संगठन निर्माणलाई प्राथमिकता : नेता रसाइली

गोरक्ष समाचारदाता
दाङ, १३ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ले आगामी निर्वाचनमा पार्टीलाई प्रमुख शक्तिका रूपमा स्थापित गराउन भ्रातृ तथा शुभेच्छुक संघसंस्थाहरू सक्रियका साथ लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस दाङले शुक्रवार घोराहीमा आयोजना गरेको भ्रातृ तथा शुभेच्छुक संघसंस्थासँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता रसाइलीले पार्टी संगठनसँगै भ्रातृ शुभेच्छुक संघलाई सशक्त र बलियो बनाउन जिम्मेवारीमा रहेका सबै नेताकार्यकर्ताले इमानदारिताका साथ काम गर्नुपर्ने बताए ।

पाटीलाई जनतासँग जोड्दै संगठनलाई बलियो बनाउने अहिलेको आवश्यकता रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि रहेका नेता रसाइलीले भने, ‘कांग्रेसलाई आगामी निर्वाचनमा कम्युनिस्टसँगै अन्य पार्टीलगायतसँग लड्नुपर्ने छ । त्यसका लागि पार्टी संगठनलाई सशक्त र बलियो बनाउनुपर्ने अहिलेको आवश्यक हो, त्यसका लागि भ्रातृ तथा शुभेच्छुक संघसंस्थाहरू सक्रियताका साथ लाग्नुपर्छ ।’ उनले जनतालाई सहयोग पुग्ने गरी काम गर्ने र निर्वाचनमा पार्टीका पक्षमा माहोल बनाउने काममा अहिलेदेखि नै सबै लाग्नुपर्ने बताए । लोकतन्त्रमा नेतादेखि जनतासम्म सबैको मत बराबर हुने भएकाले एकले अर्काको सम्मान गर्दै पाटी संगठन निर्माणमा कार्यकर्तादेखि नेतासम्म लाग्नुपर्ने बताए ।
बदलिँदो समय अनुसार पार्टी र भ्रातृ संघसंस्थाहरू क्रियाशील हुनुपर्ने अवश्यकता रहेको भन्दै केन्द्रीय प्रतिनिधिका रूपमा जिल्लामा खटिएका नेता रसाइलीले सामाजिक सञ्जालको जतिसक्यो उपयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । ‘अहिले नेतालाई आफ्ना धाराणा राख्नेदेखि प्रचारप्रसार गर्न सामाजिक सञ्जाल उपयुक्त माध्यम बनेको छ । विभिन्न पार्टीले सामाजिक सञ्जाललाई उपयोग गर्दै प्रचारप्रसारसँगै विरोधीलाई गाली गर्ने काम गरिरहेका हुन्छन्’, नेता रसाइलीले भने, ‘सामाजिक सञ्जालको सही रूपमा प्रयोग गर्दै पार्टीका धाराणा राख्नेदेखि प्रचारप्रसारमा कांग्रेस जोडिनुपर्छ, त्यसका लागि नजान्ने कोही भए सिक्नुस् ।’

कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले पार्टीका अङ्गका रूपमा रहेका भ्रातृ तथा शुभेच्छुक संघसंस्थाहरू पार्टीसँग समन्वय र सहकार्य गरेर संगठन निर्माणमा लाग्नुपर्ने बताए । भ्रातृ तथा शुभेच्छुक संघसंस्थाहरू जति क्रियाशील हुन्छन्, त्यसले पार्टीलाई फाइदा पुग्ने भन्दै जिल्ला सभापति डाँगीले लामो समयदेखि अधिवेशन हुन नसकेका महिला संघ, तरुण दहलगायतलाई सक्रिय बनाउन लागि तत्काल अधिवेशन आवश्यक रहेकाले केन्द्रले पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले पार्टी र भ्रातृ तथा शुभेच्छुक संघसंस्थाको सम्बन्धलाई बढाउँदै पार्टीको संगठन निर्माणमा सहयोग पुग्ने गरी रचनात्मक कार्यहरू हुनुपर्ने बताए । पार्टीमा हुँदा कुरा गर्ने तर जनप्रतिनिधि भइसकेपछि जनताका समस्या, पार्टीका नेताकार्यलाई सहयोग पुग्ने गरी काम गर्नेदेखि भ्रातृ तथा शुभेच्छुक संघसंस्थालाई भुल्ने र बेवास्ता गर्ने प्रवृत्ति रहेको भन्दै वक्ताले सम्बन्ध सुधारका लागि पार्टीले पहल गर्नुपर्ने बताएका थिए ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा बरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई, नेपाल निजामति कर्मचारी संघ दाङका अध्यक्ष श्रीधर अधिकारी, उपाध्यक्ष शरद घिमिरे, नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगी, नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराल पोख्रेल, नेपाल महिला संघ दाङकी अध्यक्ष गोमा रावत, डिएलए दाङका अध्यक्ष प्रदीप गौतम, निवर्तमान अध्यक्ष कुमारराज श्रेष्ठ, डिएलएका केन्द्रीय सदस्य किरण पौडेल, प्रेस युनियन दाङका कोषाध्यक्ष लीलाधर वली, नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष हरि सुवेदी, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष गिरिराज वली, थारू संघ दाङका अध्यक्ष शेषदत्त चौधरी, नेपाल मुस्लिम संघकी अध्यक्ष अनु खानलगायतले पार्टीसँगको सम्बन्ध र संगठनको अवस्थाबारे धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुन योगीले गरेका थिए ।