बालाराम खड्का
तुलसीपुर, १५ बैशाख । तुलसीपुर उपमहानगरपालिका–१७ का माहुरीपालक किसान मिनराज भट्टराईका कम्तीमा ५० घार माहुरीहरु कपिलबस्तुको चन्द्रौटामा थुनिएका छन् । फागुन महिनामा चरणका लागि त्यहाँ छाडिएका माहुरीहरु कोरोना भाइरसको संक्रमणसँगै शुरु भएको लकडाउनका कारण कपिलबस्तुमै रहेका छन् । मौरी कपिलबस्तुमा छाडेर मानपुर फर्केका उनी घरी पासका लागि सिडिओलाई फोन गर्छन्, घरी मौरीपालक संघमा फोन गर्छन्, तर उनले मौरी ल्याउन पाएका छैनन् । पास लिन जिल्ला प्रशासन कार्यालयसम्म पुग्न पनि उनलाई सहज छैन । भट्टराईजस्तै तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका माधव केसीका मौरी पनि चरणका लागि कैलाली लगिएका थिए, मह काढ्ने बेलामा लकडाउन लम्बिएकाले उनले पनि मौरी दाङ ल्याउन पाएका छैनन् ।
भट्टराई र केसी त मौरीपालक किसानका प्रतिनिधिपात्र मात्रै हुन् । उनीहरुजस्तै करिब दुई दर्जनभन्दा बढी किसानका मौरीका घार अन्य जिल्लामै थुनिएका छन् । दाङमा च्युरी तोरीको रस सकिएसँगै चरणका लागि अन्य जिल्लामा लग्ने गरिन्छ । यहाँका अधिकांश मौरीपालक किसानहरुले चरणका लागि कैलाली, कपिलबस्तु, लुम्बिनी, बर्दिया, चितवनलगायतका स्थानमा चरणका लागि लैजाने गरेका छन् । घार राखिने जग्गाको भाडा तिरेर उनीहरुले मौरी चरणका लागि राख्ने गरेको बताएका छन् ।
चैतको मध्यसाता मौरीपालक किसानहरुका लागि मह काढ्ने समय हो । मह काढ्ने समयमा लकडाउन भएका कारण आफूहरुले महउत्पादन गर्न नसकेको कृषकहरु बताउँछन् । दाङ जिल्ला मौरी पालनका लागि उर्बर भूमि मानिन्छ । यहाँ उत्पादित महको गुणस्तर पनि उत्तम मानिन्छ तर मह उत्पादन हुने समयमै कोरोना भाइसरको संक्रमणको जोखिम कम गर्न लकडाउन भएपछि एकजना कृषकले पनि यो समयमा मह उत्पादन गर्न नसकेको नेपाल मौरी पालन महासंघ दाङले जनाएको छ । यससँगै जिल्लामा यस बर्ष मह उत्पादनमा कमी आउने देखिएको छ । जिल्लाका मौरीपालक कृषकहरुले लकडाउनका कारण मह काढ्न नपाउँदा मह उत्पादनमा कमी आउनुका साथै कृषकहरुको करोडौको क्षति भएको छ । मह काढ्नुका साथै नयाँ रानी बनाउने पनि यही सिजनमा गरिन्छ । जसले किसानहरुले घारबृद्धि समेत गर्दै आएका थिए । चैतको १५ गतेदेखि मह काढ्ने सिजन शुरु हुने र सो अगावै लकडाउन भएका कारण मह काढ्न नपाएको महासंघ दाङका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिएका छन् । मह काढ्ने समयमा गाडी मोटरहरु बन्द हुँदा कृषकहरु मौरी राखेको स्थानसम्म जान नसकेपछि मह काढ्न नपाएको उनको भनाइ छ ।
‘चैतको दोस्रो सातादेखि हामीहरुले मौरीको मह काढ्ने गरेका थियौ, तर त्यस अगावै लकडाउन भयो’, अध्यक्ष श्रेष्ठले भने । यस सिजनमा दाङमा मौरीका लागि चरण कमी हुने भएपछि यहाँका कृषकहरुले कैलाली, लुम्बिनी, कपिलबस्तुलगायतका जिल्लामा मौरी चराउन लगेका थिए । चैतमा मह काढ्नुका साथै अत्यधिक मात्रामा गोला वृद्धि हुने समय रहेको र गोला छुटेर मौरी पनि अन्यत्र गएका कारण मौरीको गोलामा समेत कमी आउने कृषकहरु बताउँछन् । त्यस्तै कैलालीमा मौरी चराउन लगेका प्राकृतिक मह उत्पादन तथा माहुरी पालन फर्मका सञ्चालक माधव केसीले यस पटक मह काढ्न नसकेको गुनासो पोखे । लकडाउन भए पनि सरकारले मौरीपालक किसानलाई केही सहज बातावरण बनाइदिएमा मौरी ल्याउन आफूहरु आतुर भएको पनि उनले बताए ।
चार सय गोला मौरी पालन गर्दै आएका केसीले यस सिजनमा ३ टन मह उत्पादन गर्थे । तर यस बर्ष १ किला पनि मह उत्पादन नभएको बताए । ‘मेरो मौरी कैलालीमै छ, म चैत २ गते यहाँ आएको हुँ तर मसँग अन्य जनशक्ति र साधन नहुँदा मह काढ्न पाइनँ’, केसीले भने । केसीले यस पटक करिब १५ लाख रुपैयाँ घाटा लागेको बताए । उनले यस बर्ष मह उत्पादनका साथै मौरीका घारहरु पनि बढ्न नसकेको बताए । त्यस्तै ३ सय घार मौरी पालेका व्यवसायी विनोद हमालले पनि मह काढ्न नपाएको गुनासो गरेका छन् । धेरै जसो किसानहरुको मौरी अहिले चरणको लागि कैलाली लगायतका जिल्लामा लगेका छन् । यससंँगै अब माहुरीका लागि चरण सकिएको र चिनी पनि नपाइने र आफूहरु पनि घरबाहिर जान नसक्ने भएपछि भएका मौरी पनि कसरी बचाउने भन्ने चिन्तामा कृषक रहेको बताउँछन् ।
दाङ जिल्लामा १६ हजार गोला मौरीहरु कृषकहरुले पालेका छन् । त्यसबाट यस सिजनमा करिब १ सय ६० देखि २ सय टनसम्म मह उत्पादन हुने अनुमान गरिएको थियो । मह उत्पादन घटेसँगै जिल्लाका कृषकहरुको करिब पाँच करोडको क्षति समेत भएको छ । जिल्लामा प्रतिकिलो मह २ सय ५० देखि ४ सय रुपैयाँसम्म बिक्री हँुदै आएको थियो । दाङ जिल्लामा उत्पादन भएको मह जिल्लामा धेरै जसो खपत हुने गरेको थियो भने यहाँको मह राम्रो हुने भएकाले अन्य जिल्लामा पनि माग हुने गरेको मौरी पालन महासंघले जनाएको छ । जिल्लाका अन्य क्षेत्रमा मौरी राखेका कृषकहरुलाई हालसम्म पनि प्रशासनले पासको व्यवस्था नगरेको महासंघले जनाएको छ ।