देवेन्द्र बस्नेत
दाङ, १२ पुस । मासिक पाँचदेखि सात लाख रूपैयाँसम्म कमाउने लोभले अमेरिकाको धर्ती टेकायो । तल्लो बाटो हुँदै अमेरिकाको भूमि टेकेका घोराही–६ का जागुलाल चौधरी (नाम परिवर्तन) का लागि अमेरिकी धर्ती उनी अनुकूल बनिदिएन । अमेरिकामा बस्ने गरी बनाइएका गलत कागजी दस्तावेजलाई त्यहाँको सरकारले पहिचान गरिदियो अनि सिधै नेपाल फर्काइए उनी । अमेरिकामा पुगेर लाखौँ रकम कमाउने लोभले तल्लोबाटो तय गरेका उनले पैदल यात्राका क्रममा कैयन सास्ती भोगे; लाखौँ रकम डुबाए; सामाजिक अस्तित्व गुमाए र गाउँ छाड्न बाध्य भए ।
अहिले घोराहीको एक कुनामा सानो होटेल चलाइरहेका छन् । त्यही सानो होटेलमा चिया बेचेर अमेरिका यात्राको ठुलो चोट बिर्सन प्रयत्न गरिरहेका छन्, उनी । भन्छन्, ‘यो सानो होटेल जस्तो छ, चिया बेचेर गुजारा चलाइरहेको छु, के गर्नु अमेरिकाले हेपिदियो ।’ घोराहीको एउटा कुनामा चिया बेचिरहेका चिया पसलेसँग एक ग्राहकले चियाको चुस्की तान्दै सोधे, ‘कस्तो छ व्यापार ?’ ‘चिया बेचेर केको कमाइ हुनु र ?’, जागुलाल बोले, ‘जेनतेन गुजारा चलाउने न हो ।’ ‘कति भयो चिया पसल गर्न थालेको ?’, ग्राहकको प्रश्नमा हाँस्दै उनले भने, ‘अमेरिकाले ठक्कर दिएपछि सुरु गरेको । अहिले ६ महिना भयो ।’ नेपाली सेनाका सेवानिवृत्त कर्मचारी उनी ।
२०६९ सालमा सेवा निवृत्त उनका अगाडि अब के गर्ने भन्ने प्रश्न उब्जियो । घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उनले केही समय जागिरे थलो बनाए । सुरक्षा गार्डका रूपमा काम गरिरहेका जागुलाल यसमा रमाउन सकेनन् अनि विदेश गएर लाखौँ रकम आम्दानी गर्ने योजनाका तानाबुना बुन्न थाले । विदेश कहाँ जाने ? एकजना दाङकै साथीले अमेरिका जानका लागि सुझाव दिए र आफू पनि सँगै जाने सल्लाह गरे । दुई साथीबिच भएको यो सल्लाहले निष्कर्ष पायो, ‘अब अमेरिका हिँडौँ ।’ ‘महिनाको पाँचदेखि सात लाख रुपैयाँ कमाइ हुन्छ, अमेरिका जाऔँ भनेर साथीले सुझाव दियो’, उनी भन्छन्, ‘मलाई पनि पाँच–सात लाख रुपैयाँको लोभ जाग्यो अनि हुन्छ भनेँ ।’
पैदलमार्ग हुँदै अमेरिका हिँड्ने योजना बनाएका जागुलाल र उनका साथी एक एजेन्टकहाँ पुगे । अब उनीहरूको यात्रा प्रारम्भ हुने पक्कापक्की भयो । सुरुमा जागुलालले ६ लाख बुझाए । यो ६ लाखले उनको अमेरिका यात्राको प्रक्रिया थालनी भयो । त्यसको केही समयपछि २०७९ वैशाख १२ मा १० लाख रुपैयाँ बुझाएर जागुलालको काठमाडौंदेखि अमेरिका यात्रा सुरु भयो । अमेरिका यात्राका लागि दुई चरणमा १६ लाख रुपैयाँ बुझाएका जागुलाल यो रकमले तान्जिनिया देश पुगे । ‘काठमाडौंबाट कतार, बहराइन, दुबई हुँदै तान्जिनियाको जन्जीबार भन्ने ठाउँमा पुग्यौँ’, उनले भने, ‘यो ठाउँमा हामी ४२ दिनसम्म बस्यौँ ।’ तान्जिनियाको जन्जीबार भन्ने ठाउँबाट जागुलालसहितको टोलीलाई यसै देशको राजधानी दारेसलाम पु¥याइयो । यो ठाउँमा दुई दिनको बसाइँपछि हवाई यात्रामार्फत् इजिप्ट पु¥याइयो । ‘इजिप्टमार्फत् जर्मन हुँदै ब्राजिल पु¥याइयो’, उनी भन्छन्, ‘ब्राजिलको एयरपोर्टमा हामी एक हप्तासम्म बस्यौँ ।’
