The Value of Life Forgiveness : A Multidimensional Contemplation
ब्रह्माकुमार माधव तिमिल्सेना
व्यावहारिक जगत्मा यदि कहिल्यै कुनै व्यक्तिबाट भाव–विचार–बोली–कर्मद्वारा शिष्टाचार वा नियम विरुद्ध केही कर्म हुन्छ,यदि कसैको कर्मबाट कसैको भावनालाई ठक्कर पुग्छ त्यतिखेर हामी एक आपसमा— ‘कृपया मलाई माफ गर्नुहोस्, म क्षमा चाहन्छु’ जस्ता शब्द प्रयोग गर्दछौं । भावार्थ यो हुन्छ— म आफ्नो गल्तीलाई दिलबाटै महसुस गर्दछु । यो त्रुटि मबाट नजानेरै भएको हो,मलाई यसको वास्तविकता थाहा थिएन, यसैले यो त्रुटि भयो । मलाई यस कुराको दुःख छ— मैले अन्जानमा हजुरको हानी गरें । मलाई आफ्नो कर्मप्रति अपसोच भयो । नीति शास्त्रमा यस्तो भनिएको छ—आफ्नो रजोगुणी वा तमोगुणी स्वभावको वश भएको व्यक्ति,बालक,भोकले तड्पिएको व्यक्ति,अन्जानमा कुनै भूल गर्ने मनुष्य,यी सबै क्षमाका पात्र हुन् । कुनै गल्ती गरेपछि आफ्नो गल्तीमा पछुताउँछ र गल्तीको क्षमा माग्छ भने त्यो व्यक्ति पनि क्षमाको पात्र हुन्छ । क्षमा गर्न योग्य व्यक्तिलाई यदि सताइयो भने त्यसको विपरीत असर हुनजान्छ । कहिले काहीँ नकारात्मक दृष्टिकोणका कारण मानिसले आफ्नो त्रुटिलाई बुझ्नै सकेको हुँदैन । आफ्नो भयका कारण अर्काको नभएको त्रुटिलाई देखाएर चोखिन खोज्नु पनि व्यक्तिको स्वभाव हुन्छ । अर्काेमा बनावटी त्रुटि थोपर्दा हामी उसप्रति नकारात्मक ऊर्जा पठाइरहेका हुन्छौं । यसैले यो सम्भावना धेरै हुन्छ— ऊ सकारात्मक हुँदा–हुँदै पनि नकारात्मक बन्न पुग्दछ । यस्तो भएपछि— गल्ती नगर्नेले पनि गल्ती गर्न सक्छ । अर्काको त्रुटिको रागलाई व्याख्या गर्दा अन्जानमा विकर्म नै भएको हुन्छ । यसरी गल्तीको एउटा लामो शृंखलाको निर्माण हुन्छ । पुनश्च,के हामी कुनै विषय वस्तुको पूरा जानकारी राख्दछौं ? के हामीलाई अन्तर्निहित भावनाको ज्ञान छ ? के हामी उसको अन्तरज्ञानको स्तरलाई जान्दछौं ? के हामी पूरा परिस्थितिसँग अवगत छौं?कहीँ यस्तो त होइन,हामी आफ्नो पूर्वाग्रहको सिकार बनिरहेका छौं ? मनोवैज्ञानिकता यति गहिरो छ कि यसलाई बुझ्नु साधारण कुरा छैन । हामीले यो बुझ्नुपर्छ—तथाकथित व्यावहारिक विवेकभन्दा पर पनि धेरै कुरा यस्ता छन् जसलाई हाम्रो बुद्धिको सीमाले भ्याउँदैन ।
धेरैजसो मानिसको यो समस्या हुन्छ, हर कुरामा हर व्यक्तिलाई आफ्नै चश्माले देख्न खोज्दछ,जहाँ परिस्थिति फरक हुन सक्छन् । उसको अनिर्णयको मनोदशाको भावमा यो मनावैज्ञानिकताले पनि कार्य गरिरहेको हुन्छ । कुनै गम्भीर गल्तीहरूले अपराधको रूप लिन्छन् । यस्तो अवस्थामा के गरियोस्— माफ वा सजाय । यसमा त शंका नै छैन— गम्भीर गल्ती गर्नेलाई सजाय मिल्नै पर्छ,प्रकृतिको नियमानुसार मिल्छ नै पनि । सजाय दिनुको उद्देश्य हुन्छ— सजाय पाएपछि मानिस सुध्रियोस् । तर कसैलाई शारीरिक वा मानसिक सजाय दिएपछि के यो पक्का छ कि ऊ सुध्रिन्छ । हाम्रो