calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

गढवालाई सेरामिक हब बनाउँदै छौं : अध्यक्ष पोख्रेल [अन्तर्वार्ता]

स्थानीय सरकारका जनप्रतिनिधिहरूको करिब–करिब आधा कार्यकाल पूरा भइसकेको छ । नयाँ संविधानले स्थानीय सरकारलाई सर्वाधिक नजिकको सरकारका रुपमा स्थापित गर्न शिक्षा, स्वास्थ्य, कृषिलगायतका थुप्रै अधिकार सुम्पेको छ । यिनै अधिकारलाई तारतम्य मिलाउँदै छन् स्थानीय सरकारका जनप्रतिनिधि । जनताले छाम्दा छोइने, हेर्दा देखिने, बोल्दा सुनिने भनेकै स्थानीय सरकार हो । आधा कार्यकाल व्यतित गर्दा आफ्नो स्थानीय पालिकामा के कस्ता चुनावी प्रतिबद्धता पूरा भए र के कति काम गर्ने योजना छन् भन्ने विषयमा केन्द्रित रहेर देउखुरीको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलसँग गोरक्षकर्मी खेमराज रिजालले गरेका कुराकानीको सारसङ्क्षेप ।

 तपाईको आधा कार्यकाल समाप्त भइसकेको छ । यस बिचमा के कस्ता अनुकरणीय काम गर्नु भो, संक्षिप्तमा बताइदिनुस् न ?

 हामी निर्वाचित भएर आएसँगै हाम्रो पहिलो प्राथमिकता भनेको शैक्षिक गुणस्तरमा सुधारनै रह्यो । शैक्षिक गुणस्तर सुधारका लागि हामीले सवैभन्दा पहिले यस पालिकामा विषयगत शिक्षकको अभाव थियो । त्यसलाई व्यवस्थापन गर्न दरबन्दी मिलानको काम सम्पन्न गरिसकेका छौँ । त्यसैगरी सामुदायिक विद्यालयमा हुने शैक्षिक गतिविधिको निरन्तर अनुगमन र मूल्याङ्कनमा पनि हामी लागिरहेका छौँ । यो अवधिमा हामीले यस पालिकाको शिक्षा क्षेत्रमा केही सुधारका सङ्केत समेत पाइसकेका छौँ । त्यसैगरी हाम्रो अर्को अनुकरणीय काम भनेको स्वास्थ्य क्षेत्रमा भएको सुधार पनि हो । तपाईले गढवामा आएपछि देख्न सक्नुहुन्छ, हामीले गढवा स्वास्थ्यचौकीमा चौबिसै घण्टा एमविविएस चिकित्सक उपलब्ध हुने गरी स्वास्थ्य उपचार सेवा विस्तार गरेका छौँ ।

सङ्घीय सरकारले निःशुल्क औषधी खरिदका लागि उपलब्ध गराउने अनुदानले नपुगेर पालिका आफैले त्यसमा थप बजेटको व्यवस्थापन गरी औषधी खरिद गरेर नेपाल सरकारले निःशुल्क गरेका सबै प्रकारका औषधी निःशुल्क रूपमा स्वास्थ्य संस्थाबाट उपलब्ध गराइरहेका छौँ । यो मात्र होइन, हामीले बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई घरमै पुगेर पनि स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन कर्मशील हेल्थ संस्था र गाउँपालिकाको संयोजनमा उपचार सेवा दिइरहेका छौँ ।

त्यसैगरी गोवर्डियाको आयुर्वेद केन्द्रलाई पनि थप प्रभावकारी बनाएर योग तथा प्राकृतिक उपचारलाई पनि जोडेका छौँ । मोतिविन्दुका समस्या भएका नागरिकलाई राप्ती आँखा अस्पताल लमहीसँग समन्वय गरेर निःशुल्क शल्यक्रियाको समेत व्यवस्थापन गरेका छौँ । हामीले गरेको स्वास्थ्य क्षेत्रको अर्को नमुना काम भनेको विषालु सर्पले टोकेका बिरामीको उपचारका लागि सर्पदम्स उपचार केन्द्र पनि हो । यसमा नेपाली सेनाको सहयोगमा आवश्यक परेमा एमविविएस चिकित्सक समेत उपलब्ध गराएर सर्पदम्सका बिरामीलाई उपचार सेवा दिइरहेका छौँ ।

 कृषि तथा व्यवसायीक क्षेत्रमा गरेका अर्थपूर्ण कामका विषयमा पनि केही बताइदिनुस् न ?