यो एक हप्ताको बसाइँ जागुलालका लागि निकै कठिन बन्यो । एजेन्टले एयरपोर्टबाट निकाल्नै सकेन । ‘हामीलाई एजेन्टले एयरपोर्टबाट निकाल्न सकेन’, उनले भने, ‘हामीलाई खानाको व्यवस्थासमेत गरिएन । हामी भोकै बस्न बाध्य भयौँ ।’ आफैँ पैसा तिर्न नसकेपछि उनीहरू ब्राजिल सरकारको शरण लिन बाध्य भए । आफूहरूलाई माओवादीपीडित भन्दै शरणको माग गरेका उनीहरूलाई ब्राजिल सरकारले एक वर्षका लागि शरण दियो । ‘एयरपोर्टमा बन्धकजस्तै बन्नुपरेपछि हामीले ब्राजिल सरकारको शरण लियौँ’, माओवादीपीडित भएको र हामी नेपालमा बस्न नसकेर आएको भनेपछि ब्राजिल सरकारले एक वर्षका लागि शरण दिएको थियो’, उनले भने, ‘ब्राजिल सरकारले हामीलाई होटेलमा राख्यो । खाने व्यवस्था हामीलाई त्यहाँसम्म पु¥याएको हवाई कम्पनीले बेहोरिदिएको थियो ।’
ब्राजिलसम्म पु¥याएको एजेन्ट जागुलालबाट अलग्गियो । ऊ ब्राजिलभन्दा अगाडि लैजान नसक्ने भन्दै पन्छियो । ब्राजिलसम्म पु¥याएको यो एजेन्टले जागुलालबाट ३० लाखभन्दा बढी रकम असुलिसकेको थियो । जागुलाललगायतको टोलीले ब्राजिलमा अर्को एजेन्ट पकडे । यो एजेन्टसँग अमेरिकासम्म पुग्नका लागि ३० लाख रुपैयाँ डिल भयो । यो एजेन्टले ब्राजिलमै १५ लाख रूपैयाँ बुझ्यो । घन्टौँसम्मको बस यात्रा अनि पानीजहाजको यात्रामार्फत् कैयन् राष्ट्र छिचोलेका जागुलालले पानाको जङ्गलमा पैदलमार्गीहरूको केही विभत्स अवस्था देखे ।
‘दुईजना विदेशी नागरिक रूखले च्यापिएर मृत्युको अन्तिम अवस्थामा देखेका थियौँ’, उनले भने, ‘तर उनीहरूलाई जोगाउन सकिने अवस्थै हुन्न । कसरी अमेरिका पुग्ने भन्ने मात्रै मानसिकता हुन्छ । त्यहाँ कसैलाई केही भइहाल्यो भने छोडेर हिँड्नेबाहेक अर्को विकल्प हुन्न ।’ यसैगरी पहाडमा लु लाग्ने भएकाले कैयन् नागरिक पानाको जङ्गलमा लुका कारण मर्ने गरेको उनले सुनाए । पैदल र डुङ्गामार्फत् अमेरिका नजिक पुग्न खोजेका जागुलालको समूह कोस्टारिकाको बोर्डरमा पुग्यो । यहाँ उनीहरू २४ दिनसम्म बसे । होटेलमा बसेका उनीहरूलाई दोस्रो एजेन्टले पनि छाडिदियो । अब उनीहरूले अर्को एजेन्ट समात्नुपर्ने भयो । उनीहरूले आफूहरू बसेकै होटेलमा छ सय डलर तिरेर अर्को एजेन्ट तय गरे ।
‘दोस्रो एजेन्टले पनि हामीलाई कोस्टारिका पु¥याएर छाडिदियो । हामी त्यहाँ कति दिनसम्म भोकै बस्यौँ’, उनले भने, ‘कोस्टारिकामै फेरि अर्को एजेन्ट खोज्यौँ र नयाँ एजेन्टमार्फत् त्यहाँबाट अघि बढ्ने निर्णय लियौँ ।’ त्यहाँबाट नयाँ एजेन्टमार्फत् मेक्सिकोको तापाचुलामा पुगेका उनीहरूलाई यो एजेन्टले पनि छाडिदियो ।
