लकडाउनको अबधी फेरि बढाइएको छ । कोरोना बिरुद्धको लडाईमा सफलता पाउनका लागि सामाजिक दूरी कायम गर्नु नै उपयुक्त उपायका रुपमा अहिले बिश्वभर स्वीकार गरिएका कारण लकडाउनको निरन्तरता उचित छ । लकडाउनलाई वेवास्था गर्दा इटलीले शुरुमा र अहिले अमेरिकाले सबैभन्दा धेरैलाई गुमाउन परेको पीडाले पनि हामीलाई लकडाउनलाई एउटा उपायका रुपमा लिन दवाव नै सिर्जना गरेको अनुभूति भैरहेको छ । त्यसैले सरकारले फेरि पनि लकडाउनको अबधी थपेको छ । यसको सही कार्यान्वयन गर्ने कुरामा कुनै शैका छैन । तर, हामीले केही कुरामा भने ध्यान दिनुपर्ने हुन्छ ।
पहिलो कुरा, लकडाउन हुँदाहुँदै पनि ५२ जनामा संक्रमण देखियो । सडकमा पैदल घर फर्कनेहरुको भिड हटेको छैन, यसबारेमा सरकारको कुनै धारणा आएको छैन । मन्त्रीहरु स्वयं गाडी खोजेर उनीहरुको उद्दारमा लागेका छन् । यी दुई मुख्य चुनौतिलाई सम्बोधन गर्ने बलियो रणनीति सरकारले अबिलम्ब निर्माण गर्नुपर्छ । आडिटीको अनभव सोंचेजति राम्रो भैरहेको छैन । परीक्षणको दायरालाई अझ कसरी व्यापक गराउने भन्ने बिषयमा पनि अझै सोंच्नुपर्ने देखियो । अहिलेसम्मको सबै कुराको समिक्षा गर्दै नयाँ रणनीतिका साथ जानु पर्ने हो कि? यता तर्फ पर्याप्त छलफलको आबश्यकता महसुस भैरहेको छ । अब समस्या नागरिकस्तरमा छैन, अहिलेसम्म नागरिकहरु लकडाउनका लागि अभ्यस्त भैसकेका छन् । कसरी दिन कटाउने र यो समयमा के गर्ने भन्ने बारेमा उनीहरुले धारणा बनाएर त्यही अनुसार दिनहरु व्यथित गर्दै छन् । अब कसरी लकडाउन खुला गरेर यहाँको जनजीवनलाई स्वतन्त्रततापूर्वक अगाडि बढाउने उपायहरुको खोजी गर्न पनि अब सरकारले सोच्नु पर्दछ । बैशाख २५ पछि सामाजिक दूरी कायम गर्दै जनजीवन सहज बनाउने उपायहरु पहिल्याउनु पर्दछ । आर्थिक कारोवार, उत्पादन सबै क्षेत्र अझ पनि ठप्प हुने हो भने, नागरिकहरुले आफ्ना आयआर्जनका अबसरहरुसंग जोडिन अझै पनि समय लाग्ने हो भने भयावह अबस्था आउन सक्ने तर्फ पनि ध्यान पुराउन अब बिलम्ब गर्नु हुँदैन ।
छिमेकी देश भारतमा संक्रमितको संख्या बढ्दै गर्दा र त्यहाँ अझै लकडाउन जारी राख्दा नेपालले पनि आफ्नो रणनीतिलाई बलियो बनाउन आबश्यक हुन्छ । सिमा खुल्ला भएका कारण एउटा जटिलता हाम्रा लागि छ नै । यसमा दुई देशका बिचमा गंभिर परामर्श गरेर कोरोना बिरुद्धको लडाइमा साझा रणनीति बनाउने तर्फ पनि सोंच्न पर्ने हुन्छ । यी सबै संभावना र अबस्थाहरुलाई मध्यनजर गर्दै योजना बनाउने तर्फ अब सोचौं । बिकल्पहरुमा अब छलफल गर्नै पर्छ । थपिएको १० दिनको समय पिसीआर परीक्षणलाई अझ व्यापक रुपमा समुदाय स्तरमा लैजान र बिकल्पहरुमा खुला छलफल गर्नका लागि सदूपयोग गर्न सकियोस् ।