Goraksha

National Daily

‘कांग्रेसले अब रुखभन्दा अन्त भोट हाल्दैन’

हिमाल महरा
दाङ, १४ पुस । नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ले अव हुने कुनै पनि चुनावमा कांग्रेसले रुख चिह्नभन्दा अन्त भोट नहाल्ने बताएका छन् । कांग्रेसले सुरु गरेको सयदिने विशेष अभियान अन्तर्गत कांग्रेस बंगलाचुली गाउँपालिकाद्वारा कमिरेचौरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता रसाइलीले विगतमा कांग्रेसले विभिन्न पार्टीसँग गठबन्धन गरेर निर्वाचनमा लडे पनि अब हुने निर्वाचनमा एक्लै लड्ने बताएका हुन् ।

त्यसका लागि पार्टी संगठन सशक्त एवम् चलायमान हुन आवश्यक रहेको भन्दै नेता रसाइलीले पार्टीभित्र भएको आपसी मतभेद र द्वन्द्वलाई छोडेर नेता तथा कार्यकर्ता इमानदार रूपमा पार्टी निर्माणमा लाग्नुपर्ने बताए । कांग्रेसका कार्यकर्ताले जन्मेदेखि मृत्युसम्म नेपाली कांग्रेसको चारतारे झण्डा समात्ने गरेको भन्दै उनले निर्वाचनका क्रममा अन्त भोट नहाल्ने परिस्थितिको अन्त्य गरिने बताए । व्यक्तिगत स्वार्थभन्दा पार्टीको हितका लागि सोच्नु पर्ने भन्दै नेता रसाइलीले भने, ‘कुनै नेतालाई सत्तामा बस्ने रहर होला, कसैलाई गठबन्धन गरेर धेरै सिट ल्याउने रहर हुन्छ होला तर हामी पार्टीको सिद्धान्त र दृष्टिकोणभन्दा टाढा जादैनौँ ।’

कांग्रेसलाई नयाँ ढङ्गले अघि बढाउन कांग्रेसभित्र नयाँ पुस्ताले क्रान्ति गर्न जरुरी रहेको बताए । नेपाली कांग्रेस पार्टीलाई अनुशासित कसरी बनाउने, पार्टीभित्रको गुटबन्दीको न्यूनीकरण कसरी गर्ने, नयाँ पुस्तालाई सामाजिक सञ्जालको प्रयोग कसरी सिकाउनेसँगै पार्टीमा नयाँको आवश्यकता रहेको बताए । कांग्रेसलाई कसरी अघि हिडाउनेदेखि जनतासँग कसरी जोडिनेलगायतका पार्टीमा पुस्तान्तरण गर्दै दक्ष एवम् जुझारुलाई नेतृत्वमा ल्याउन आवश्यक रहेको भन्दै केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका रसाइलीले सयदिने अभियानले नयाँ पुस्तालाई पार्टीसँग जोड्न सहयोग पुग्ने बताए । पार्टीलाई बलियो बनाइराख्न पार्टीका विभिन्न भ्रातृ तथा शुभेच्छुक संघसंस्थालाई चलायमान बनाउन आवश्यक रहेको भन्दै अभियानका क्रममा भ्रातृ तथा शुभेच्छुक संघसंस्थाको अवस्था र क्रियाशीलता बारे बुझ्ने अवसर प्रदान गरेको बताए ।

सयदिने अभियानको मुख्य उद्देश्य तल्लो तहमा पुगेर कांग्रेसका सुखदुःख बुझ्ने सुखसँग जुध्ने र एकअर्कामा बाँड्ने र बाँडेको कुरा ग्रहण गर्नुपर्ने नेपाली कांग्रेसका दाङ जिल्ला सभापति शंकरप्रसाद डांँगीले बताए । सभापति डाँगीले पार्टीले सञ्चालन गर्ने अभियानले पार्टीको संगठन निर्माणमा सहयोग पुग्ने बताए । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेले अब युवा पुस्ताका नेता तथा कार्यकर्ताले त्याग र पुरानो नेतालाई सम्मान गर्नुपर्ने बताए । पार्टीभित्रको आन्तरिक गुटबन्दीको अन्त्य गर्दै आगामी निर्वाचनमा कम्युनिस्टसँगै अन्य दलसँग प्रतिस्पर्धा गर्नका लागि संगठन निर्माणमा ध्यान दिनुपर्ने बताए । पार्टीभित्र आन्तरिक एकता कायम गर्दै एकढिक्का हुनसके कांग्रेसलाई हराउने ताकत कोहीसँग नभएको भन्दै उनले त्यसका लागि पार्टीभित्र भएको मतभेत अन्त्य हुनुपर्ने बताए ।

संविधान सभा सदस्य अनिता देवकोटाले पार्टीसँगै भ्रातृ तथा शुभेच्छुक संघसंस्थालाई चुस्तदुरुस्त बनाउँदै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो शक्तिका रूपमा विकास गर्ने गरी लाग्नुपर्ने बताइन् । अब कांग्रेसका कार्यकर्ता अरूभन्दा अन्त भोट हाल्ने पक्षमा नरहेको भन्दै नेतृत्वले कांग्रेसका कार्यकर्ताले कांग्रेसलाई नै भोट हाल्ने अवस्थाको सिर्जना बनाउनुपर्ने बताइन् । नेपाली कांग्रेसका महासमिति सदस्य किरणकिशोर घिमिरेले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने भन्दै त्यसका लागि नेतृत्वलाई अहिलेबाटै खबरदारी गर्नुपर्ने बताए ।

बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले जनप्रतिनिधिभन्दा पार्टीमाथि रहेको भन्दै पार्टीको निर्देशन पालना गर्दै जनताको आवश्यकता अनुसार काम गर्नुपर्ने बताए । नेपाली कांग्रेस बंगलाचुली गाउँपालिकाका सभापति जागेश्वर अधिकारीको सभापतित्व तथा उपसभापति इन्द्रमणि वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिका सचिव बलदेव मल्लले गरेका थिए । यसैबिच बंगलाचुलीमा नेकपा एमाले परित्याग गरी लोकबहादुर पुन, खिमबहादुर घर्ती, अनबहादुर पुन र बालाराम घर्ती नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेसीलाई केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले टीका, माला र सदस्यता प्रदान गरेर स्वागत गरेका थिए ।