गोरक्ष समाचारदाता
दाङ, ७ पुस । एकीकृत समाजवादी पार्टीका उपहासचिव एवं पूर्वमन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादीले सहि दिशा समातेको बताएका छन् । घोराहीमा शनिवार एकीकृत समाजवादी दाङका अगुवा नेता तथा कार्यकर्तासँग भएको अन्तरक्रिया कार्यक्रममा उपमहासचिव चौधरीले एकीकृत समाजवादी पाटी सही दिशामा रहेको बताएका हुन् ।
दाङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरीले पार्टी आफ्नो सिद्धान्तमा रहेर अघि बढेको भन्दै भने, ‘हाम्रो पार्टीले बिचार, सिद्धान्तका हिसाबले सही लाइन समातेको छ । यस हिसाबले पार्टीको दिशा ठिक छ । नेता पनि ठिक छन् ।’ महाधिवेशनदेखि केही महिना यता केन्द्रमा अलमल जस्तो देखिए पनि अहिले सबै समस्या समाधान भएको उपमहासचिव चौधरीले बताए । पार्टीमा देखिएका समस्या समाधान भइसकेको भन्दै नेता चौधरीले अव पार्टी निर्माणमा सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए । न्याय, समानता र जनजीविकाका पक्षमा पार्टीको ध्यान केन्द्रित हुने नेता चौधरीको भनाइ थियो ।
एकीकृत समाजवादीका दाङ अध्यक्ष भुपबहादुर केसीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा केन्द्रीय अनुशासन आयोगका सदस्य डा. अमर गिरी, केन्द्रीय सदस्य ससमती चौधरी, प्रेमबक्स मियाँ, रामप्रसाद चौधरी, ओमभक्त डाँगी, चिरञ्जीवी बुढाथोकी, रुद्रबहादुर बस्नेत, गजेन्द्र खड्का, मुकुन्द बहकरी, दामोदर लामिछानेलगायतले मन्तव्य राखेको एकीकृत समाजवादी दाङका प्रचार विभाग प्रमुख सूर्य बिसीले जानकारी दिएका छन् ।