calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

आत्म सन्तुष्टिले जीवनमा पार्ने प्रभाव

नारायणप्रसाद श्रेष्ठ

जीवनलाई सहज गतिमा गतिशिल बनाउने महत्वपुर्ण शुत्र भनेको आफुले आफैलाई खुसी र आत्मसन्तुष्टि बनाउनु हो । खुसीले जीवनलार्ई स्वाभाविक रुपले गतिशील बनाइरहन्छ । जीवनमा आइ पर्ने जति पनि दुःखकष्ट व्यथा, र समस्या छन्, ती सबैको मूल कारण मानिसको स्वभाव हो । यही स्वभाव मा उत्पन्न हुने विविध किसिमका आरोह अवरोहबाट नै मानिस दुःखी हुने अवस्था सिर्जना हुन्छ । तसर्थ यसलार्ई स्वभाविक रुपले यो जीवनमा आइरहने उतारचढाव हो भनी बुझ्न सक्नुपर्दछ ।

स्वभाव मानिसको जन्मसँगै आएको हुँदैन । यसलार्ई समाजले पार्ने प्रभाव स्वरुप जीवनले धारणा गर्दै प्रकट गरेको अवस्था रहन्छ । स्वभावमा सधैं सकारात्मक सोच भएर आउँछ भन्ने पनि हुँदैन कहिले दुःखद क्षण भइरहेको हुन्छ भने कहिले सुखद् । त्यसैले अरुलार्ई हतोत्साह बनाउँछु, जित्छु भनी भौतिकवादी चिन्तन राख्नुको बदला आफूभित्रको स्वभाव र चिन्तनलार्ई धैर्य र संयमता अपनाई प्रस्तुत गर्नु पर्दछ । यसको लागि आत्मविश्लेषण गरी आन्तरिक सोच र बाह्य आवरणमा एकरुपता ल्याई आफूलार्ई हर हमेशा खुसी राख्न जान्नु पर्दछ । जीवनको उद्देश्य आफूलाई कहिले दुःखी नहोस् भन्ने रहेको हुन्छ ।

आफ्नो चिन्तन खराब नगराई सधैं सुख र आनन्दमा बितोस् भन्ने पनि हुन्छ । तर समय सधै अकनाशको हुँदैन । समय मेरो बशमा छ भनी चिन्तन मा सुख र दुःखको व्याख्या र विश्लेषण गर्दै यस भूमरीभित्र परेर विचारलार्ई स्वार्थपरक अवस्थामा लैजानु हुँदैन यस्तो सोछ गर्नु भनेको आफूले आफैंलार्ई धोका दिनु हो । कुनै पनि कर्मलार्ई समस्याको रुपमा हेरि म यो कहिले गरुला कसरी गरुला, सम्भव होला कि नहोला, यसमा अरुले सहयोग गर्लान् कि नगर्लान्, भनी सोचाइ राख्ने, केही गरौँ यो काम हुन सकेन भने मेरो अस्तित्वमाथि कस्तो प्रश्न चिन्न खडा होला भनेर चिन्तित भइरहने र यही सोचमा डुबिरहने हो भने यसले न त कर्ममा शुद्धता प्रस्टिन्छ नत्र समाधानको उपाय नै पत्ता लगाउन सकिन्छ । यस्तो सोचले उल्टै मानसिक चिन्तनमा खलबल तु¥याउँछ ।

