बालाराम खड्का
दाङ, १३ पुस । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको आयोजनामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । संघद्वारा सञ्चालित राप्ती आँखा अस्पताल, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल र लमही आँखा अस्पतालको सामाजिक परीक्षण लमही आँखा अस्पताल भएको हो ।
एनएबिपी नर्वेको आर्थिक सहयोग भएको कार्यक्रममा सहभागीले संघद्वारा सञ्चालित अस्पतालले लुम्बिनी तथा कर्णाली प्रदेशका नागरिकलाई सर्वसुलभ आँखा उपचार सेवा प्रदान गरेको बताएका थिए । सुशासन जवाफदेहिता, पारदर्शिताकासँगै अस्पतालमा सहज सेवा प्रवाह भएको भन्दै यसलाई बढाउँदै लैजानुपर्ने सहभागीको भनाइ थियो । नेपाल नेत्रज्योति संघका सभापति कृष्णकुमार गिरीको अध्यक्षता लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता, उपप्रमुख लक्ष्मी योगी र गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले यस क्षेत्रका नागरिकलाई अस्पतालले गुणस्तरीय सेवा दिएको बताएका थिए ।
उनले लमहीमा नाक, कान, घाँटी अस्पतालका लागि जग्गा प्रदान गरेको भन्दै अन्य सहयोग पनि हुने बताए । उनले आगामी वर्षमा भौतिक निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘यो वर्ष मेयरले चलाउन मिल्ने बजेट लमही अस्पताललाई उपलब्ध गराएका छौँ, अर्को वर्ष आँखा अस्पतालमा कति हुन्छ बजेटको उचित व्यवस्था गर्नेछु’, उनले भने । यसैगरी गढवा गाउँपालिका उपाध्यक्ष शारदा चौधरीले गाउँपालिकाले प्रत्येक वर्ष निःशुल्क आँखाको शल्यक्रियाका लागि बजेट विनियोजन गरी उज्यालो अभियान सञ्चालन गरेको भन्दै अन्य भौतिक निर्माणका लागि सहयोग निरन्तर रहेको बताइन् । उनले यो वर्ष कोइलाबासमा वडा भवनका लागि रकम विनियोजन गरी काम अगाडि बढेको बताइन् ।
कार्यक्रममा नागरिक समाज दाङका संयोजक निमबहादुर थापाले लमही आँखा अस्पतालले दिने सेवा प्रभावकारी र पारदर्शिता कायम गरेको बताए । उनले अस्पतालको विकासका लागि सहयोग हुने बताए । सामाजिक परीक्षण कार्यक्रममा अस्पतालका प्रमुख प्रशासक सम्शेर थापाले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले गरेका गतिविधि भावि कार्यक्रम तथा रणनीतिबारे जानकारी गराएका थिए । थापाले लमही आँखा अस्पतालमा नाक, कान, घाँटीको विशेषज्ञ सेवा दिइरहेको र आगामी दिनमा यसलाई अस्पतालको रूपमा विकास गर्ने योजना रहेको बताए । यसैगरी सल्यान आँखा केन्द्र, गुर्वाकोट आँखा केन्द्र, घोराही आँखा केन्द्र र सुलीचौर आँखा केन्द्रलाई सर्जिकल सेन्टरको रूपमा विकास गर्न लागेको भन्दै अब त्यहीँबाट शल्यक्रिया सेवा सुरु गर्ने बताएका थिए ।
नेपाल नेत्रज्योति संघ दाङका सचिव घनश्याम सुवेदीको स्वागत मतव्यबाट सुरु भएको कार्यक्रममा लेखा अधिकृत कृष्णप्रसाद भट्टराईले आर्थिक प्रगति विवरण पेस गरेका थिए । कार्यक्रममा सभापति कृष्णकुमार गिरीले अस्पताल दिँदै आएका सेवालाई थप गर्न आफूहरू लागेको भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए । गिरीले अन्धोपन न्यूनीकरणको अभियानमा नेपाल नेत्रज्योति संघ लागेको भन्दै सबैको साथ र सहयोग आगामी दिनमा हुने विश्वास व्यक्त गरे ।
गिरीले लुम्बिनी र कर्णालीका नागरिकलाई विभिन्न दातृ निकायबाट सहयोग जुटाएर निःशुल्क सेवा दिइरहेको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए । सामाजिक परीक्षण कार्यक्रमको सहजीकरण रिपोट्र्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए । कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि, पत्रकार, नागरिक समाज, समाजसेवीको सहभागिता रहेको थियो ।