बृद्धबृद्धाहरुलाई भत्ता लिनै सकस : भोको पेटमा अधैर्य प्रतीक्षामा

तुलसीपुर, १५ बैशाख । ‘कहिले कागज मिलेन, गाविस खुलेन, अहिले बैंकले कुराएको छ’ तुलसीपुर उपमहानगरपालिका–११ उरहरीबाट बृद्धभत्ता लिन आएकी पुनी विकले भनिन् । भोको पेटमा पुनीसँगै दुई दर्जनभन्दा बढी बृद्धबृद्धाहरु थिए । दिउँसोको चर्को घाममा उनीहरुले सामाजिक दूरी कायम गर्न सक्दैनथे । भत्ताको पालो कुर्न र घाम छल्न उनीहरु बैंक भवनको छहारीमा पेटीभरी बसिरहेका छन् ।

‘हिजो अक्षय तृतीयाका दिन बनाएको सातुको नास्ता खाएर विहान ९ बजे नै अटोमा चढेर यहाँ आइपुगेका हौं, अहिलेसम्म एकजनाको पनि पालो आएको छैन’, पुनी विकसँगै आएकी राधी डाँगीले भनिन् । भोको पेट कोक्याउन लाग्दा पनि बैंकका हाकिमले नबोलाएकोमा उनीहरुलाई कोरोनाको कहरभन्दा पनि भोकको चपेटो थियो । दाँत हुनेहरुले चाउचाउ चपाइरहेका थिए, नहुनेले पेटीमै आराम गरिरहेका थिए । केही अटोभित्रै स्थान सुरक्षित गरिरहेका थिए, घाम छल्न ।
‘लकडाउनमा घरघरमै भत्ता पु¥याइदिएको भए कति खुसी हुन्थ्यौं, राहत पुराउन हुन्छ र भत्ता पुराए पनि हुन्थ्यो नि ?’, बैंकले गरेको ढिलासुस्तीभन्दा पनि जनप्रतिनिधिहरुप्रति उनीहरुको आग्रह थियो । उमेरले असी पुगेका जीवराज ढकाल भन्छन्– ‘बैंकले त सधै ढिलासुस्ती नै गथ्र्यो, कहिले यो मिलेन, कहिले उ मिलेन भनेर, यसपाली त लकडाउनले पनि दुःख दियो । विश्व स्वास्थ्य संगठनले दीर्घरोगीहरु, बालबालिकाहरु र बृद्धबृद्धाहरुलाई कोरोनाको उच्च जोखिममा राखेको छ । उनीहरुलाई सकभर संवेदनशील क्षेत्रमा हिँड्डुल नगर्न सुझाव दिएको छ । तर जिल्लाका स्थानीय सरकारहरुले यो आग्रहलाई मनन् गर्न सकेका छैनन् । चार–चार महिनामा पठाइने सामाजिक सुरक्षा भत्ता सहजताका लागि बैंक मार्फत भुक्तानी अनिवार्य गराइयो । पारदर्शिता र सुशासनका लागि सम्बन्धित वडाबाट दिइँदै आएको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत उपलव्ध गराउन थालियो । तर यसको मारमा बृद्धबृद्धाहरु परेका छन् । ‘भत्ता लिन एक्लै आउन पनि सम्भव छैन, त्यसैले नाति÷नातिनीलाई समेत सँगै ल्याउनुपर्ने अवस्था छ, यसलाई स्थानीय सरकारले अलि सजिलो बनाइदिए हुन्थ्यो’, तुलसीपुरको ज्योति विकास बैंकमा भेटिएका बृद्ध ओवसिंह विकले भने । लकडाउन खुल्ला भनेर बाटो कुर्दा कुर्दै पकेट खर्चविहीन भएपछि बृद्धबृद्धाहरुले भत्ताका लागि बैंकमा आउन बाध्य भए । तर बैंक पनि कहिले खुल्ने त कहिले नखुल्ने भएकाले उनीहरुले थप समस्या भोग्दै आएका छन् ।
पछिल्लो समयमा बैंकले पनि सम्बन्धित पालिकाहरुलाई संख्या तोकेरै सामाजिक सुरक्षा भत्ता लिन पठाइदिन अनुरोध गरेपछि पालिका तथा वडा सरकारले बैकले बोलाएको दिनमा मात्र भत्ता लिन जान भनेपछि भीडभाड पनि बढेको हो । त्यसलाई बैंकले पनि फास्ट ट्रयाकको व्यवस्थापन गर्न सकेको छैन । जिल्लाका सबै स्थानीय सरकारहरुले पायक पर्ने बैंकबाट सामाजिक सुरक्षा भत्ता व्यवस्थापन गर्ने बताएका छन् । यसैबीच बैक व्यवस्थापनले एकैपटक धेरै व्यक्ति आएकाले सामाजिक दूरी कायम गर्न नसकिएको बताएको छ । बैंकका अनुसार सामाजिक सुरक्षा भत्ता लिन बिहान ११ बजे बोलाइए पनि सेवाग्राहीहरु बिहान ६ बजे नै बैंक परिसरमा पुगेका थिए । लकडाउनका कारण न्यून कर्मचारीबाट काम चलाउँदै आएको बैंकले सेवाग्राहीहरुको भौचर भरिदिनेलगायत नागरिकताको फोटोकपी समेत गरिदिनुपर्ने भएकाले भुक्तानीमा ढिला भएको जनाएको छ । ‘सातामा एक दिन मात्र खोल्न केन्द्रले निर्देशन दिएको छ, नियमित कामसँगै भत्ता बुझ्न पनि कम्तीमा २ सयको संख्यामा एकैपटक आउँदा केही असहज भएको हो’, बैंकका तुलसीपुर शाखा प्रमुख डिल्लीबहादुर खत्रीले भने । अर्कोपटक भीड व्यवस्थापन हुनेगरी सेवा प्रवाह गर्ने पनि उनले प्रतिवद्धता जनाएका छन् ।

