राजधानी क्षेत्रमा टाइमकार्ड लागु गरिदै

टेकबहादुर पुन
देउखुरी, १३ पुस । लुम्बिनी प्रदेश राजधानी दाङको देउखुरीमा दुर्घटना अत्यधिक बढ्दै जान थालेपछि सवारीलाई टाइमकार्ड लागु गर्ने तयारीमा प्रहरी लागेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख ईश्वर थापाले दिनहुुजसो राजमार्ग दुर्घटना भएको भन्दै न्यूनीकरणका लागि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुबाङ सडक खण्डमा टाइमकार्ड लागु गर्न लागेको बताए । उनले लमहीमा आयोजित नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक गुनासो बढेको र दुर्घटना न्यूनीकरण गर्नुपर्ने भएकाले टाइमकार्ड लागु गरिन लागेको बताएका हुन् ।

कार्यक्रम नागरिकले दाङ देउखुरीमा अत्यधिक दुर्घटना भएकोमा चिन्ता व्यक्त गरेपछि उनले साँझ ४ बजेदेखि ८ बजेसम्म लमहीदेखि भालुबाङमा सबै ठुला साना सवारी साधनलाई तीन महिनाका लागि परीक्षणका रूपमा टाइमकार्ड लागु गरिने बताए । पुस महिनाभित्र झन्डै एक दर्जन नागरिकले सडक दुर्घटना ज्यान गुमाएका छन् । केही समययता जिल्ला प्रहरी कार्यालयसहित वडा कार्यालय लमही लागूऔषध नियन्त्रण, वन पैदावर, चोरी निकासी नियन्त्रण, होटलमा हुने अवैध क्रियाकलाप नियन्त्रण, नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणमा सक्रिय बनेको प्रहरी अब भने दुर्घटना न्यूनीकरण जोडतोडले लाग्ने थापाले बताए ।

जिल्ला प्रहरी प्रमुख थापाले भने नागरिक र प्रहरी सहकार्यमा समाजका समस्या समाधान गर्नुपर्ने आवश्यक रहेको बताए । समाजभित्र विभिन्न प्रकारका समस्या रहेको औल्याउँदै नागरिक र प्रहरीबिच सहकार्य आवश्यक रहेको भन्दै भने, ‘समाजमा आपराधिक क्रियाकलाप, सामाजिक विकृति र असुरक्षाजस्ता चुनौती बढ्दै गइरहेका छन् । यी समस्यालाई समाधान गर्न नागरिक र प्रहरीबिच सहकार्य अपरिहार्य छ ।’ प्रहरी प्रमुख थापाले नागरिकलाई आफ्नो वरपरका गतिविधिबारे सजग रहन र प्रहरीलाई आवश्यक जानकारी गराउन आग्रह गरे ।

थापाले अपराध न्यूनीकरण र शान्ति सुव्यवस्था कायम राख्न सामुदायिक प्रहरी कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । लमही नगरपालिका प्रमुख जोगराज चौधरीले नागरिकका समस्या समाधान गर्न प्रहरी र जनप्रतिनिधि मिलेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । नागरिकको सेवामा प्रभावकारी सेवा प्रदान गर्न उनले दुवै पक्षले आपसी समझदारी र समन्वयका साथ काम गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

लमही–५ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले नागरिकका समस्या वडाको समस्या भएकोले नागरिकलाई समस्या पर्दा वडा कार्यालय साथमा उभिने बताए । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष किरणविक्रम शाहले नागरिकबिच शान्ति, सुरक्षा कायम गर्न सामुदायिक सेवा केन्द्र र प्रहरी बिचको साझेदारी रहनुपर्ने बताए । नागरिक सुनुवाइको सहजीकरण वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रकाश भुसालले गरेका थिए ।