दृष्टिदोष पहिचान गर्न मोबाइल एप

गोरक्ष समाचारदाता
दाङ, १२ पुस । नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले हालसम्म दिएका सेवा, समस्या र चुनौतीका विषयमा बहुसरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा संघद्वारा सञ्चालित अस्पतालले हालै हरेक नागरिकको दृष्टिदोष पत्ता लगाउन मोबाइल एप्स प्रयोगमा आएको उद्घोष गरेको छ । नेपाल नेत्रज्योति संघले विहीवार घोराहीमा आयोजना गरेको स्थानीय स्तरीय परियोजना सल्लाहकार बैठक तथा नेपाल पत्रकार संघ दाङसँगको पत्रकार भेटघाट कार्यक्रममा आँखा उपचारमा नयाँ मोबाइल एप्स पिकका विषयमा जानकारी गराइएको हो ।

नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको संयुक्त कार्यक्रममा बाह्य कार्यक्रम संयोजक बिमल घिमिरेले सो नयाँ एप्सका विषयमा जानकारी गराएका थिए । आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक सम्शेर थापाको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखामा नवनिर्वाचित अध्यक्ष सन्तोष सुवेदीलगायतका सम्पूर्ण पदाधिकारीलाई खादा लगाएर सम्मान गरिएको थियो । सोही अवसरमा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जको स्थानीय स्तरीय परियोजना सल्लाहकार बैठक जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा विहीवारै सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारीसहित पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरू समेत सम्मिलित बैठकमा अस्पतालका प्रमुख प्रशासक सम्शेर थापाले अस्पतालले हालसम्म दिएका आँखा स्वास्थ्यका विषयमा तथ्यगत जानकारी गराएका थिए । अस्पताल सधैँ दातृ निकायको सहयोगले मात्र सञ्चालन हुन नसक्ने भन्दै अन्धोपन न्यूनीकरणमा संघ प्रदेश र स्थानीय सरकारले समेत सहयोग गर्नुपर्ने तथ्यपरक जानकारी दिएका थिए ।

अस्पताललाई आत्मनिर्भर बनाउन अस्पताल व्यवस्थापनले हरतरह प्रयास गरिरहेको भए पनि सरकारले आफ्नो अपनत्व अस्पतालमा स्थापित गर्न निकै आनाकानी गरिरहेको बताए । नेपाल नेत्रज्योति संघ गैरनाफामूलक संस्था भएकाले अस्पतालमा अस्वाभाविक शुल्क लिएर बिरामीलाई समस्यामा पार्न अस्पतालले नचाहेको बताए । हुनेबाट शुल्क लिने र नहुनेलाई निःशुल्क रूपमा स्वास्थ्योपचार सेवा प्रदान गर्नु नै अस्पतालको प्रमुख लक्ष्य रहेको प्रमुख प्रशासक थापाले बताए । उनले नेत्र रोग विशेषज्ञ उपलब्ध नहुनु नै चुनौती रहेको बताए । सो अवसरमा लेखा अधिकृत कृष्ण भट्टराईले सन् २०२० देखि २०२४ सम्मको समग्र आर्थिक विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमले राप्ती आँखा अस्पताल र पत्रकारबिच सुमधुर सहकार्य रहेको भन्दै अस्पतालमा उपलब्ध सेवाको पहुच आम नागरिकसम्म पु¥याउन सञ्चार क्षेत्रको अहम भूमिका रहेको बताइन् । अस्पताल सधैँ मिडियाप्रति सकारात्मक रहेकोमा अस्पताल व्यवस्थापन समितिलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सधैँ साथ र सहयोग हुने प्रतिबद्धता व्यक्त गरिन् । पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष सन्तोष सुवेदीले पत्रकार महासंघ दाङ र राप्ती आँखा अस्पतालबिच निरन्तर सम्बन्ध गाढा रहने प्रतिबद्धता व्यक्त गरे । साथै अस्पतालमा सरकारको अपनत्व स्थापित गराउन पत्रकार महासंघ दाङले स्थानीय सरकार तथा प्रदेश सरकार समक्ष लबिङ गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल नेत्रज्योति संघ दाङका सचिव घनश्याम सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघका उपाध्यक्ष रेशमबहादुर खड्काले तीन तहका सरकारका जनप्रतिनिधि आँखा स्वास्थ्यका सन्दर्भमा गम्भीर नभएको बताए । सो अवसरमा बोल्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले सञ्चारकर्मीले निष्पक्ष रूपमा कलम चलाएर यस नेत्रज्योति संघले सञ्चालनमा ल्याएको आँखा स्वास्थ्य कार्यक्रमलाई थप विशिष्टीकृत र सहज बनाउन पहल गर्न सुझाव दिए ।

साथै उनले लुम्बिनीमा आठ वटा आँखा अस्पताल हुँदा पनि अन्धोपनको समस्या बढी हुनु एउटा चुनौती रहेको बताए । साथै अस्पताललाइ सर्भाइभ बनाउन पछिल्लो समयमा मुलुकका सातै प्रदेश प्रमुख र मुख्य मन्त्रीसँग गम्भीर छलफलमा राप्ती आँखा अस्पताल लागिपरेको बताए । उनले लुम्बिनी र कर्णाली प्रदेशमा आफूहरूले अन्धोपन न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेलेको बताए । उनले आँखा अस्पतालमा सबै सेवा प्रवाहका लागि आफूहरूले हरप्रयास गरेको बताए ।

आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले अस्पतालको दिगो व्यवस्थापनमा स्थानीय सरकारले अपनत्व लिनुपर्ने बताउँदै यसको समन्वय र सहजीकरण जिल्ला समन्वय समितिले गर्ने प्रतिबद्धता व्यक्त गरे । यसका लागि आफूले जिल्लाका १० वटै पालिकालाई बोलाएर यो विषयमा गम्भीर छलफल चलाउने बताए । कार्यक्रमको सहजीकरण अस्पतालका सूचना अधिकारी बालाराम खड्काले गरेका थिए । नेत्रज्योति संघद्वारा सञ्चालित सो अस्पताललाई विगत तीनदशक अघिदेखि निरन्तर रूपमा एनएबिपी नर्वेले चरणवद्ध रूपमा आर्थिक सहयोग गर्दै आएको छ । भौतिक निर्माणमा भने स्थानीय सरकार प्रदेश सरकार र भारतीय दूतावासले समेत सहयोग गर्दै आएका छन् ।