लकडाउनसगै आलोपालो
यसैबीच निजी क्षेत्रबाट सञ्चालित बैंकहरुले लकडाउन घोषणा भएसँगै आलोपालो मिलाएर सेवा प्रवाह गर्दै आएका छन् । एक महिनासम्म लकडाउनमा बस्दा बेखर्ची भएका र बैंक कारोबार गर्न सेवाग्राहीहरु आतुर भए पनि बैंकहरुले सेवालाई हप्तैभरी नियमित बनाउन सकेका छैनन् । केन्द्रीय कार्यालयको निर्देशनबमोजिम सातामा एकदेखि दुई दिन मात्रै यस्ता बैंकहरुले सेवा दिने गरेका छन् । ‘हामीले सेवाग्राहीहरुको चाप, आवश्यकता र केन्द्रको निर्देशनबमोजिम सातामा दुई दिन सेवा दिने गरेका छौं’, मेघा बैंक घोराहीका प्रमुख तथा बैंकर्श क्लवका सचिव शरद अधिकारीले भने । निजी क्षेत्रका बैंकहरुले आफ्नो सेवा क्षेत्र र अनुकूलता हेरेर सातामा एक दिन वा सोभन्दा बढी सेवा दिने गरेको बताइएको छ । कुनै पनि निजी बैंकहरुले अझैसम्म दैनिक सेवा प्रवाह गरेका छैनन् । जिल्लामा स्थानीय पालिकाका कार्यालयहरु, मालपोत तथा नापी कार्यालयहरुलगायतका कार्यालयहरु सोमवारदेखि सञ्चालन भए पनि बैंकिङ सेवा भने नियमित नहुँदा सेवाग्राहीहरु समस्यामा पर्ने अवस्था देखिएको छ ।