पूरा न्याय व्यवस्था यसै सिद्धान्तमा कार्य गरिरहेको छ— सजाय दिएपछि मानिस सुध्रन्छ । अलग–अलग सजाय दिनका लागि अलग– अलग कानूनी व्यवस्था छन् तर सजाय भोगेपछि पनि मानिस त्यही गल्ती दोहो¥याइरहेको हुन्छ । फेरि पनि त्यही गल्ती गर्छन् । हाम्रो समाजमा हरेक दिनजसो साना–तिना अपराध त बढिरहेका छन् । यस्तो किन हुन्छ ? यस्तो लाग्छ— न्याय व्यवस्थामा कहीँ न कहीँ कमी त अवश्य छ । मेरो यो भाव होइन— म न्याय व्यवस्थालाई असंगत र समग्रमा त्रुटिपूर्ण मानिरहेको छु । भन्नुको भावार्थ यो हो— सतही रूपमा मात्र चोट पु¥याईन्छ । मानिसको व्यवहारको जिम्मेवार उसको अन्तर्जगत् हो, संस्कार हो । मानिसको भित्री भागमा सुधार्नका लागि कुनै कार्य गरिएको छैन । भित्री सुधार हुने हो भने बाहिरी जगत् त आफैं सुध्रिने थियो । ज्ञानरूपी शक्तिद्वारा अन्तर्जगत्लाई सुधार्न सकिन्छ । मानिस एउटा विशेष प्रक्रियाबाट पार भयो भने उसको अन्तर्जगत् परिवर्तित हुनसक्छ । यसरी आन्तरिक सुधारको प्रक्रियाबाट पार हुनु पनि एक प्रकारको आन्तरिक सुधार नै हो । अन्तर्जगत्को सुधारबाट यो निश्चित छ— उसबाट भविष्यमा यस्तो कुनै गलत कर्म हुन सक्दैन जसले अरूलाई कुनै प्रकारको आघात पु¥याओस् । यसरी आन्तरिक सुधार गरेर महसुस पछि माफी माग्ने मान्छेले धेरै मानसिक सन्तापको अनुभव गरिसकेको हुन्छ । वर्तमान समय अज्ञानता आफ्नो चरम अवस्थामा छ । अब हामी अझ बढी जागरुक रहनुपर्छ । हामी जहाँ छौं । कुनै पनि स्थितिमा छौं । जुनसुकै कार्य गरिरहेका हौं, अरूको गल्तीलाई क्षमा गर्ने स्वभाव बनाउनु नै छ । साथै आत्माको सम्पूर्णताको लागि पुरुषार्थ पनि जारी राख्नु छ । अन्यथा अरूको गल्तीको रागको वर्णन गर्नमा नै जीवन अलमलिइरहन्छ । क्षमा गर्नु कमजोरी होइन । क्षमालाई त वीर हरूको आभूषण भनिएको छ । हर कोहीले क्षमा पनि गर्न सक्दैन ।
महाभारत ग्रन्थमा एउटा वृत्तान्त छ । युधिष्ठिरलाई क्षमाको मूर्ति मानिएको छ । गुप्तवासमा द्रौपदी युधिष्ठिरलाई क्रोधित गर्ने कोसिस गर्दै भन्छिन्— हजुरलाई मेरो, हुजुरका भाइहरूको र माताको पनि दया लाग्दैन ? हजुरमा क्रोधको मात्रा शून्य छ, यसैले तेजको अभाव छ । कसैले भूल वा अज्ञानता वश भएर गल्ती गर्छ भने उसलाई क्षमा गर्नु त क्षेत्रीय धर्म हो तर जसले जानी–जानी पटक–पटक अपराध गर्छ उसलाई क्षमा गरिरहनु क्षेत्रीय धर्म होइन । हजुरले धृतराष्ट्र पुत्रलाई दण्ड दिनैपर्छ । यसको जबावमा युधिष्ठिर भन्छन्— द्रौपदी तिमीले ठीक भन्यौ ¤ तर जुन मनुष्यले क्रोधको पात्रलाई पनि क्षमा गरिदिन्छ उसले आफ्नो तथा उसको दुवै संकटबाट बचाउँछ । क्रोधबाट त अनिष्ट हुन्छ । त्यसैले हे द्रौपदी तिमी नै भन— यति ठूलो अनर्थको मूल समान क्रोधलाई म आफ्नो मनमा कसरी पालना दिन सक्छु ? तिमी क्रोधलाई तेज भनीरहेकी छ्यौ । शास्त्र र ज्ञानी पुरुष भन्छन्— वस्तुतः जसले क्रोधको पात्रलाई पनि क्षमा गरिदिन्छ ऊ नै तेज समान हुन्छ । क्षमा गर्नाले स्वयंलाई र भूल गर्नेवालालाई समेत संकटबाट बचाउन सकिन्छ । बदला लिनुको आनन्द क्षणिक हुन्छ,जबकि क्षमा गर्नेवाला व्यक्ति चिरायुसम्म कीर्तिमान् बनिरहन्छ । यति ठूलो मूल्यलाई जो कोहीले अपनाउन सक्दैन । क्षमा गर्नका लागि पनि आत्मिक शक्ति आत्मिक वल र विशाल हृदय चाहिन्छ । किन ?