गोरक्ष समाचारदाता
तुलसीपुर, ६ पुस । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका नव निर्वाचित केन्द्रीय अध्यक्ष खेमराज वलीले संविधानले हरेक नागरिकलाई शुद्ध खानेपानी प्राप्त गर्ने मौलिक अधिकारको प्रत्याभूति गरे पनि व्यवहारमा लागु हुन नसकेको बताएका छन् । प्रेस सेन्टर तुलसीपुर नगर समितिले आयोजना गरेको बधाई तथा पत्रकार भेटघाट कार्यक्रममा उनले अहिले पनि ७५ प्रतिशत नागरिकको पहुँचका खानेपानी रहेको भन्दै सो मध्ये ३५ प्रतिशतले मात्र शुद्ध खानेपानी प्रयोग गर्ने गरेको बताए ।
वलीले खानेपानी संस्थाहरू मुनाफारहित भएकाले राज्यले कर लगाउनु राम्रो नभएको बताए । अध्यक्ष वलीले विद्युत महसुलका कारण पानीको उत्पादन लागत बढी भई उपभोक्तालाई प्रत्यक्ष मार परिरहेकोले खानेपानीमा विद्युत महसुल पूर्णछुट हुनु पर्ने बताए । उनले अहिले सरकारले साना सहरी खानेपानी लागु भएका खानेपानी संस्थाबाट त्यसको व्याज धेरै लगाएकाले त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेको बताए । ‘सेवामूलक खानेपानी उपभोक्ता संस्थालाई नगर विकास कोषबाट प्रवाह भएको ऋण र व्याजमा पुनः समायोजन गरी सुलभ सेवा प्रवाह हुनु पर्छ, अहिले सो कारणले उपभोक्ताले धेरै रकम तिर्नुपर्ने समस्या छ’, वलीले भने ।
कार्यक्रममा सरकारले चारवटा मोडेलमा खानेपानी क्षेत्रमा काम गरिरहेको बताउँदै उनले कुनै मोडेलमा निःशुल्क छ भने कतै सशुल्क रहेको बताए । यसले नागरिकबिच विभेद पैदा गरेको उनको भनाइ छ । सबैलाई समान रूपले निःशुल्क खानेपानी उपलब्ध गराउनु सरकारको दायित्व रहेको वलीको भनाइ छ । यसैगरी वलीले ड्रिङ्किङ वाटर र युरोगार्ड प्रयोग गरी नागरिकले शुद्ध पानी पाएको भए तापनि त्यो प्रभावकारी नभएको बताए । ‘खानेपानी शुद्ध छ÷छैन भन्ने कुरा धेरै कुरामा भर पर्छ, मैले कुनै व्यवसायीलाई असर पार्ने कुरा गरेको होइन, त्यो भन्दा मुलकै पानी खानेपानीका लागि शुद्ध छ’, उनले भने । त्यसका लागि खानेपानी संस्थाले पुलदेखि विभिन्न वितरण प्राणालीलाई व्यवस्थित गरे सोही पानी नै शुद्ध हुने बताए । उनले महासंघको नेतृत्व गर्दै आफूले पूर्वप्रधानमन्त्रीसँग खानेपानीको समस्या सामाधानका लागि पहल गरेको भन्दै अब अन्य प्रतिनिधिसँग भेटघाट गरी समन्वय गर्ने योजना रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा निवर्तमान अर्थमन्त्री धनबहादुर मास्कीले सरकारले एक घर एक धाराको अभियान सुरु गरेको भन्दै केन्द्रीय तथा प्रदेशमा खानेपानी मन्त्रालय स्थापना गरी अर्बौँ रकम छुट्याउने गरेको बताए । उनले आफ्ना नागरिकलाई शुद्ध खानेपानी पु¥याउने राज्यको जिम्मेवारी रहेको भन्दै आफूले त्यसका लागि पहल गर्ने बताए । उनले वर्तमान सरकारको खानेपानीसम्बन्धी नीति र योजना अपर्याप्त भएको बताउँदै जनघनत्व बढ्दै जाँदा अनुकूल हुन नसकेको बताए । ‘प्रदेश सरकारले लुम्बिनीको १२ जिल्लामा एक घर एक धारा अभियान सुरु गरेको छ, यसलाई सार्थकता दिन हामी लाग्नुपर्छ’, मास्कीले भने । उनले राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाललाई आफ्नो क्षेत्रबाट सधै साथ सहयोग रहने समेत बताए ।
कार्यक्रममा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संसथाका उपाध्यक्ष सिताराम शर्मा, नेकपा माओवादी तुलसीपुरका इञ्चार्ज डिल्ली अधिकारी, नेता प्रेम प्रभात वलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रेस सेन्टर तुलसीपुरका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतमा भएको कार्यक्रममा अध्यक्ष वलीलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । प्रेस सेन्टर तुलसीपुरका उपाध्यक्ष विशाल परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव रीता केसीले गरेकी थिइन् ।
्