मानसिक रुपले सोचमा विकृति आउनु भनेको अशान्तिको बादल मडारिनु हो । दुःखी हुनु हो । यस्तो भ्रमित मनले गरेको कर्ममा सार्थकता पाउन मुस्किल परेको हुन्छ । यसले न त स्वस्थ विचार उत्पन्न गर्ने अवसर जुटाउँछ नत्र आन्तरिक र बाह्यि आवरणमा खुसी नै ल्याउँछ । मलिन चेहेराभित्र जबरजस्ती ल्याएको हाँसोले प्रदर्शन गरेको खुसी झैँ क्षणिक हासो आए पनि यस्तो स्थितिमा पीडित भएर पनि खुसी छु भनी आडम्बर देखाइरहेको अनुभूति हुन्छ । मन मस्तिष्कभित्र लुकेको पीडाले मानिसलार्ई कहिले सहज अवतरण दिँदैन । जहाँ प्राप्त अवसरको सदुपयोग गरिँदैन, मनमा भ्रान्ति उत्पन्न भइरहन्छ, त्यहाँ शान्ति र सद्भाव पनि देखा पर्दैन । मानिस भित्रभित्रै सडिरहने अवस्था रहन्छ । त्यस्तो परिस्थितिमा सकारात्मक सोच आउनै सक्दैन ।

त्यसैले स्वस्थ र सफा मुड बनाई खुसी प्राप्त गर्नका लागि हरक्षण सोच र स्वभावमा सकारात्मक भाव उत्पन्न भइरहने चिन्तन गर्नुपर्दछ । आफूलार्ई आध्यात्मिक सत्सँगभित्र परिभाषित हुने अवसर जुटाइरहनु पर्दछ । आध्यात्मिक संगत गरिरहनु भन्नुको मतलब सधैंभरी रुद्राक्षको माला लगाई रामराम जपिरहनु भनेको पनि होइन । ठूला–ठूला विद्वान र महापुरुषले मार्ग निर्देशन गरेको चरित्रभित्र आफूलार्ई लैजाने भनेको मात्र हो । जीवनमा त्यही व्यक्ति सफल हुन्छ जसले स्वभाव र विचारमा समय सापेक्ष परिवर्तित गरिरहन्छ । भित्र र बाहिर एउटै सोच र व्यवहारमा अटल रहन सक्छ । तसर्थ प्रत्येक व्यक्तिभित्र रहेको चैतन्य शक्तिलार्ई चिनेर प्रेमले प्रेम, दयाले दया, सेवाले सेवा र सकारात्मक सोचले सकारात्मक सोच, ल्याउन सक्ने सत्यलार्ई बुझी आफू खुसी र आनन्दित हुन सक्नुपर्दछ ।

गुण र दोषलार्ई छुट्¥याउन सक्ने क्षमता प्रदर्शन गर्न सक्नुपर्दछ । मानिस देख्दामा राम्रो चिटिक्क परेको, गोरो सलक्क परेको देखिँदैमा, उ खुसी र आनन्द छ, भन्न सकिँदैन । व्यक्तिको पहिचान सौन्दर्यबाट हैन कर्म र व्यवहारमा अडेको हुन्छ । त्यसैले ज्ञानीको संगतले ज्ञानी, बदमासको संगतले बदमास, हुने सत्यलार्ई ग्रहण गरी सत्यमा आधारित जीवनचक्रमा गतिशील रहन सक्नुपर्दछ । खुसी, जीवनलार्ई सहज बनाउने आधारशिला हो । ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ, त्यसै भनिएको होइन । ज्ञानभित्र खुसी छ । चञ्चल मनलार्ई एकाग्र गराउने शक्ति छ । जीवन उपयोगी मार्गको लागि विश्लेषणात्मक चिन्तन छ । अन्त मनलार्ई शुद्ध र पवित्र बनाउँदै जीवन खुसी र उमंगको पहिचान गराउन सक्ने आदर्श छ ।
त्यसैले ज्ञानीको संगतबाट प्राप्त हुने खुसी र आनन्दको अनुभूतिलार्ई जीवनको गतिसँगै गतिशील बनाई राख्नुपर्दछ । जब खुसी मनले विवेकलार्ई सत्कर्म र आदर्शतर्फ डो¥याउन सुरु गर्दछ, तब आन्तरिक विकार स्वत खतम हुँदै जान्छ । मानिस स्वयम् पवित्र बन्दै जीवन र जगतलार्ई हेर्ने दृष्टिकोणमा सकारात्मक भाव उजागर हुँदै जान्छ । हुन त सुख र आनन्दले मानवीय जीवन पद्धतिमा उल्लास, हौशला, उत्पन्न गर्न सक्छ पनि भनिन्छ । जहाँ सुख प्राप्तिको अभिलाषा हुन्छ त्यहाँ स्वार्थले मानिसको मन बुद्धि र विवेकमा विकृति पनि ल्याउँछ भनिन्छ तर आध्यात्मिक शक्तिले त्यस्तो अवस्था आउन नदिरहेको अवस्था हुन्छ ।