क्षमा गर्ने प्रक्रियामा दोस्रो व्यक्तिको नकारात्मक कर्मबाट पठाइएको ऊर्जालाई आफ्नो शक्तिशाली किरण एवं आभामण्डलको क्षेत्रबाटै अव्यक्त आकाशमा पठाउन तागत चाहिन्छ । त्यो ऊर्जा जब आफ्नो समयअनुसार पुनः आफैतिर फर्किएर आउँछ त्यतिखेर त्यसमा मेरो कुनै प्रक्रिया हुँदैन । आफ्नो गल्तीलाई महसुस गरेर त्यसको क्षमा माग्नु पनि सबैका लागि यति सजिलो विषय होइन । स्तरको चेतना बनेपछि गल्तीको महसुस हुँदा–हुँदै पनि क्षमा माग्न सजिलो हुँदैन । आफ्नो गल्तीलाई महसुस गर्दा एउटा गहिरो मनोवैज्ञानिकताले कार्य गर्दछ । जब कुनै व्यक्तिले आफ्नो गल्तीलाई दिलबाट महसुस गर्दछ भने उसले आफ्नो पुरुषार्थलाई एउटा नयाँ मोड दिन पाउँछ । यदि गल्ती ग¥यो र महसुस गरेन भने त्यो व्यक्ति फेरि–फेरि त्यही मार्गमा गइरहन्छ । परिणामस्वरूप उसको जीवनमा केहीपनि नयांपन आउनै सक्दैन जसले उसलाई आत्म–सन्तोषले भर्न सकोस् ।
यो संसारमा कोही मानिस अरुका कारणले दुःखी वा सुखी हुन सक्दैन। हुन्छ भने आफ्नै कारणले । विशेषतः मानिसलाई उसैभित्र भएका विकृत सोच भावना र विकारले दुःखी बनाएको हुन्छ भने उसैभित्र भएका गुण र श्रेष्ठ कर्मका कारण सुखी बन्न सक्छ । दुःखको कारण अरुलाई लगाउनुको अर्थ हो— यथार्थ रूपमा आपूmले आफैंलाई चिन्न नसक्नु हो । मानिस विकारको वश भएपछि चाहे ऊ ठूलो पदमा होस् वा सानो मानिने मानिसै किन नहुन् व्यवहार एकै किसिमका हुन्छन् । विकारयुक्त मानिस जतिसुकै धनी र ठूलो भए पनि विकारमुक्त सामान्य मानिस नै सुखी र महान् हुन्छ । ऊ नै पवित्र र पूज्य हुन्छ । सर्वप्रथम त मानिसले आफ्नो यथार्थ परिचय पाउनुपर्ने हुन्छ— म को हुँ ? यस धर्तीमा म के गर्न आएको हुँ ? के लिएर आएको थिएँ ? के लिएर जानु छ ? परमात्माले हामीलाई अन्य प्राणीभन्दा फरक विवेक दिनुभएको छ । त्यसो भए मैले के कुरा फरक गर्न सक्छु ? खानु, पिउनु, लडाईं झगडा गर्नु त पशुले पनि गर्छन् । मानिसले बाँच्नका लागि खाने हो खानका लागि बाँच्ने होइन । सुख र शान्ति प्राप्तिका लागि आफ्ना आहार,विहार, आचार विचारलाई निर्विकार बनाउन प्रयास गर्दै जानुपर्छ । निरन्तर रूपमा स्व– स्वरूपमा स्थित हुनका लागि दैनिक ज्ञान स्नान गर्न जरुरी हुन्छ । नित्य ज्ञान स्नान अर्थात् आत्माको आहारले हाम्रो विचार पवित्र बन्छ र विचार पवित्र भएपछि आचार अर्थात् आचरण शुद्धि हुँदै जान्छ। यसरी सतोप्रधान वा आध्यात्मिक चिन्तनले मानिसमा खराब विचार उठ्दैनन् खराब विचार नभएपछि खराब कर्म