कांग्रेस क्षेत्र नं. १ ले कार्यकर्ता भेटघाट गर्ने

टेकबहादुर पुन
देउखुरी, ७ पुस । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्राधिकारभित्र प्रत्येक पालिकामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । क्षेत्रीय समितिको शनिबार लमहीमा सम्पन्न बैठकले देउखुरीका चार पालिकामा ८ गतेदेखि ११ गतेसम्म विशेष कार्यकर्ता भेटघाट कार्यक्रम गर्ने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयबमोजिम देशैभर कार्यक्रम भइरहेको र सोही अनुरूप आफ्नो क्षेत्रमा कार्यक्रमको आयोजना गर्न लागिएको क्षेत्रीय सभापति भेषराज पाण्डेयले जानकारी दिए । बैठकले ८ गते गढवा गाउँपालिका, ९ गते राजपुर, १० गते राप्ती र ११ गते लमही नगरपालिकामा कार्यक्रमको गर्ने निर्णय गरेको छ । बैठकले कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्तिलाई जिम्मेवारी तोकेको छ ।

जसका लागि गढवा गाउपालिकामा क्षेत्रीय उपसभापति श्रीपत चौधरी, राजपुर गाउँपालिकामा सहसचिव प्रकाश जिसी, लमही नगरपालिकामा क्षेत्रीय सचिव खेम चौधरी, राप्ती गाउँपालिकामा क्षेत्रीय सचिव हरिहर शर्मा, घोराही उपमहानगर पालिका अन्तर्गत क्षेत्र नं. १ मा पर्ने १, २, ३ र ५ नम्बर वडामा क्षेत्रीय उपसभापति दिनेश गिरी संयोजक रहने गरी जिम्मेवारी बाँडफाँड गरिएको छ । दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेयको सभापतित्वमा बैठक भएको हो ।

लमही–९ मा अभियानको समापन

लमही नगरपालिका वडा नम्बर ९ मा प्रशिक्षण दिँदै सय दिने अभियानको समापन गरिएको छ । देश र जनताप्रति कांग्रेसको योगदान, कांग्रेसको इतिहास, मूल्य मान्यता, एजेन्डा, आफ्नो दायित्व, जिम्मेवारीलगायतका विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रमको प्रशिक्षकमा नेपाली कांग्रेस दाङ सचिव अर्जुन योगी र शिक्षक संघ दाङका सचिव निशान्त आचार्य रहेका थिए । प्रशिक्षण दिँदै उनीहरूले वर्तमान स्थितिमा सधैँ जनताको पक्षमा रहेर जनताकै काम गर्नुपर्ने कुरामा जोड दिए ।

सय दिने अभियानको समापन गर्दै जिल्ला प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधि मोहन गिरीले कांग्रेसी कार्यकर्ता सशक्त भएर जिम्मेवार बन्नु पर्ने बताए । देश बनाउने जिम्मा कांग्रेस पार्टीलाई भएका कारण वडा तथा टोलटोलमा रहेका समितिहरू सशक्त भएर जनताको काममा तल्लीन हुनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गिरीले कांग्रेसले गरेका राम्रा कामको प्रचार गर्न नसक्नु नै जिम्मेवारीबोध हुन नसकेको जिकिर गरे । उनले गरेका कामको प्रशंसा गर्दै जानु पर्ने र यस वडामा भए गरेका समस्या समाधानका लागि तत्काल माथिल्लो तहमा पु¥याइने बताए । यस वडाका शिक्षा, स्वास्थ्य, बाटोघाटो, सञ्चारलगायतका क्षेत्रमा थप स्तर वृद्वि गरिने बताए ।

नेपाली कांग्रेस लमही–९ का वडा सभापति लीलाधर खड्काको सभापतित्वमा भएको कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिबासी संघ दाङ क्षेत्र नं. १ का सभापति कृष्ण थापा, क्षेत्रीय प्रतिनिधि सीताराम केसी, श्रीराम दहितलगायतका वक्ताले बोलेका थिए । नेपाली कांग्रेस लमही नगरका सहसचिव खिमबहादुर योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सहसचिव नवराज वलीले गरेका थिए ।