गोरक्ष समाचारदाता
दाङ, १२ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश सरकारमा पार्टीबाट सहभागी मन्त्रीहरूले प्रदेश सरकारको अनुभूत दिलाउने गरी काम गर्नु पर्नेमा जोड दिएका छन् ।
उनले प्रदेशको औचित्य पुस्ट्याइँ गर्ने जिम्मेवारीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा समेत जोड दिएका थिए । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेसँग देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा सभापति देउवाले प्रदेश सरकारको औचित्य र यसको आवश्यकता महसुस गराउने गरी काम गर्न निर्देशन दिए ।
सङ्घीयताको मर्म अनुरूप प्रदेश सरकारले आम नागरिक समक्ष आफ्नो औचित्य पुष्टि गर्ने चुनौती रहेको भन्दै सभापति देउवाले विभागीय जिम्मेवारी अनुरूप पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूले यसका लागि अहम् भूमिका खेल्नु पर्नेमा जोड दिए ।
सभापति देउवाले मन्त्री न्यौपानेसँग लुम्बिनी प्रदेश सरकारले गरेका कामकारबाहीबारे जानकारी लिएका थिए । प्रदेश सरकारबारे जानकारी गराउँदै मन्त्री न्यौपानेले प्रदेश सरकार आर्थिक पारदर्शिताको नीति अवलम्बन गरेर अघि बढेको भन्दै आर्थिक सुशासनका गतिविधिमा सरकार केन्द्रित रहेको जानकारी गराएका थिए । ‘कांग्रेस सभापति देउवासँगको मेरो भेटमा उहाँले प्रदेश सरकारको औचित्य पुष्ट्याइँलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो’, भेटपछि मन्त्री न्यौपानेले भने, ‘लुम्बिनी सरकारले गरेका कामबारे जानकारी लिने काम पनि उहाँबाट भयो र मैले प्रदेश सरकारले अहिलेसम्म गरेका कामकारबाहीबारे जानकारी गराएँ ।’