केपी सुवेदी
सडक दुर्घटना दिनप्रदिन बढिरहेको छ । कहिलेकाहीँ त सुन्दा अत्यासलाग्ने घटनाले मनलाई ठेगानमा राख्नैगाह्रो पर्नेगर्छ । घटनामा परिवारका सबैजनाले ज्यान गुमाएका हुन्छन्, या परिवारका सबैजनाको मृत्युहुंदा एकजना शिशु जीवित रहेको घटना अझकति हृदयविदारक हुन्छ जसको व्याख्या कुनैसब्दबाट हुन असम्भव हुन्छ ।
हाम्रोमा हवाई दुर्घटना पनि धेरै नै हुन्छ । चालकको लापरवाही होस या प्राविधिक गडबडीकै कारणले भए पनि धेरै भाग मानवीय कमजोरीबाट भएको हुन्छ । कहिलेकाहीँ जानाजान दुर्घटना भएको हुन्छ तर त्यसलाई शिक्षा सम्झेर अर्को पटक नदोहो¥याउन सकिने भए पनि त्यसको अनुसरण नगर्दा समान प्रकृतिको घटना पटकपटक दोहोरिराहुन्छ । दैनिक रुपमा घट्ने दुर्घटनाले यही कुरा दोह¥याएको हुन्छ तर पनि सचेतना कसैले अपनाउँदैन । अब त अति भइसक्यो सुनेर, देखेर, व्यहोरेर नचेत्ने चेतना हो कि अवचेतन हो कसरी बुझ्ने ? यो अनुशासनहीनताको पराकाष्ठा हो । सडक अनुशासन कायम हुन नसकेको कारण बढेको दुर्घटनाको अन्त्य गर्न ढिलो भइसक्यो ।
सडक अनुशासनहीनता बाहेक अन्य धेरै कारण सडक दुर्घटनामा जिम्मेवार छन् । पहिलो तङ्खव सडकको दूरावस्था हो र त्यसको जिम्मेवार सबैतहका सरकारहरु हुन् । सरकारमा बस्नेहरु गैह्रजिम्मेवार भए भने नागरिकले दुःख–कष्ट र अनाहकमा ज्यान गुमाउने अवस्था हुँदोरहेछ । आफ्नो र अर्काको भनेर काममा लगाउन छुट्याउनु पर्ने, कमिसनमा कुरा मिल्यो भने त्यसलाई दबाब दिन नैतिकताले नदिने, पावरलाई कमिसनले बसमा पारेपछि जति दिन ढिलो गरे पनि हदम्याद नलाग्ने, पेस्कीको वहानामा रकम बुझेर बेपत्ता हुन पाउने सुविधा पाएपछि सडकको बेहाल हुने नै भयो ।
सरकारभन्दा शक्तिशाली ठेकेदारहरु भएको मुलुकमा सडक मात्र होइन विकासका योजनाहरु अलपत्र छन् । यस्तो दयनीय अवस्था हाम्रो नियति हो । त्यसैले त्यसको उपभोग गर्न संयम् र धीरता नगुमाइ उपभोग गर्नु पर्छ भन्ने चेत नभएको कारण, अगाडिको जानकारी नहुँदा पनि उछिनेर अघि जान खोज्ने, सवारीसाधनको क्षमता विचारै नगरी यात्रुहरु चढाउने यात्रुबाहक वाहनका चालक–सहचालक र अर्को एउटा खतरनाक प्रवृत्ति चालकहरु निजी वा सार्वजनिक यातायात र ढुवानीका साधन चलाउनेले जवर्जस्ती गर्दा धेरैको ज्यान गएको छ र त्यस्ता साधनमध्ये टिप्पर तथा ट्रकहरु बढी देखिन्छ । ठुलोले सानोलाई हेप्ने र च्याप्ने प्रवृति पनि हाम्रोमा राम्रै मौलाएको छ । यो सोच सामन्ती सोच हो । हामी अरुको कुरा गर्छौँ आफूलाई हेर्न बिर्सिदिन्छौँ ।
सडक अनुशासन कायम राख्न एकल प्रयासले सम्भव नभए पनि मुख्य भूमिका सडक यातायात हेर्ने ट्राफिक प्रहरीको हुनु पर्छ । आजभोलि गुडिरहेका सवारी साधनमा प्रहरीको निगरानी कमजोर भएको छ कि, सडकमा सवारी गुडाउने चालकको लापरवाही बढेको छ यिनैमध्ये केही कारण हुन सक्छ । यसरी दुर्घटनामा वृद्धि हुने । किनभने मानिस स्वयम् अनुशासित हुन सभ्य समाज चाहिन्छ । सभ्यता र संस्कारी समाजको परिकल्पना गरेर मात्र बन्न सम्भव हुँदो रहेनछ ।
बाहिरतिर कामकाजको सिलसिलामा या घुमेर देखेर आएकाले केही दिन अरुलाई कहानी सुनाउने गरे पनि केही दिनमा फेरि पहिलेकै यथास्थितिमा रमाउन सजिलो लाग्ने रहेछ । फेरि सबैलाई हेरेर पनि मानिसले त्यसमै रमाउन आनन्दको अनुभूति गर्दोरहेछ । त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा कानुनको कडाइ नै मानिसको उच्छृङ्खल प्रवृत्ति निरुत्साहित गर्ने स्रोत हो । त्यस कारण प्रहरी प्रशासन जसले सडकमा गुड्ने वाहनहरु र तिनका चालकहरुको निगरानी राख्नु पर्ने जिम्मेवारी छ, उनीहरुले कानुनले दिएको अधिकार प्रयोग गरेर नियमन गर्न जरुरी छ ।
सडक दुर्घटना न्युनीकरण गर्न हरसम्भव उपाएहरु खोजिगरेर दुर्घटनाबाट दैनिक रुपमा भइरहेको मानव क्षति रोक्न पहल गर्नैपर्छ । यसको एउटा प्रभावकारी उपायमध्ये विद्यालय वा कलेजमा न्यूनतम ट्राफिक ज्ञानकक्षा चलाउँदा सबैको परिवारमा सूचनाको पहुँच हुन सक्छ । अर्को ट्राफिक प्रहरीद्वारा सवारी चेकजाँचसँगै जानकारी दिने अभियान चलाएर सचेत गरेर दुर्घटना न्यूनीकरणमा सहायक हुन सक्छ । स्थानीय सरकारको भूमिका धेरै हुन सक्छ, ठाउँठाउँमा बोर्डहरु राखेर गति सीमित गर्न ध्वनि नबजाउन सङ्केत गर्न सकिन्छ ।
ट्राफिक प्रहरीले पहिले परीक्षणको रुपमा चलाएको ‘नो–हर्न’को अभियान सवारी साधनको गति सीमित गर्न र सडक अनुशासन कायम गर्न महङ्खवपूर्ण पहल हुन सक्थ्यो तर कुन कारणले हो त्यो निर्णय कार्यन्वायन हुन सकेन । राम्रो कुराको सुरुवाती चरणमा व्यवधान देखिन सक्छन् तर सबैको प्रयासले त्यस्तो प्रयासहरु सफल भएका छन् । नो–हर्न अनुशासन हो र सभ्यतातर्फको अग्रसरता हो । सभ्यताले मानव आचरण परिष्कृत गर्छ तर त्यसले छाडा प्रवृत्तिलाई निरुत्साहित गर्छ । त्यसैले अरुबाट राम्रा कुरा सिक्ने प्रयास गरौँ । राम्रो कुरा सानै भए पनि समाजको चरित्र बदल्नलाई महङ्खवपूर्ण अङ्ग बन्न सक्छ ।