 हो, हामीले कृषि तथा पशुपालनबाट स्थानीय जनतालाई समृद्ध बनाउनका लागि पशुपालक किसानलाई अनुदान समेत दिएका छौँ । यसले व्यवसायिक बाख्रा पालन र व्यवसायिक भैसी पालन गर्ने किसानमा उत्साह थपिएको हामीले पाएका छौँ । त्यसैगरी व्यवसायिक रूपमा तरकारी खेती किसानका उत्पादनलाई बजारीकरण गर्नका लागि निःशुल्क कृषि एम्बुलेन्सदेखि तरकारी सङ्कलन केन्द्र समेत सञ्चालनमा ल्याइसकेका छौँ । यसले किसानले उत्पादन गरेको तरकारीको बजारीकरणमा हुने समस्या पनि हल भएको छ ।

अर्को कुरा हामीले यसै वर्ष दुध सङ्कलन केन्द्र र कोल्डस्टोर निर्माणको काम पनि सुरुवात गरिसकेका छौँ । सम्भवत अर्को वर्षदेखि कोल्डस्टोर समेत सञ्चालनमा आउने मलाई विश्वास छ । त्यस्तै यो वर्ष धानबाली उत्पादन गर्ने किसानलाई धान बेच्न सहजताका लागि गाउँपालिकाल ेनै सङ्घीय सरकारले तोकेको मूल्यमा धान खरिद गरेर खाद्य संस्थानलाई बिक्री गरिसकेका छौँ । यसले पनि किसानलाई राहत भएको हामीले अनुभूति गरेका छौँ ।

त्यसरी नै हामीले यो वर्ष गढवा गाउँपालिकालाई सेरामिक हव बनाउने अभियान पनि सञ्चालन गरिसकेका छौँ । माटोका भाडा बनाउने कला सिकाउन दुईजना विद्यार्थीलाई बेच्लर तहसम्मको कक्षाका लागि छात्रवृत्ति समेत व्यवस्थापन गरिसकेका छौँ । साथै पालिकामा पनि माटोका भाडाकुडा बनाउनका लागि विभिन्न स्थानमा क्षेत्रगत तालिम दिएका छौँ । विशेषगरी माटोका भाडा बनाउने चौधरी कुमाल समुदायमा गएर यसरी सेरामिक डिजाइनसम्बन्धी तालिम पनि सञ्चालन गरेका छौँ । मलाई लाग्छ, यसबाट यहाँ निर्मित माटोका भाडा अन्तर्राष्ट्रिय बजारमा समेत नीर्यात हुने छन् । यसले पनि यहाँका स्थानीय कुमाल समुदायको आयस्तरमा सुधार आउने पनि हामीले विश्वास लिएका छौँ ।

 तपाईको पालिका त भारतीय सीमासँग सडकले छोएको पालिका पनि हो, कोइलाबास भन्सारलाई चलायमान बनाउन के कस्ता प्रयास भएका छन् ?

 हो, भारतीय भन्सार नाका कोइलाबास भन्सार सम्म पक्कि सडक निर्माण भइसकेको छ । अब भन्सारलाई पुनः जागृत बनाउनु पर्छ भनेर हामीले सङ्घीय सरकारमा पनि पटक–पटक डेलिगेशन गएर आग्रह गरिसकेका छौँ । किनकि गढवाको आर्थिक समृद्धि भन्सार नाका सञ्चालनसँग पनि जोडिएको छ तर यो स्थानीय सरकार र प्रदेश सरकारले पहल गर्ने विषय होइन रहेछ । सङ्घीय सरकारल ेनै भारत सरकारसँग छलफपल गरेर यसलाई चाडै टुङ्ग्याउने छ भन्ने पनि हामीलाई विश्वास छ । यसमा उद्योग वाणिज्यसंघले समेत पहल गरिरहेका छन् । कोइलाबास भन्सार चलायमान भएमा गढवा मात्र नभएर समग्र साविक राप्ती, गुल्मी र अर्घाखाँचीलाई समेत प्रत्यक्ष लाभ हुने छ । यसलाई सञ्चालनमा ल्याउन सबैको एकीकृत पहलकदमी आवश्यक छ भन्ने मलाई लाग्छ ।

 स्थानीय सरकार बलियो हुने भनेकै आन्तरिक स्रोतले हो । तपाईको मुख्य आन्तरिक स्रोत के हो ?