‘पटकपटक एजेन्टहरूले छाडिदिँदा हामी अमेरिका पुग्छौँ जस्तो लाग्नै छाडिसकेको थियो’, उनले भने, ‘तैपनि हार मान्ने कुरा भएन, यति धेरै लगानी लागिसकेको थियो । जसरी पनि अमेरिका पुग्नै पर्ने थियो ।’ तापाचुलामै अर्को नयाँ एजेन्ट खोजी गरे उनीहरूले । तीन लाख रूपैयाँ तिरेर उनीहरूले नयाँ एजेन्टमार्फत् अमेरिकाको यात्रा तय गरे । उनीहरू नयाँ एजेन्टमार्फत् मेक्सिकोको सोनाइटा भन्ने स्थानको बोर्डरमा पुगे । ७२ घण्टाको यात्रापछि उनीहरूले अमेरिकाको धर्तिमा पाइला टेके ।
अमेरिकाको एरिजोना भन्ने स्थानमा पाइला टेकेका जागुलाल त्यतिबेला आफ्नो सपना पूरा हुनेमा ढुक्क भए । उनले त्यहाँसम्म पुग्दाका सबै दुःख बिर्सिए । नयाँ जीवनको परिकल्पना भयो । ‘अमेरिका पुगेपछि नयाँ जीवनको परिकल्पना भयो, सपना पूरा भयो भन्ने लाग्यो’, उनले भने, ‘बाटोमा आफूले भोगेका सबै दुःख–कष्ट बिर्सेँ ।’ अमेरिकाको धर्ति टेकेको २०÷२५ मिनेटमै उनीहरू प्रहरीद्वारा समातिए । उनीहरूलाई हातमा हत्कडी र खुट्टामा साङ्ला लगाइयो । ‘हामीलाई चौकीमा लगियो । त्यहाँ दुई रात बसालियो ।’ दुई दिनपछि उनीहरूलाई जहाजमार्फत् टेक्सासको अर्को नयाँ जेलमा स्थानान्तरण गरियो ।
जेल बसाइँपश्चात् तत्कालै बाहिर निस्कने र अमेरिकामा लाखौँ कमाइ गर्ने जागुलालको आशा दिनानुदिन मत्थर बन्दै जान थाल्यो । १४ दिन टेक्सासको जेलमा राखेपछि उनीहरूको अमेरिका प्रवेशलाई अमेरिकी प्रहरीले विभिन्न आशङ्काले हेर्न थाल्यो । १४ दिनपछि जागुलाललगायत केहीलाई तीन महिनाका लागि जेल सजाय सुनाइयो । ‘विनाप्रमाण अमेरिका प्रवेश गरेको भनेर हामीलाई तीन महिनाको जेल सजाय सुनाइयो’, उनले भने, ‘सजायस्वरूप जेल सजाय सुनाएपछि अब अमेरिका बस्न पाइँदैन भन्ने लाग्यो ।’ आफूहरू माओवादीपीडित रहेको र नेपालमा बस्न नसकेका कारण अमेरिकामा शरण पर्न आएको तर्क कानुनी रूपमै उनीहरूले गर्न खोजिरहे ।
उनीहरूले अमेरिकामा रहेका अमेरिकी वकिलमार्फत् कानुनी लडाइँ सुरु गरे पनि । ‘नेपालमा माओवादीका कारण बस्न नसकेको र अमेरिकामा शरण पर्न आएको भनेर हामीले वकिल लगाएर कानुनी लडाइँ पनि लड्यौँ’, उनले भने । तर अमेरिकाले जागुलाललाई माओवादी पीडितका रूपमा बुझेन । गलत विवरण पेस गरेर अमेरिका प्रवेश गरेको निक्र्योलका साथ अमेरिकाले जागुलाललाई तीन महिनापछि नेपाल फर्काउने निर्णय सुनायो । जागुलालका लागि संसार अँध्यारो भयो । ‘नेपाल फर्काउने भनेर निर्णय सुनाएपछि म बेहोसजस्तै भएँ । मैले केही देखिनँ’, उनले भने, ‘अब बाँचेर काम छैन भन्नेसम्म लाग्यो तर परिवार सम्झिएँ र मर्न सकिनँ ।’
