नयाँ घरमा मायादेवीको मुस्कान …
गोरक्ष समाचारदाता
गढवा, १३ पुस । यसपालिको जाडो धकेल्न गढवा गाउपालिका–६ की मायादेवीलाई धौ–धौ थियो । घर्किँदो उमेरमा दुई नाबालाक छोरासँगै फुसको घरमा बस्ने मायादेवीले यो वर्ष टिनले छाएको पक्की घर पाएपछि दङ्ग छिन् । उनको ओठमा देखिने मुस्कानको कुनै सीमा छैन ।
मायादेवी एकल महिला हुन् । उनीसँग सात वर्षीय छोरा अर्पण र १० वर्षीय अर्का छोरा प्रवीण छन् । श्रीमान्को निधनसँगै एकल जीवन बिताउँदै गरेकी मायादेवीले पहिलेको झुपडीमा बच्चालाई पढाउन सास्ती थियो । संयोग यो वर्ष गढवा गाउँपालिकामा ग्रामीण महिला उत्थान केन्द्रले महिला परिवारलाई सुरक्षित आवासमार्फत् सुदृढीकरण परियोजना अन्तर्गत करिब छ लाख ७८ हजार रुपैयाँको लागतमा पक्की घर बनाइदिएपछि मायादेवीको परिवार गत साता सो घरमा सरेको थियो । श्रीमान् गुमाएको पाँच वर्षपछि निवास संस्थाले बनाइदिएको नयाँ घर पस्दा उनी यति धेरै खुसीले नाचिन कि यसको सीमै रहेन ।
‘हामी तीनै जना यति धेरै रमाएर नाचेका थियौँ कि यसलाई मैले कसरी भनौँ’, मायादेवीले घर सर्दाको समय स्मरण गर्दै त्यहाँ पुगेका अनुगमन टोलीलाई भनिन् । अब मायाका दुई छोरालाई पढ्नका लागि भिन्नै कोठा छ । खाना पकाउनका लागि भिन्नै कोठा । अघिल्लो साता ग्रामीण महिला उत्थान केन्द्रको टोलीले मायालाई गृहप्रवेश गराएको संस्थाका अध्यक्ष आसमानी चौधरीले भनिन् ।
यो परियोजनाको डेमो घर थियो अर्थात् वडाका जनप्रतिनिधि समेतको टोलीले गाउँमा भएका असहाय एकल महिला जसका १६ वर्ष मुनिका बच्चा छन् र बसोबासको निकै समस्या छ भन्ने विषयमा विभिन्न व्यक्तिको सिफारिस गरेको थियो । यसमा मायादेवी छनोट भइन् र संस्थाले उनको घर बनाइदियो । भूकम्प प्रतिरोधात्मक भवनमा मायाको परिवारले सामान्य श्रमदान मात्र गर्नुपरेको थियो । ग्रामीण महिला उत्थान केन्द्रले मायादेवीको मात्र होइन, गढवा गाउँपालिकाकै वडा नं. ५ को लालपुरमा पनि यस्तै घर बनाइदिएको छ । यस्तै डिजाइन र यत्तिकै लगानीमा संस्थाको पूर्ण लगानीमा श्यामकुमारी चौधरीको घर बनाइदियो । अघिल्लो साता श्यामकुमारीको परिवार पनि नयाँ घरमा सरेको छ । श्यामकुमारी पनि एकल महिला हुन् । उनका एक छोरा र एक छोरी छन् । नयाँ घर पाएपछि छोराछोरीलाई भिन्नै कोठामा राखेर पढाउन सहज भएको श्यामकुमारीले बताइन् ।
त्यसो त गढवा गाउँपालिका–५ मा पनि दिसु चौधरीको परिवारलाई ग्रामीण महिला उत्थान केन्द्रको सोही परियोजना, गाउँपालिका र घरधनीको त्रिपक्षीय लगानीमा नयाँ घर निर्माण गरिदिएको छ । समाजकल्याण परिषद्को मापदण्डमा भूकम्प प्रतिरोधात्मक घर बनाइदिएपछि दिसुको परिवार पनि शुक्रवार गृहप्रवेश गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, गाउपालिका अध्यक्ष यमनारायण पोख्रेल, वडाध्यक्ष लेखराज भण्डारी तथा संस्थाका अध्यक्ष आसमानी चौधरीले संयुक्त रूपमा दिसुको परिवारलाई घर प्रवेश गराएका छन् ।
नयाँ घरले आफ्नो परिवारलाई ठुलो राहत दिएको दिसुले बताइन् । दिसुका दुई छोरी छन् । छ वर्ष अघि श्रीमान् बितेपछि उनी ससुराको घरमा बस्दै आएकी थिइन् । उनको नाममा जग्गा समेत थिएन् तर घर बनाउन उनको नाममा जग्गाको निस्सा आवश्यक हुने भएपछि वडाको पहलमा ससुराले जग्गा दिएपछि नयाँ घर निर्माण सम्भव भएको वडाध्यक्ष लेखराज भण्डारीले बताए । यसैगरी गढवा गाउँपालिका–३ खैरामा पनि ग्रामीण महिला उत्थान केन्द्र, गाउँपालिका र जग्गाधनीको त्रिपक्षीय साझेदारीमा सरिता चौधरीले पनि यस्तै डिजाइनको नयाँ घर पाएकी छिन् । एक वर्ष अघि उनका श्रीमान् बितेपछि एक्ली छोरीसँगै नजिकैको झुपडीमा उनी बस्दै आएकी थिइन् । १२ वर्ष उमेरकी छोरीलाई घरमा पढ्नका लागि समेत समस्या थियो ।
सरिताको परिवारलाई पनि शुक्रवार बिहान गृहप्रवेश गराइएको छ । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल, वडाध्यक्ष तुलसीराम अधिकारी र संस्थाकी अध्यक्ष स्यानी चौधरीले संयुक्त रूपमा रिबन काटेर उनलाई गृहप्रवेश गराए । गृहप्रवेश गर्नुअघि सरिता भावुक बनिन् । उनको पनि खुसीको सीमा थिएन । गृहप्रवेशपछि सहभागी सबै नाचगान गरी रमाइलो समेत गरेका थिए । ग्रामीण महिला उत्थान केन्द्रले निवास परियोजना अन्तर्गत निर्माण गरेका नयाँ घरको शुक्रवार स्थलगत अनुगमन समेत ग¥यो ।
अनुगमनमा गढवा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख, प्राविधिक शाखाका प्रतिनिधिलगायत पत्रकारहरूको सहभागिता रहेको थियो । अनुगमनपछि गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले अर्को वर्ष संस्थासँगको साझेदारीमा थप घर बनाउन गाउपालिकाले पहल गर्ने आश्वासन दिए । यो वर्ष संस्था एक्लैले गढवा गाउँपालिकामा दुईवटा घर र पालिका र संस्थाको साझेदारीमा दुई घर गरी जम्मा चार घर निर्माण गरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । पालिकाले साथ दिए अर्को वर्ष दुवैको साझेदारीमा यो भन्दा बढी घर बनाउन ग्रामीण महिला उत्थान केन्द्रले पहल गर्ने संस्थाका अध्यक्ष आसमानी चौधरीले बताइन् ।
