प्रिया स्मृती गजमेर
लमही, १२ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले पार्टीलाई संगठित र बलियो बनाउन गुटगत राजनीतिको अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस लमही नगर कार्यसमितिले विहीवार लमहीमा आयोजना गरेको नेपाली कांग्रेसको सयदिने विशेष अभियान अन्तर्गतको कार्यक्रमलाई सम्बोधन गर्दै नेता रसाइलीले पार्टीलाई बलियो गराउन पहिले पार्टीभित्र भएको गुटगत राजनीति अन्त्य हुनुपर्ने बताए । बद्लिँदो समय अनुसार कांग्रेसलाई रूपान्तरण गर्न आवश्यक रहेको भन्दै नेता रसाइलीले नयाँ सोच, विचार र कार्यक्रम आवश्यक रहेको बताए । पार्टीभित्र मौलाउँदै गएको अराजकतालाई रोक्न आवश्यक रहेको भन्दै नेता रसाइलीले पार्टीको विधि र सिद्धान्त बाहिर जान नहुने बताए ।
नेपाली कांग्रेस लमही नगर कार्यसमितिका उपसभापति जगनारायण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै दाङमा खटिएका केन्द्रीय प्रतिनिधि समेत रहेका केन्द्रीय सदस्य रसाइलीले जनताको समृद्धिको सपना पूरा गर्ने पाटी नेपाली कांग्रेस मात्र भएको बताए । पार्टीको आन्तरिक विषयमा कसरी सुदृढीकरण गर्ने भन्नेमा तल्लो तहका नेता कार्यकर्तासँगै केन्द्रीय तहका नेताहरूले ध्यान दिनुपर्ने बताए । नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले पार्टीका हरेक क्रियाकलापमा सबै सक्रिय रहनुपर्ने बताए । यो वा त्यो नभनेर सबैले कांग्रेसका निम्ति दत्तचित्त भएर खटिनुपर्ने भन्दै नेता डाँगीको पार्टीका तल्लो तहदेखि माथिल्लो तहका नेताहरू लाग्नुपर्ने बताए ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले पार्टीलाई बलियो बनाउनु मुख्य कुरा भएको बताए । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले वीपीको विचारलाई पछ्याएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताए । लमही नगरपालिका–५ का स्थानीय लिलबहादुर रोकाले निर्वाचनका बेला मात्र नेताहरू गाउँघरमा घुम्न आउने त्यस बाहेक कहिले सम्पर्कमा नआउने गरेको बताए । जनताको आशा अपेक्षा थोरै भए पनि पूरा गर्नेतिर जनप्रतिनिधिको ध्यान जान जरुरी रहेको बताएका थिए । लमही नगरपालिका–४ का वडा सभापति मणिराम चौधरीले सदस्यता नवीकरण अहिलेको अप्ठ्यारो विषय बनेको बताउँदै सबै क्रियाशील सदस्यलाई कसरी नवीकरणमा सहभागी गराउने भनेर लागेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस लमही–५ का वडा सभापति रवि श्रेष्ठ, ३ का क्रियाशील सदस्य सुलोचना गिरी, वडा नं. ७ का सभापति प्रेम चौधरी, वडा नं. ८ का सभापति यादवनाथ योगी, लमही नगरपालिका–७ की दीलकुमारी चौधरीले कांग्रेसलाई एकताबद्ध बनाउने गरी लाग्नुपर्ने बताएका थिए । नेपाली कांग्रेस क्षेत्र नं. १ का उपसभापति दिनेश गिरीले स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर सचिव प्रेम कालाथोकीले गरेका थिए ।