अर्थात् आचरण÷व्यवहार गर्नबाट बच्दछ । खराब आहार विहारबाट हाम्रो दिमागमा खराबै प्रभाव पार्छ फलतः विचार अनि बुद्धि पनि खराब उत्पन्न हुन गई कर्म पनि खराब हुन्छ । हामीले चाÞह्यौं भने तमोगुणी आहार विहारलाई छोडेर सतोगुणी आहार विहारले मात्रै पनि बाँच्न सकिन्छ । खुशी र सुखका साथ असल कर्म गर्दै ईश्वरीय चिन्तनका साथ बांचौं । एकदिन त यो देहका इन्द्रियहरूले पनि काम गर्न छोड्छन् । उमेर ढल्कँदै गएपछि यी आँखाले हेर्न खोज्छन् तर देख्दैनन् । कानले सुन्न खोज्छन् तर सुन्न सक्दैनन् । यसरी छाला चाउरी पर्छन्, दाँत झर्छन् । देहले यस्तो होस् भनेको हुँदैन तर हुन्छ । दिमागले त्यतिखेर साथ दिदैन । रहन्छ मात्र पछुतो । अहिले समय छँदा बल,बुद्धि,विवेकलाई क्षणिक सुख भोगमा बितायौं भने अन्त्यमा पश्चात्तापमा जल्नु सिवाय केही रहँदैन । जे जे बुझ्नुपर्ने हो अहिले नै बुझौं,गर्न सक्दाखेरि नै गर्नुपर्ने काम गरौं, बुद्धिलाई सुधारौं, सत्कर्म गरौं । आफ्नो गल्तीलाई महसुस गरेर अरूसँग क्षमा याचना गरौं । उसलाई आÇनो गल्तीका लागि क्षमा दान देऔं । क्षमा माग्ने र क्षमा दान दिनाले वर्तमानको जगमा भविष्यको स्वस्थ बिरुवा उमार्न सकिन्छ । पहिले घटेका घटनाहरूको चिन्तनले मनलाई कष्ट तथा यातना दिइरहन्छ तर बितेको कुरालाई बारम्वार सोच्नु भनेको सर्प गएपछि त्यसको निशानलाई पिट्नुजस्तै हो । यो उचित समाधान भने होइन । मनलाई पीडा दिने कुराहरूबाट छुट्कारा पाउने एउटा मात्र उपाय छ, त्यो हो क्षमा । क्षमा अर्थात् निन्दा गर्ने वा कटु वचनलाई सहजै भूलिदिनु । दुःख दिनेलाई पनि आशीर्वाद दिनु र दुव्र्यवहार गर्ने प्रति शुभ सोच्नु, अपकारीलाई उपकार गर्नु अनि बदलाको भावना लाई त्याग्नु पनि क्षमा नै हो । यो कमजोरी होइन परन्तु बहादुरी एवं महान्ताको लक्षण हो । भनिन्छ पनि—क्षमा वीरस्य भूषणम् अर्थात् यो महावीरहरूको आभूषण हो । यो मानवलाई देवत्वसम्म पु¥याउने सिढी हो । क्षमा देवताहरूको महिमा वा गरिमामा चार चाँद लगाउने देव लोकको अलौकिक दिव्य सौन्दर्य हो । गल्तीको बदला लिनु त दुर्बलता हो, तर अपकारलाई भुलेर स्वयंलाई बदल्नु एउटा बल हो । क्रसमा चढाएपछि पनि येशुले ईश्वरसँग प्रार्थना गर्दै भने— हे प्रभु यिनीहरूलाई माफ गरिदिनु किनकि यिनीहरू अन्जान छन् । क्षमा गरेर वास्तवमा उनी महान् बने । क्षमाको सट्टा शत्रुताको भाव राख्नाले लाभ हुँदैन, हानी हुन्छ । उदारताद्वारा अपराधीलाई क्षमा गरिदेऔं । बितेको कुरालाई भुलियोस् । यसो गर्दा शत्रु पनि मित्र बन्छन् । हृदयले शीतलताको अनुभव गर्छ । अतः दिलदेखि नै क्षमा गर्दै गयौं भने अपमानको पीडाबाट मुक्त भइन्छ । ।।