फेरि खुसी हुनुको मतलब सुख र आनन्द मात्रै प्राप्त गर्नु हो । भन्ने पनि होइन । खुसी हुनु भनेको चिन्तारहित हुनु हो । आनन्दले सधैं आनन्दको खोजी गरिरहेको हुन्छ । अरु बढी आकान्छा हुँदा यसले चिन्ता उत्पन्न गर्न पनि सक्छ । अर्को कुरा देखेको सबै वस्तु सत्य पनि हुँदैनन् । त्यसमा कहीँ न कहीँ दुर्गन्ध हुन सक्छ । यो सत्यलार्ई बुझ्न जरुरी छ । जीवन छोटो छ । यो चलायमान छ र यसमा विविध जिम्मेवारी र समस्या पनि छन् भनी आउने समस्यालार्ई अवसरको रुपमा प्रयोग गरी जीवनलार्ई सहज गति दिन आत्मा स्वरुप सचिदानन्द भाव जागृत गरिरहनु पर्दछ ।

जहाँ स्वच्छता, पवित्रता, आदर्शता र धैर्यता एवं लगनशीलता छ, त्यहाँ खुसी छ भन्ने आदर्शलार्ई बुझी खुसी हुन जान्नुपर्दछ । मोह र मोहबाट उत्पन्न हुने अनावश्यक वस्तु प्राप्तीतर्फ ध्यान केन्द्रित गर्नु भनेको आफै दिग्भ्रमित हुनु हो । तसर्थ म स्वच्छ र पवित्र छु भन्ने भावना जागृत गरी आफुले निर्वाह गर्ने प्रत्येक कर्म निस्वार्थीमा आधारित हुने गरी आफूलार्ई समर्पित गर्नुपर्दछ । मानव मनको पवित्रतालार्ई विवेकको कसौटीमा निखारी खुसी हुन जान्नुपर्दछ । कर्म र बानीले सबैलार्ई समान दृष्टिले हेरी प्रेम र आत्मयतासँग एक अर्काबिच सामिप्यता जनाई सम्मान गर्न सक्नुपर्दछ ।

जहाँ समानताको अवसर पैदा हुन्छ त्यहाँ स्वार्थ र मोह स्वत समाप्त हुन जान्छ र मानिस आफैमा खुसी र आनन्दको अनुभव गर्न पुग्दछ । यदि कुनै अप्रत्यासित कर्मले आफूलार्ई दुःखी बनाउने परिस्थिति जन्मने अवस्था सिर्जना हुन थाल्यो भने त्यस बेलामा माफी माग्न सिक्नुपर्दछ । अरुले गल्ती ग¥र्यो र माफि मागेन भनेर कहिले सोच्नु हुँदैन । आफूले आफैलार्ई सकारात्मक चिन्तनका साथ प्रस्तुत गर्नुपर्दछ । आगोमा घिउ पग्लिएर आफै नाश भएझैँ बाह्य विकार स्वत खतम हुँदै जाने स्थितिलार्ई बुझेर सधैँ खुसी भइरहनु पर्दछ । हेराइ र देखाई, सुन्दरता र सोचाइमा सकारात्मक भाव जगाई शिष्टता, स्पष्टता, स्वच्छता र पवित्र धारणाको विकास गर्नुपर्दछ । यसबाट नै जीवनले उत्तम गति लिन सक्छ । प्रत्येक मानव आत्माको चाहना पनि यही हो । अस्तु ।