पेज छन्, छैनन् भने सामाजिक सञ्जालमार्फत् सबै वडालाई जोड्नुस्, कांग्रेसले गरेका राम्रा कामको प्रचारमा लाग्नुहोस् ।’

तुलसीपुर उपमहानगर इकाइ सभापति सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रसाइलीले कांग्रेसमा आन्तरिक प्रतिस्पर्धाको असर आम निर्वाचनमा समेत देखिने गरेकाले यसलाई व्यवस्थापन गर्न सिङ्गै पार्टी नेतृत्व लाग्नु पर्ने बताए । ‘हो टिकट पाउनका लागि बिस जनाको नाम सिफारिस गरिन्छ, एक जनाले टिकट पाउँछ अनि बाँकी उन्नीस जना एक जनालाई हराउन लाग्ने प्रवृत्ति पार्टीभित्र मौलाएको छ, यसलाई जुनसुकै अवस्थामा समाप्त गर्न आवश्यक छ’, नेता रसाइलीले भने ।

उनले अहिले जनताका धेरै चाहना भएको भन्दै आफूले निर्वाचनमा गरेका प्रतिबद्धतालाई जनप्रतिनिधिको माध्यमबाट पूरा गर्दै लैजान जिल्ला पार्टीलाई निर्देशन दिए । ‘जनप्रतिनिधि र पार्टीबिचको दुरी बढेको जहाँकहीँ सुनिन्छ, यदि त्यस्तो छ र पार्टीको निर्देशन विपरीत जनप्रतिनिधिले काम गरिरहेका छन् भने, त्यसलाई व्यवस्थापन गर्नका लागि केन्द्रमै लेखी पठाउनुस्, हामीले त्यसको व्यवस्थापन गर्ने छौँ’, नेता रसाइलीले भने ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा समेत पोख्न नहुने भन्दै यसको व्यवस्थापन नेतृत्व तहबाटै हुनुपर्ने बताए । साथै उनले नेपाली कांग्रेसले आफूले गरेका राम्रा काम जनतालाई बताउन नसकेको भन्दै सामाजिक सञ्जालको अत्यधिक पहुँच बढाउन जिल्लास्तरका नेता कार्यकर्तालाई आग्रह गरे । ‘केही नभएको होइन तर हामीले गरेका काम जनतालाई बताउन सकिरहेका छैनौँ, यसमा जननिर्वाचित प्रतिनिधिदेखि पार्टीका सबै भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरू क्रियाशील हुन आवश्यक छ’, सभापति डाँगीले भने । यसैगरी कार्यक्रममा नेपाली कांग्रेस निर्वाचन नम्बर २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्काले कांग्रेस सरकारमा रहिरहँदा पनि जनताका अपेक्षा सम्बोधन हुन नसकेको बताउँदै केन्द्रले सरकारलाई थप जनमुखी बनाउन लाग्नुपर्ने सुझाव दिए ।

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका इकाइ उपसभापति बिनिल केसीको स्वागत मन्तव्यबाट सुरु भएको सयदिने अभियानका अवसरमा नेपाली कांग्रेस पार्टी र विभिन्न भ्रातृ संस्थामा रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याउनेलाई सम्मान गरिएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरका हरेक वडा इकाइ सभापति एवम् प्रतिनिधिले आफ्नो वडामा भएको सांगठनिक अवस्थाका विषयमा तथ्यगत जानकारी गराएका थिए ।

जानकारीका क्रममा उनीहरूले नेपाली कांग्रेस सरकारमा रहेर जनताका आकाङ्क्षा सम्बोधन हुन नसकेकोबारे केन्द्रीय नेतृत्वसँग गुनासो गरेका थिए । किसानलाई खेती गर्ने सिजनमा मलको अभावदेखि स्वास्थ्य संस्थामा सरकारले निःशुल्क गरेका औषधी समेत नपाइने अवस्था मुलुकको रहेको भन्दै अब राजनीतिलाई विकास र समृद्धिसँग जोड्न वडा सभापतिहरूले आग्रह गरेका थिए ।कार्यक्रममा तुलसीपुर क्षेत्रका मात्रै नभएर जिल्ला एवम् क्षेत्रीय स्तरकै नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमलार्ई नेपाली कांग्रेस दाङका पूर्व सभापति कीर्तिबहादुर खड्का, घनश्याम रेग्मी, नेताहरू महादेव शाह, शंकर गिरी, जिल्ला सचिव अर्जुन योगी, नेपाली कांग्रेसका नेता केशव आचार्य, संविधान सभा सदस्य अनिता देवकोटा, क्षेत्र नं. ३ का सभापति जगत खड्का, महाधिवेशन प्रतिनिधि बिमल रिजाल, सुशीला सुवेदी, देवा डाँंगी, सूषमा गिरी, टीका घर्ती, जोगेन्द्र विश्वकर्मा, देवकी नेपाली, डा नहकुल केसी, किरणकिशोर घिमिरे, गोविन्द शाहलगायतका नेताको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण सचिव बिमल पौडेलले गरेका थिए । सयदिने अभियान अन्तर्गत भएको कार्यक्रममा तुलसीपुर उपमहानगरका १८ वटा वडाले सयदिने अभियान अन्तर्गत भए गरेका कार्यक्रम र पार्टीका संगठित एवम् क्रियाशील सदस्यको यथार्थ विवरण वडा सभापति एवम् प्रतिनिधिले प्रस्तुत गरेका थिए ।