गोरक्ष समाचारदाता
दाङ, ८ पुस । नागरिक समाज दाङले चालु आर्थिक वर्षको पाँच महिना बितिसक्दा पनि भौतिक पूर्वाधारका क्षेत्रमा विनियोजित विकास बजेट खर्च निराशाजनक रहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । समाजका जिल्ला संयोजक निमबहादुर थापाको अध्यक्षतामा आइतवार घोराहीमा बसेको नियमित बैठकले विकास निर्माणका लागि विनियोजित बजेटको समयमा सदुपयोग हुन नसक्दा पुँजीगत खर्च कमजोर देखिएकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
विकासका लागि विनियोजन भएको बजेट समयमा खर्च नहुँदा यसले बजेट असन्तुलनको अवस्थामा पुग्ने भन्दै लक्षित कार्यक्रम निर्धारित समयमा सम्पन्न गरेर पुँजीगत खर्चमा सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको हो । प्रदेश सरकारको पछिल्लो पाँच महिनाको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमध्ये साढे १० प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । यसैगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानबिन आयोग गठन प्रक्रिया फेरि अन्योलको स्थितिमा पुगेको भन्दै चाँडो आयोग गठन गरी द्वन्द्वपीडितलाई न्याय दिन माग गरेको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिए ।
आयोगमार्फत् द्वन्द्वपीडितको समस्या टुङ्गोमा पु¥याउँदै उनीहरूको पीडा अन्त्य गर्ने प्रयास लामो समयदेखि हुन नसकेको हुँदा चाँडो आयोग गठन गरी पीडामा मल्हम लगाउने काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ । जिल्लाका विभिन्न सडकको अवस्था जीर्ण, सार्वजनिक सवारीमा क्षमताभन्दा बढी राख्ने प्रवृत्ति, मापदण्ड विपरीत उच्च भारवहनका सवारी, ट्राफिक नियमविपरीत साना तथा ठुला सवारी चलाउने प्रवृत्ति बढ्दै गएकोप्रति ट्राफिक व्यवस्थापन चुस्त र प्रभावकारी बनाउन नागरिक समाजले ध्यानाकर्षण गराएको छ ।