calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

मेरो खुशी : पुष्प व्यवसायले दिलाएको सफलता…

दाङमा कुनै समय थियो, पुष्प बिक्री हुन्छभन्दा मानिस हास्ने गर्दथे । पुष्प बिक्री गरेर के हुन्छ भन्थे । त्यही समयमा विदेशबाट फर्किदै गरेका लोकेन्द्र पुनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हातमा पूmलका माला बिक्री गर्दै गरेका मानिस देखेका थिए । त्यो देखेका लोकेन्द्रलाई आफ्नै ठाउँमा केही गर्ने सोच बनाएका थिए ।

त्यो सोच घोराहीमा आएर इन्द्रा बुढा र क्षितिज बुढा मगरलाई सुनाए । त्यसपछि जिल्लामा पहिलो पटक घोराहीमा तीनजनाले सुरु गरे व्यवसायिक पुष्प उत्पादन । खासगरी त्यो बेला तिहारलाई लक्षित गरेर घोराही–१४ लोहासपुर र घोराही–१३ डुमरगाउँमा पुष्प उत्पादन गरेका थिए । पुष्प व्यवसाय जिल्लामा नयाँ भए पनि उत्पादन र बिक्री राम्रै हुँदै थियो । आम्दानी भइरहेको थियो तर संयुक्त रूपमा व्यवसाय गर्ने वातावरण लामो समय बनिन् । कामको व्यस्तताले तीनैजनाको सल्लाहमा अलग–अलग हुने कुरा भयो । त्यही अनुसार लोहासपुरमा लोकेन्द्रले गर्न थाले भने डुमरगाउँमा इन्द्राले गर्न थालिन्, क्षिजितले त्यसपछि गरिनन् । पुष्प व्यवसाय राम्रो हुँदै गएपछि व्यवसायिक तथा आर्थिक कारोवार पनि बढ्दै गयो ।

पुष्प व्यवसायभन्दा पहिले अल्लो व्यवसायमा संलग्न भए पनि अन्नत पुष्प व्यवसायले जिल्लामा एउटा–एउटा पहिचान बनाइदियो, पुष्प व्यवसायी इन्द्रा बुढाको । पुष्प व्यवसायमा प्राप्त गरेको सफलता नै आफ्नो खुसीको क्षण भएको बताउँदै बुढाले भनिन्,‘पुष्प व्यवसायका बारेमा मलाई केही थाहा थिएन, लोकेन्द्र भाइले गरौँ बहिनी भनेपछि त्यो बेला सुरु गरेका थियाँै । अहिले घरव्यवहार चलाउने माध्यम पुष्प व्यवसाय नै बनेको छ । यही व्यवसायले आपूmलाई चिनाउँदा खुसी लाग्ने गर्दछ ।’

सानै उमेरदेखि नाँचगान गर्नेसँगै समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी बुढाले गाउँमा महिलालाई सङ्गठित गर्ने र आयआर्जनमा जोड्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिन् । २०६४ सालतिर गाउँमा महिलालाई सङ्गठित गर्दै आयआर्जनमा अघि बढ्नका लागि नेतृत्वदायी भूमिका खेलिन् । रोल्पाको त्रिवेणी गाउँपालिका–७ (तत्कालिन गौरीगाउँ गा.वि.स. ६ ) मा महिला समूह स्थापनका लागि पहल गरिन् । खासगरी पहिला साविकको वडा नं. ६ मा गर्ने कि ७ मा महिला समूह गठन गर्ने भन्नेमा मतभेद थियो । सकेसम्म दुवै वडाका महिला पहिले गर्नेमा थिए ।

सहमति हुन नसकेपछि चिट्ठा तान्नु पर्ने भयो । चिट्ठामा गठन गर्ने र नगर्ने भन्ने थियो । हाम्रो वडाबाट चिट्ठा मैले तानेको थिए, संयोग नै मान्नुपर्छ त्यो चिठा गठन गर्ने भन्ने पक्षमा थियो । चिट्ठा जितेपछि गाउँमा सिर्जनशिल महिला समूह गठन भयो । वडाका महिलालाई तत्कालीन महिला विकास कार्यालयले सात दिनको तालिम पश्चात आयआर्जनमा जोडिनका लागि एक÷एक वटा बाख्रा उपहार दिएको भन्दै उनले भनिन्,‘त्यो चिट्ठा आफ्नो पक्षमा आउदाँको दिन पनि मेरो जीवनको खुसीको क्षण हो । साच्चै हामी ठुलै जित भएको जस्तो खुसी भएका थियाँै, अहिले सम्झँदा पनि त्यो दिन रमाइलो लाग्छ ।’

आपूmहरूले स्थापना गरेको सिर्जनशिल महिला समूह आज कोपिला महिला बचत तथा ऋण सहकारी संस्थाका रूपमा विकास भएको र उक्त सस्थाले महिलालाई बचतसँगै आयआर्जनमा सहयोग गरिरहेको छ । विगत सम्झँदै बुढा भन्छिन्,‘चिट्ठा हाम्रो पक्षमा नभइदिएको भए के हुन्थ्यो थाहा भएन तर चिट्ठा हाम्रा पक्षमा आउँदा गाउँमा महिला समूह स्थापनासँगै आयआर्जनमा ठुलो परिवर्तन ल्याउने काम गरिदियो, त्यो दिन सम्झँदा आज पनि खुसी लाग्छ ।’

