गोरक्ष समाचारदाता
काठमाडौं, ७ पुस । अमेरिकी ब्याट्सम्यान लाहिरू मिलान्थाले अर्धसतकीय पारी खेलेपछि नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिम रोयल्सलाई पाँच विकेटले हरायो ।
जितसँगै जनकपुरले एक करोड १० लाख रुपैयाँ जितेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाएको छ । च्याम्पियन बन्न एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि मिलान्थाले सर्वाधिक ८७ रन बनाएका थिए । उनले ४९ बलमा नौ चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउन सफल भए । यससँगै मिलान्था एनपिएलमा सर्वाधिक दुई सय ९३ रन बनाउने पहिलो ब्याट्सम्यान समेत बने । मलिान्था प्लेयर अफ दि म्याच भए । यस्तै कप्तान आरिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रनको योगदान गरेका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । सुदूरपश्चिमका लागि सईफ जैवले अर्धशतकीय इनिङ्स खेलेका थिए । जैवले ६९ रन बनाए । ४३ बलमा आठ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउन सफल भएका थिए भने विनोद भण्डारीले ४१ रन बनाएका थिए । उनले ३१ बलमा एक चौका तीन छक्काको सहयोगमा उक्त रन जोड्न सफल भए ।
पहिलो विकेटका लागि जैव र भण्डारीले एक सय १७ रनको साझेदारी गरेका थिए । यस्तै हर्मित सिंह र ब्रान्डन म्याकमुलनले १४÷१४, स्कट कुग्लेजिनले १३, कप्तान दीपेन्द्रसिंह ऐरीले नौ, नरेश बुढाऐरले आठ र इशान पाण्डेले ६ रन बनाए । बलिङमा जनकपुरका मोहमद मोसिन र किशोर महतोले तीन तीन विकेट लिए । यस्तै ललित राजवंशी र जेम्स निसमले एक एक विकेट लिएका हुन ।
जनकपुरले सुदूरपश्चिमसँग यसअघि दुई खेलमा हारेको बदला समेत लिएको छ । यसअघि जनकपुर सुदूरपश्चिमसँग लिग चरणमा ७२ रन र पहिलो क्वालिफायरमा आठ विकेटले पराजित भएको थियो । २० हजार दर्शकको साथ पाएको फाइनल खेलमा जनकपुरले आफुलाई बास्तविक उपाधिको हकदारको रुपमा उभ्याउन सफल भएको हो । आठ वटा फ्रोन्चाइज टोली सहभागी रहेको एनपिएलमा प्लेअफमा पुगेको कर्णाली याक्स तेस्रो र चितवन राइनोज चौथो भएका थिए । कर्णालीले २५ लाख र चितवनले १५ लाख रुपैयाँ पुरस्कार पाप्त गरेका थिए ।
नेपाल प्रिमियर लिग (एनपिएल) को उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पुरस्कार जितेका छन्। ऐरीले एनपिएलका कुल ९ खेलमा ९ विकेट लिँदै २२७ रन जोडेका थिए । चाइनिज कार ओमोडा इ–५ को मूल्य ६२ लाख रूपैयाँ छ । यसअघि नेपाल क्रिकेटले पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई कार दिने घोषणा गरेको थियो । क्यान, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले कार पुरस्कार दिने बताएका थिए । यस्तै ललित राजवंशी उत्कृष्ट बलर बन्दै बाइक पुरस्कार पाए । उनले प्रतियोगितामा १० खेलमा १७ विकेट लिए । सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा ललितसँगै सुदूरपश्चिमका स्कट कुगेलेइन पनि १७ विकेट लिए ।
कर्णाली याक्सका युवा बलर विपिनप्रसाद शर्मा इमर्जिङ खेलाडी घोषित भए । १६ वर्षीय विपिनले ८ खेलमा १३ विकेट लिएका थिए । उनले ५० हजार पुरस्कार प्राप्त गरे । ललित राजवंशीले उत्कृष्ट बलरबापत ५ लाख पुरस्कार पाए । सुदूरपश्चिमका सइफ जैइब प्लेयर अफ दि टुर्नामेन्ट भए । उनले २७५ रन र १२ विकेट लिए । उनले ५ लाख पाएका छन् । विजेतालाई नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल क्रिकेट संघका अध्यक्ष चत्तुरबहादुर चन्दलगायतले पुरस्कार वितरण गरेका थिए ।