घोराहीमा बालबालिकाको पोषण जाच्न सुरु

गोरक्ष समाचारदाता
दाङ, १२ पुस । घोराही उपमहानगरपालिकामा बालबालिकाको पोषण अवस्थाबारे लेखाजोखा थालिएको छ । छ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्थाको लेखाजोखा थालिएको हो ।

घोराही उपमहानगरपालिका, बेस र हेलन केयरको सहकार्यमा बालबालिकाको पोषण के–कस्तो छ भन्ने बारे लेखाजोखाको शुभारम्भ गरिएको हो । जस अनुसार वडा नम्बर १ बाट पोषणको अवस्था जाँच सुरु भएको छ । वडा नं. १ का अध्यक्ष राममणि पाण्डेको अध्यक्षता एवम् नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता तथा उपप्रमुख हुमाकुमारी डिसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरी लेखाजोखा शुभारम्भ गरिएको हो । पोषणमार्फत् जीवन रूपान्तरण कायत्र्रmममार्फत घोराही उपमहानगरपालिकाले बेस र हेलन केयरसँगको सहकार्यमा बालबालिकालाई स्वस्थ राख्न पोषण कार्यक्रम सञ्चालित छ ।

कार्यक्रममा नगर प्रमुख चौधरीले बालबालिकाको स्वास्थ्यमै भोलिको दक्ष र योग्य जनशक्ति भर पर्ने बताए । बालबालिकाको स्वास्थ्य स्वस्थ हुनु नै भविष्यको मानवीय जनशक्तिको आधार तयार हुने कुरामा उनले जोड दिए । त्यसका लागि परिवारले गर्भावस्थाबाटै आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताए ।

बच्चालाई आमाले दुध तोकिएको समयसम्म चुसाउने, आमाले पोषिलो खाना खाने, नियमित स्वास्थ्य जाँच गर्ने, स्वास्थ्यकर्मीको सल्लाह बमोजिम बच्चालाई भिटामिन खुवाउने, पूर्ण खोप दिने जस्ता कुरालाई परिवारले ध्यान दिनुपर्ने सुझाव दिए । यसैगरी उपप्रमुख डिसीले बालबालिकामा लगानी बढाउन आवश्यक रहेको बताइन् । विषेश गरी शारीरिक, मानसिक रूपमा स्वस्थ राख्न खानपान, स्वास्थ्य जाँचमा परिवारले ख्याल गर्नु पर्ने उनले बताइन् । जनस्वास्थ्य प्रवर्धन शाखाका प्रमुख राधा पौडेलले नगरका सबै बालबालिकाको पोषण अवस्था बुझ्न पोषणमार्फत् जीवन रूपान्तरण कायत्र्रmम सञ्चालन भएको जानकारी दिइन् ।

नगरका सबै वडाका सबै टोलमा स्वास्थ्यकर्मी पुगेर बच्चाको पोषणबारे लेखाजोखा गरिने उनको भनाइ छ । १६ हजार चार सयको हाराहारीमा नगरभरि छ महिनादेखि ५९ महिना उमेरका बालबालिका रहेको तथ्याङ्क छ । कार्यक्रममा हेलन केयरका अनिल केसीले बालबालिकाको पोषण के–कस्तो छ भन्ने थाहा पाउने र बच्चालाई कुपोषित हुनबाट बचाउन यो कार्यक्रम प्रभावकारी हुने बताए । बालबालिकाको पाखुराको नापो लिएर पोषणको अवस्था जानकारी हुने र सोही आधारमा स्वास्थ्यकर्मीले सुझाव र परामर्श दिने कार्यक्रम छ । कार्यक्रमको सहजीकरण वडा नं. १ स्थित सहरी स्वास्थ्य केन्द्रका इञ्चार्ज बालाराम रोकाले गरेका थिए ।