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि छोरालाई राम्रो शिक्षाका लागि २०६६ सालमा रोल्पाबाट दाङ झरेकी थिइन् । दाङ झरेकी बुढा सुरुमा आफू जस्तै महिला दिदीबहिनीसँग मिलेर अल्लो धागो उत्पादनमा जोडिएकी थिइन् । जिल्ला बाहिरबाट कच्चा पदार्थ ल्याउने र जिल्लामा अल्लो धागोसँगै तयारी कपडा उत्पादन गरेर बिक्री गर्दै आएकी थिइन् । आम्दानी पनि राम्रै भइरहेको थियो । त्यही क्रममा उनी पुष्प व्यवसायमा जोडिएकी थिइन् । व्यवसायमा जोडिनु अघि बुढा नाँचगान गर्थिन् । त्यो सानैदेखिको रहर पनि हो । नाच्ने गाउँने गर्दै गर्दा तत्कालीन नेकपा माओवादीसँग जोडिन पुगिन् । तत्कालीन भूमिगत समयमा माओवादीका कार्यक्रममा पुगेर नाच्ने गिदाउने गर्थिन् तर घरपरिवारलाई हेर्नु पर्ने बाध्यताका लागि पूर्णकालीन हुन सकिनन् । समय मिलेसम्म पार्टीका कार्यक्रममा जान्थिन्, गीत गाउने, नाँच्ने गर्थिन् ।

त्यो समय गाउँमा क्लवले सांस्कृतिक कार्यक्रम गर्ने गर्दथे, स्कुलका वार्षिकोत्सवसँगै मेला महोत्सवमा गीत गाउने गर्थिन् । धेरै कार्यक्रमहरूमा विजेता हुन्थिन, पुरस्कार जित्थिन् । त्यो बेला अहिले जस्तो युटुब, फेसबुक, टिकटकलगागतका सामाजिक सञ्जाल थिएनन् उनी भन्छिन्,‘त्यो बेला नाच्ने गिदाउने उमेर थियो । कति नाचियो, कति गिदाइयो । पुरस्कार जितियो अहिले रोल्पा जाँदा घरमा जितेका प्रमाणपत्रहरू देख्दा खुसी लाग्छ ।’

गाउँकै प्राथमिक विद्यालयबाट अध्यययन सुरु गरेकी बुढाले तत्कालीन सरकार र माओवादीबिच भएको द्वन्द्व र घरको अवस्थाका कारण पढाइलाई निरन्रता दिन सकिनन् तर घरमा स्वअध्ययन भने गरिरहिन् । शिक्षाप्रति भएको त्यही लगनशिलताले गर्दा पढाइ छोडेको लामो समयपछि २०६९ सालमा एसएलसी पास गरेकी थिइन् । एसएलसी पास गरेपछि प्लस टु अध्ययन गर्ने सोच बनाए पनि व्यवसायिक जीवनमा व्यस्त हुँदा पढाइलाई अघि बढाउन नसकेको उनले बताइन् ।

राजनीतिसँगै व्यवसायिक उत्पादनमा जोडिएकी इन्द्रा सहनशिल दिदीबहिनी अल्लो धागो उद्योग सञ्चालक समितिको सचिव, बराहक्षेत्र खानेपानी सरसफाई तथा उपभोक्ता समितिको दुई कार्यकाल उपाध्यक्ष, नेपाल मगर संघ दाङको कोषाध्यक्ष, नेकपा माओवादी केन्द्र घोराही नगर समितिको सचिवालय सदस्य तथा घोराही उपमहानगरपालिका–१३ को सहइन्चार्जलगायत विभिन्न संघसंस्थाहरूमा आवद्ध रहेर काम गर्दै आएकी छिन् ।

जन्ममिति २०४२ साल जेठ १८ गते रोल्पाको रोल्पा नगरपालिका–६ (साविकको कोटगाउँ गा.वि.स. ६) मा बुबा रणविर पुनमगर र आमा चिजु पुनमगरको सन्तानको रूपमा जन्मिएकी इन्द्रा हाल घोराही उपमहानगरपालिका–१३ सितल टोलमा बसोवास गर्दै आएकी छिन् । २०६० सालमा निमबहादुर बुढासँग बैवाहिक बन्धनमा बाधिएकी बुढाका अभिषेक र नेमिसन दुई छोरा रहेका छन् । जेठो छोरा अभिषेकले घोराहीमा रहेको पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालयमा कक्षा १२ र कान्छो छोरा नेमिसनले घोराही–१३ डुमरगाउँमा रहेको नवज्योति विद्या निकेतनमा कक्षा तीनमा अध्ययनरत रहेका छन् ।

प्रस्तुती : लीलाधर वली