दाङ, ९ पुस । बंगलाचुली गाउँपालिका वडा नं। ३ र ४ मा सञ्चालित सम्राट सिमेन्ट उद्योग र सगरमाथा सिमेन्ट उद्योगको चुनढुङ्गा उत्खनन खानीबाट प्रभावित स्थानीय किसानले आन्दोलनको चेतावनी दिएका छन् ।
बंगलाचुली गाउँपालिका न्यायिक समिति, स्थानीय पीडित किसान र सिमेन्ट उद्योगका विचमा भएको सहमति कार्यान्वनमा ढिलाई भएको भन्दै स्थानीय यहि पुसको ११ गतेसम्म सहमति कार्यान्वयन नभए सशक्त आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन् ।
बंगलाचुली गाउँपालिका अध्यक्षलगायतका जनप्रतिनिधि, खानी प्रभावित किसान र सिमेन्ट उद्योगका प्रतिनिधिको उपस्थीतिमा २०८१ बैशाख २ गते बसेको न्यायिक समितिको बैठकमा कार्तिक महिनाभित्र खानी प्रभावित क्षेत्रका किसानको जग्गा खरिद प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । तर सहमति अनुसार सिमेन्ट उद्योगले अहिलेसम्म पनि जग्गा खरिद प्रक्रिया अगाडी नबढाएपछि स्थानीय आन्दोलनको तयारीमा जुटेको बंगलाचुली गाउँपालिका वडा नं। ६ निवासी स्थानीय डोमबहादुर महराले जानकारी दिएका छन् ।
महराका अनुसार सम्राट सिमेन्ट उद्योग र सगरमाथा सिमेन्ट उद्योगले खानीबाट चुनढुङ्गा उत्खनन गर्दा दाङवाङ खोला खेतमा रहेको किसानले जग्गामा क्षति पुगेको भन्दै २०७९ बैशाख २८ गते बंगलाचुली गाउँपालिकाको न्यायिक समितिमा क्षतिपूर्तिको माग गर्दै निवेदन दिएका थिए । त्यसपछि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि, प्रभावित किसानसँगै सिमेन्ट उद्योगका प्रतिनिधिहरूको उपस्थितिमा पटक–पटक भएको छलफलमा भएको सहमति अनुसार जग्गा खरिद प्रक्रिया अघि बढाउनुपर्ने भएपनि नबढाएको भन्दै पीडित जनताले आन्दोलनको चेतावनी दिएका छन् ।
सहमति अनुसार कात्तिक महिनामा जग्गा खरिद प्रक्रिया अगाडी नबढाएपछि मंसिर २१ गते भएको प्रभावित किसानहरूको बैठकले पुस महिनाको पहिलो हप्ताभित्र जग्गा खरिद प्रक्रिया सुरु नभए गाउँपालिकामा धर्नासहित सिमेन्ट उद्योगका लागि चुनढुंगा बोक्ने टिप्परहरु चल्न नदिनेलगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
आन्दोलनका कार्यक्रम बारेमा स्थानीयले बंगलाचुली गाउँपालिका,जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय कमिरेचौरसँगै सगरमाथा सिमेन्ट उद्योग र सम्राट सिमेन्ट उद्योगको कार्यालयलाई समेत बुझाएको खानी प्रभावित पीडित किसानले बताएका छन् ।