 हाम्रो आन्तरिक स्रोतको बलियो आधार भनेकै नदीजन्य पदार्थको राजश्व हो । किनकि हामीसँग राप्ती नदी छ । अन्य केही खोला पनि छन् । तर, नदीजन्य पदार्थको व्यापक चोरी निकाशी हुने भएकाले यथोचित राजश्व उठाउन सकिएको छैन । यसलाई व्यवस्थापन गर्न हामीले गतवर्षदेखि ठेक्का प्रक्रियालाई रोकेर पालिका आफूले घाटगद्दि गर्ने र उपभोक्ता तथा परियोजनालाई बेच्ने काम सुरु गरेका छौँ । यसले गत वर्षको तुलनामा राजश्वमा पनि सुधार आएको छ । त्यसैगरी चोरी निकाशी रोक्नका लागि पालिका आफैले पनि जनप्रतिनिधिमार्फत् निगरानी बढाएका छौँ । प्रहरी प्रशासनबाट पनि यसमा थप प्रभावकारी सहयोग भइरहेको छ । मलाई लाग्छ, घाटगद्दि सुरु गर्दा चोरी निकाशी र अवैध उत्खनन्मा पनि कमी आएको छ । त्यसैगरी राप्ती नदीका केही स्थानमा नदीजन्य पदार्थको सङ्कलनमा दुई पालिकाबिच सीमा विवाद पनि देखिएको छ । यसलाई समाधान गर्न जिल्ला समन्वय समितिको संयोजनमा अन्तरपालिका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारी बसेर विवाद मिलाउने काम पनि भएको छ । यसले पनि नदीजन्यको राजश्वमा सुधार ल्याउने हामीले विश्वास गरेका छौँ ।

 तपाईहरूले त अन्तरपालिका घुम्ति बैठकमा राप्ती, लमही र गढवालाई समेट्ने चक्रपथको अवधारणा पनि ल्याउनु भाथ्यो नि ?

 हो, हामीले भालुवा, कालाकाटे, गढवा, लमही हुँदै फेरि पूर्व–पश्चिम राजमार्गबाट भालुवाङसम्म चक्रपथको योजना ल्याएर यसमा सिटिबस सञ्चालन गर्ने अवधारणा पनि अघि सारेका छौँ । यसका लागि राप्ती गाउँपालिका, लमही नगरपालिका र हामी गढवा गाउँपालिकाका जनप्रतिनिधि बसेर नियमित रूपमा सिटि बस सञ्चालन गर्ने अवधारणा पनि तयार गर्दै छौँ । यसमा हामी तिनैवटा पालिका मिलेर अभियानकै रूपमा सिटिबस सञ्चालन गर्ने अभ्यासमा छौँ । यसले तीनवटै पालिकाका स्थानीयबासीलाई सोझै प्रदेशको स्थायी राजधानीसँग पनि जोड्ने छ भन्ने हाम्रो अपेक्षा हो ।

 अन्तमा केही भन्न चाहनुहुन्छ कि ?

 हामीले चुनावमा उम्मेदवारी दिएर चुनावी मैदानमा आउदा मतदाताहरूसँग जुन प्रतिबद्धता जाहेर गरेका थियौँ, ती प्रतिबद्धता पूरा गर्न हामी प्रतिबद्ध छौँ । केही प्रतिबद्धता पूरा गरेको पनि हामीलाई लागेको छ । त्यसको जज गर्ने त तपाई मिडियाकर्मी पनि हो । त्यसैगरी बाँकी प्रतिबद्धतालाई पनि क्रमश पूरा गर्नेमा आम पालिकाबासीलाई यसै पत्रिकामार्फत् विश्वास दिलाउन पनि चाहन्छु । हामीसँग साधन स्रोत निकै कमिी छ, तर हाम्रा अपेक्षा भने निकै धेरै छन् । यो बिचमा तारतम्य मिलाएर जनतालाई जसरी पनि परिवर्तनको अनुभूति दिलाउनेमा हामी लागि परेका छौँ । अन्तमा कामको सिलसिलामा सकारात्मक आलोचना र अनियमितताको विरुद्ध खबरदारी गर्न पनि मैले सम्पूर्ण पालिकाबासी एवम् मिडियालाई आग्रह गर्न चाहन्छु ।