अन्धोपन न्यूनीकरणमा साझेदारी
बालाराम खड्का
दाङ, १४ पुस । लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालय र आँखा स्वास्थ्य कार्यक्रमबिच आँखा स्वास्थ्य सेवाको विकास र विस्तारको विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफल कार्यक्रममा नेपालमा आँखा स्वास्थ्य सेवा प्रवाहमा नेत्रज्योति संघले अग्रणी भूमिका खेलेको सहभागीले बताएका छन् ।
नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जको आयोजनामा लम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालयसँग ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी आँखा स्वास्थ्यमा साझेदारी’ भन्ने मूल नाराका साथ एनएबिपी नर्वेको आर्थिक सहयोगमा भएको छलफल कार्यक्रममा सहभागीले प्रदेशमा रहेको अन्धोपन न्यूनीकरण गर्न साझेदारी गरेर अगाडि बढ्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले आँखा अस्पतालसँग विगतदेखि साझेदारीमा विभिन्न सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि मोतियाबिन्दुको शल्यक्रिया र अन्य कुरामा साझेदारी गरी अगाडि बढ्न सकिने बताए । उनले अन्धोपन न्यूनीकरण गर्ने स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी भएको भन्दै नेत्र विशेषज्ञको व्यवस्थापन र शल्यक्रियाका लागि नेपाल नेत्रज्योति संघसँग थप छलफल र सम्झौता गरी अगाडि बढ्ने बताए । ‘तपाईँहरू योजना ल्याउनुहोस् मोतियाबिन्दुको शल्यक्रिया गरी अन्धोपन न्यूनीकरण र नेत्रविशेषज्ञको व्यवस्थापनका लागि हामीबाट सहजीकरण र सहयोग हुने छ’, डा. गिरीले भने ।
यसैगरी स्वास्थ्य मन्त्रालयका प्रवक्ता नोदनारायण चौधरी आँखा अस्पापतालले दिएको सेवा प्रभावकारी भएको भन्दै अस्पतालका विकासका लागि सहयोग हुने बताए । उनले पहिले आँखाको उपचार गर्न पहिले भारतको सितापुर सहरमा जानुपर्ने बाध्यताको अत्य भएको बताए । उनले अहिले भारतबाट समेत नेपालमा आँखा उपचार गर्न २५ प्रतिशत बिरमी आउने गरेको भन्दै अस्पतालले पुण्यको काम गरेको बताए । ‘तपाईँहरूले धेरै पुण्य काम गर्नुभएको छ, पहिले नेपालमा उपचार नहुँदा धेरैले अन्धोपनमा जीवन बिताउनु पर्ने अवस्था थियो’, चौधरीले भने । उनले अस्पतालले अहिले नाक, कान, घाँटीको समेत सेवा दिन सुरु गरेको भन्दै लुम्बिनी प्रदेशमा कानको समस्या धेरैको भएकाले आँखा अस्पतालले सेवा प्रवाह गरी सेवा दिएको भन्दै स्वास्थ्य मन्त्रालयबाट हुनसक्ने सहयोग हुने बताए ।
यसैगरी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. राजेन्द्रकुमार गिरीले नेपाल नेत्रज्योति संघले दिने सेवा प्रभावकारी भएको बताए । गिरीले आँखा जस्तो संवेदनशील क्षेत्रको विकासमा आफूहरूको सहयोग रहने बताए । नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका प्रमुख प्रशासक सम्शेर थापाले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले गरेका गतिविधि भावि कार्यक्रम तथा रणनीति र प्रदेश सरकारको सहयोग र प्रदेशमा रहेको अन्धोपन न्यूनीकरणबारे जानकारी गराएका थिए ।
थापाले लमही आँखा अस्पतालमा नाक, कान, घाँटीको विशेषज्ञ सेवा दिइरहेको र आगामी दिनमा यसलाई अस्पतालको रूपमा विकास गर्ने योजनाका साथै सरकारको साथ सहयोगको विषयमा जानकारी गराएका थिए । साथै थापाले प्रदेश सरकारको अन्धोपन न्यूनीकरण गर्न भूमिका उत्तिकै हुने भन्दै सहयोगको अपेक्षा गरे । नेपाल नेत्रज्योति संघ दाङका सचिव घनश्याम सुवेदीको स्वागतबाट सुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य मन्त्रालय, निर्देशनालय, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख प्रतिनिधिको सहभागिता रहेका थियो । कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।