एउटा बोधप्रद प्रसङ्ग छ — मोहम्मद साहब नमाज पढ्न मस्जिद जाँदा एउटी वृद्धाको घर भएर जानुपथ्र्याे । जब जब मोहम्मद त्यहाँबाट भएर जान्थे ती वृद्धाले उनलाई फोहोर मैलो घरको छतबाट सधै फ्याँकिदिन्थिन् । मोहम्मद केही नबोली कपडाले फोहोरलाई झारेर अघि बढ्थे । एक दिन सधैं झैं त्यहाँबाट गइरहेका थिए तर फोहोर झरेन । उनलाई आश्चर्य लाग्यो, तैपनि उनी अघी बढे । अर्काे दिन फेरि त्यस्तै भयो, फोहोर फ्याँकिएन, मोहम्मदजीलाई लाग्यो केही बुझेर जाऔं, केही पो भयो कि वृद्धालाई यस्तो सोचेर उनले वृद्धाको ढोका ढक्ढकाए । वृद्धाले धेरै समय लगाएर ढोका खोलिन् तब थाहा भयो कि उनी त बिरामी भएकी रहिछिन् । उनी बिरामी भएको देखेपछि मोहम्मदले वैद्यलाई बोलाएर उपचारको व्यवस्था मिलाइदिए । वैद्यको रेखदेख र सेवाबाट वृद्धा छिटै निको भइन् । जब उनी ओछ्यानबाट उठेर बस्न थालिन् तब मोहम्मदजी आएर भने, औषधि लिइरहनू,खानपानमा ध्यान दिनु,आवश्यक भए मलाई बोलाउनू । तव ति वृद्धा घोप्टो परेर रुन थालिन् । मोहम्मदजीले रुनुको कारण सोधे, उनले भनिन्— मेरो दुव्र्यवहारका लागि मलाई क्षमा दिनुहोला, हजुरले मेरो स्वास्थ्यको साथ साथै मलाई सुधारिदिनुभयो,तब मोहम्मदजी हाँस्दै बोले, केही छैन, अब सबैकुरा भुलिदिनुहोस् । वास्तवमा बदला लिनुको सट्टा यदि क्षमा गरियो भने खुंखार दुष्ट पनि बदलिन्छ । किनकि शत्रुलाई पनि परास्त गर्ने एकै ब्रह्मास्त्र हो— क्षमा । आज दुनियाँमा क्षमा गर्नु कायरता सम्झिइन्छ । परन्तु यो कुरा सत्य होइन । क्षमा गर्नु उदारताको निसानी हो भने बदला लिनु निबर्लताको सूचक हो । मनमा जुन उच्च विचार हुन्छ, जसको बुद्धि दिव्य हुन्छ्, जसले मानवताको मर्म वा दयाको धर्मलाई जान्दछ, उसले अपकारीको अपकारलाई नदेखी त्यसलाई विवश सम्झन्छ । जसरी सानो बच्चाले नोक्सान गर्दा उसलाई दण्ड दिनुको सट्टा क्षमा गरिन्छ, यस्तै नै क्षमाशीलले पनि अपराधीलाई निर्बल वा विकारको वशीभूत मानेर क्षमा गरेर भुल्दछ । जसरी एउटा चराले स्वतन्त्ररूपमा खुल्ला आकाशमा उड्नका लागि रुखको हाँगालाई छोड्ने आँट गर्नुपर्ने हुन्छ,त्यसरी नै हामी पनि हाम्रो जीवनको सूक्ष्म शक्तिको सर्वाेच्चताको आनन्द लिन चाहन्छौं भने हाम्रा पुराना संस्कार–स्वभावरूपी हाँगालाई छोड्न सक्नुपर्दछ । हामीले हाम्रा भनेर सम्झिएका सोचाइ, विचार र स्मृति नै हाम्रा आन्तरिक मोहरूपी हाँगा हुन् । फेरि हाम्रो बाहिरी मोह पनि छ त्यो हो— मानिस, आफन्त, पद र सुविधाहरू । तर जबसम्म तिनीहरूलाई छोड्न सक्दैनौं तबसम्म हामी स्वतन्त्र हुन सक्दैनौं । हेरौं ती चराहरू कसरी एउटा हाँगालाई छोडेर बाँकी जीवनमा अनेकौं अन्य हाँगाहरूमा हलुकासँग घुमिरहन्छन् । यसरी उनीहरू विभिन्न दृश्यहरूको अवलोकन गर्दै एक ठाउँदेखि अर्काे ठाउँ जान्छन् । के हामी त्यसै गरी जीवनको उचाइमा चढ्दै छौं वा अरू उडेको र चढेको देखेर उनीहरूलाई श्राप दिदै एउटै हाँगामा मात्र टाँसिइरहेका छौं । …….. अघि बढौं, प्रयास गरौं, क्षमा गरौं र उडौं ।
लेखक ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र घोराही, दाङ्गका प्रवक्ता हुन ।