जागुलालका लागि त्यो अधिक पीडाको क्षण थियो । उनीसँगै नेपाल फर्काउने निर्णय सुनाइएका पोखराका एक युवकले जेलभित्रै आत्महत्या गरे । ‘मसँगै नेपाल फर्काउने भनिएका पोखराका एकजनाले आत्महत्या नै गरे’, उनले भने, ‘त्यो निर्णयका बेला जीवनबारे केही सोच्नै आउने रहेनछ ।’ अमेरिकाले डिपोट गरिदिएका जागुलालसहित २४ जनालाई कतार हुँदै नेपाल पठाइएको थियो । उनीहरू २०८० पुस २ गते काठमाडौं अवतरण भए । नेपाल फर्काइएका २४ जनामध्ये जागुलालसहित अर्का एकजना पनि दाङकै थिए । अमेरिकामा लाखौँ आम्दानी गर्ने लक्ष्य बोकेर तल्लो बाटो हिँडेका जागुलाल नेपाल फर्किएपछि अब कहाँ जाने ? के गर्ने ? भन्ने अन्योलमा परे । केही दिनपछि साहस जुटाएर घर पुगे तर अमेरिका जाँदा लागेको लाखौँ रकम डुबेपछि परिवारले उनलाई सकारात्मक नजरले हेर्न छाड्यो । झगडा हुन थाल्यो । ‘अमेरिका पुग्दासम्म मेरो ७० लाख रुपैयाँजति खर्च भयो, यति ठुलो रकम डुब्दा परिवारले राम्रो मान्ने कुरा भएन, झगडा पर्न थाल्यो’, उनले भने, ‘उता साहुहरूले पैसा मागेर हैरान पार्न थाले । म दिमागी रूपमा धेरै डिस्टर्ब भएँ ।’
साहुहरूको तारन्तारको ताकेता उनले झेल्न सकेनन् अनि गाउँमा रहेको सात कट्ठा जग्गा बेचेर अमेरिका जाँदा लागेको ऋण तिरे । ‘अमेरिका जाँदा लागेको खर्च सबै ऋण लिएको थिएँ, सयकडा तीन रुपैयाँ व्याजमा लिएको ऋण तिर्न सक्ने कुरै भएन’, उनले भने, ‘अनि गाउँमा रहेको सात कट्ठा जग्गा बेचेर ऋण तिरेँ ।’ ऋण तिरेर बोझबाट मुक्त भए पनि उनलाई मानसिकता बोझले भने मुक्ति दिएन । गाउँ समाजले समेत उनलाई खराब नजरले हेरेको महसुस हुन थाल्यो । कतिपयले उनको टीकाटिप्पणी समेत गरे । ‘अमेरिका गएर धेरै कमाउँछु भन्थ्यो, सबै डुबायो भनेर गाउँमा भन्न थालियो’, उनले भने, ‘समाजबाट आफू बहिस्कृत भए झैँ लाग्न थाल्यो । मानसिक रूपमा यो कुराले धेरै तनाव हुन थाल्यो ।’
समाजबाट आफूलाई बहिस्कृत गरिरहेको महसुस भएपछि उनले गाउँ नै छाड्ने निधो गरे अनि घोराही बजारमा आएर चिया बेच्ने निधो गरे । ६ महिनादेखि उनले चिया बेचिरहेका छन् । ‘धन्न नेपाली सेना हुँदाखेरिको कमाइले घोराहीमा हालेको घर थियो, यही घरमा चिया पसल खोल्ने निर्णय लिएँ’, उनले भने, ‘के गर्नु अमेरिकाको लोभ लाग्यो, अन्त्यमा लोभले लाभ, लाभले विलाप भनेजस्तै भयो ।’ बेलाबेलामा उनी गाउँको घरमा पुग्छन् तर गाउँका कसैले आफूलाई नदेखून् भन्ने लाग्छ उनलाई । ‘गाउँमा कहिलेकाहीँ जान्छु तर गाउँका कसैले पनि आफूलाई नदेखून् भन्ने लाग्छ’, उनले भने । चिया पसल थापेर हुने कमाइलाई उनी कमाइ मान्दैनन् । मात्रै आफूलाई व्यस्त राख्न पाएको अवसर मान्छन् उनी । ‘त्यत्रो ७० लाख रुपैयाँ चिया बेचेर पूर्ति होला भन्ने फिटिक्कै लाग्दैन’, उनले भने, ‘कमाइभन्दा पनि आफूलाई व्यस्त जस्तो बनाएको छु ।’ यो पसलले मलाई मानसिक रूपमा धेरै तनाव कम गराउँदै लगेको उनले बताएको छ ।