अमरराज आचार्य
दाङ, १५ बैशाख । नेपाल सरकारले घोषणा गरेको लकडाउनमा च्याउको बीउ पनि परेको छ । यसले च्याउको व्यावसायिक खेती गर्ने किसानहरु अन्योलमा परेका छन् । च्याउखेतीका लागि उपयुक्त समय प्रि–मनसुनकै अवस्था हो । किसानहरुका फर्ममा च्याउखेती गर्न परालका पोका तयार छन् तर बीउ उपलव्ध हुन सकेन ।
‘च्याउको बीउ काठमाडौंबाट आउँथ्यो तर बीउ मगाउने कसरी ?, घोराही उपमहानगरपालिका वडा नं. ६ गैरागाउँका किसान गिरिराज ज्ञवालीले भने । उनले बीउका लागि जिल्लाका केही एग्रोभेटमा सम्पर्क त गरे, तर उपलव्ध हुन सकेन । बैशाखदेखि भदौ महिनासम्म च्याउको सिजन हो, तर पछिल्लोपटक थपिएको लकडाउनमा पनि सरकारले व्यावसायिक एवं श्रमजीवी किसानहरुलाई सहजरुपमा स्थानीयस्तरमै बीउ उपलव्ध गराउने गरी कार्यक्रम ल्याएन ।
ज्ञवालीले विगत २ वर्षदेखि पाण्डवेश्वर च्याउ फर्म दर्ता गरेर गैरागाउँमा च्याउखेती गर्दै आएका छन् । काठमाडौबाट च्याउको बीउ ल्याएर खेती गरिरहेका उनले लकडाउनको कारण च्याउको बीउ ल्याउन नसकेको बताए । बीउ मगाउनका लागि फोन गर्दा ‘छैन’ भन्ने जवाफ आउने गरेको उनले बताए । ‘च्याउ खेती गर्नेका लागि सबै ठिक्क रहेको छ तर बीउ नहुँदा खेती गरिएकोे छैन’, ज्ञवालीले भने । च्याउ बनाउनका लागि काटेर राखेको परालसमेत पानीको कारण खेर जान थालेको उनको भनाइ रहेको छ । उनले गैरागाउँमा १३ कठ्ठा जग्गा भाँडामा लिएर च्याउ खेती गर्दै आएका छन् ।
उनले १९ वटा टनेलमा च्याउखेती आएका थिए । एक लटमा करिब ७ सय पोका बनाएर उनले च्याउखेती गर्ने गरेका थिए । दैनिक १ सय किलोसम्म च्याउ उत्पादन गरेर बिक्री गरेको उनी बताउँछन् । उत्पादन भएको च्याउ बिक्रीका लागि भने कुनै पनि समस्या नभएको ज्ञवालीले बताए । ‘उत्पादन भएको च्याउ सहजै विक्री हुने गर्दछ’, ज्ञवालीले भने । यसरी उत्पादन भएको च्याउ होलसेलमा १ सय ८० रुपैयाँ र फुटकरमा २ सय रुपैयाँमा बिक्री हुने गरेको थियो । तर लकडाउनको कारण पछिल्लो लटको च्याउ बिक्री नभएर खेर गएको उनले बताए । ‘लकडाउनको कारण बजार बन्द भएपछि च्याउ विक्री पनि नभएर खेर गएको हो’, ज्ञवालीले भने । यस अवधिमा करिब २ लाख बराबरको च्याउ बिक्री नभएको उनको भनाइ रहेको छ ।
च्याउ सुकाउनका लागि आवश्यक पर्ने प्र्रविधि नहँुदा पनि नबिकेको च्याउ खेर गएको ज्ञवाली बताउँछन् । खेती गर्न नपाएपछि बैंकको किस्ता र जग्गाको भाडा कसरी तिर्ने चिन्ता बढेको उनको भनाइ रहेको छ । ९ वर्षसम्म रोजगारीका लागि विदेशमा बिताएका उनले नेपालका आएपछि च्याउखेती शुरु गरेका हुन् । ‘नेपालका कृषिको राम्रो सम्भावना देखेकाले यसतर्फ लागेको हुँ’, ज्ञवालीले भने । यसका लागि घर परिवारको पनि सहयोग रहेको छ । यो खेतीमा उनले अन्यलाई पनि रोजगार दिँदै आएका छन् । राज्यले कृषि क्षेत्रलाई सहयोग गरिदिएमा कृषि उत्पादन बढाउन सकिने बताए ।