मेयरकप फुटबल : वडा नं. ३, १५ र १६ विजयी

गोरक्ष समाचारदाता
दाङ, ८ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत आइतवार तीन खेल सम्पन्न भएका छन् । लिग चरणका खेल अन्तर्गत आइतवार भएको खेलमा वडा नम्बर १६, वडा नं. ३ र वडा नं. १५ विजयी भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुर फुटबल मैदानमा भएको वडा नं. १६ र वडा नं. ६ बिच भएको बिहान ११ बजेको पहिलो खेलमा वडा नं. १६ ले १–० ले वडा नं. ६ लाई हराएको हो । वडा नं. १६ का लागि जलन चौधरीले गरेको एक गोल निर्णायक बन्यो ।

यसैगरी दिउँसो १ बजे भएको दोस्रो खेलमा वडा नं. ३ ले वडा नं. १९ लाई ७–३ गोल अन्तरले हराएको छ । वडा नं. ३ का लागि निशान घर्तीले ३, आकाश रोका, अभिषेका नेपाली, एलिस नेपालीले १–१ गोल गर्दा वडा नं. १९ का मनोज सुनारले आत्मघाती गोल गरे । वडा नं. १९ को तर्फबाट गंगाराम रायमाझी, छविलाल खड्का र मनोज सुनारले १–१ गोल गरे । यसैगरी प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा वडा नं. १५ ले वडा नं.८ लाई १०–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । वडा नं. १५ का सुशील बानियाले ह्याट्रिक सहित ५ गोल गर्दा बिक्की घर्ती, देव वली, शेखर विक, बादल योगी, जीवन बुढाथोकीले समान १–१ गोल गरे । जितसँगै वडा नं. १६, ३ र १५ ले ३÷३ अङ्क जोडेका छन् ।

घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत सोमवार तीन खेल हुनेछन् । जसमा वडा नं. ४ र १३ बिच बिहान ११ बजे, वडा नं. ७ र १ बिच दिउँसो १ बजे र वडा नं. ५ र १४ बिच अपराह्न ३ बजे खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक नरेन्द्र पुनले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गतका लिग चरणका खेल पुस १६ गतेसम्म हुनेछन् । चार समूहमा विभाजन गरी खेलाइएको लिगकम नकाउट प्रतियोगितामा समूहको उत्कृष्ट दुईमा पुग्ने टिम क्वाटर फाइनलमा जानेछ । क्वाटर फाइनलका खेल पुस १८ र १९ गते हुने छ । सेमीफाइनल खेल पुस २१ गते हुने छ भने फाइलन खेल पुस २३ गते हुने छ ।