मेरो खुशी : शिक्षाको ज्योति फैलाउन पाउँदा…
करिब दिन दशक लामो शिक्षण पेसाबाट अवकाशपछि पनि उनी सामाजिक तथा धार्मिक होस् वा समाजमा हुने जुनसुकै काममा सक्रिय छन् । अबकाशपछिको जीवन समय कसरी कटाउने भन्ने उनीमा छैन । अहिले पनि उनी जुनसुकै काममा पनि सक्रियतापूर्वक लाग्ने गरेका छन् । शिक्षण पेसा समाजको माया, ममता र सहयोगमा स्थापित हुने पेसा भएकाले आफू पदमा रहँदा आर्जन गरेको सामाजिक मर्यादा, आदर र सम्मानबाट पाइने आनन्द, सन्तुष्टि र सन्तोष संसारको कुनै पनि बजारमा खरिद गर्न नपाइने खालको हुने उनी बताउँछन् ।
अबकाश प्राप्त शिक्षकसँग बहुमूल्य प्रतिष्ठा, इज्जत र सद्भाव आर्जन गरेको हुन्छ, त्यसलाई समाजमा कसरी आफ्नो अनुभवहरू साट्ने भन्नेमा म अहिले छु उनले भने । साविक हलवार गाविसमा जन्मिएर लामो समयसम्म शिक्षा क्षेत्रमा आफ्नो जीवन बिताएका शंकरकुमार आचार्यले आफुले शिक्षा जस्तो पवित्र पेसाबाट शिक्षाको ज्योति फैलाउन पाएकोमा खुसी व्यक्त गरे ।
२०४० सालदेखि ७५ सालसम्म सल्यान र दाङमा शिक्षण गरेका आचार्यले पढाएका विद्यार्थी अहिले देश विदेशमा आफ्नो नाम चिनाउन सफल भएका छन् । उनले शिक्षण गर्दै गर्दा २०४८ सालमा राष्ट्रिय शिक्षा गोष्ठीले निकालेको सुखद् परिणाले आफु निकै खुसी भएको सुनाए । देशभरका सामुदायिक विद्यालय सरकारी भएको दिन आफु निकै खुसी भएको उनी बताउँछन् । ‘पहिले सामुदायिक विद्यालय समुदायिकले केही रकम उठाएर पढाउने अवस्था थियो तर राष्ट्रिय शिक्षा गोष्ठीले सामुदायिक विद्यालय सरकारी गरायो त्यो दिन म धेरै खुसी भएको थिए’ उनले भने ।
२०४० सालदेखि शिक्षकको रूपमा काम गरेको भन्दै उनले २०४५ सालमा लोकसेवा पास गररु सल्यानको रिममा स्थायी नियुक्ति लिँदा अर्को खुसी मिलेको सुनाए । ‘मेरो बुवा पनि शिक्षा प्रेमी हुनुहुन्थ्यो शिक्षाको ज्योति फैलाउनु पर्छ भनेर म शिक्षण पेसामा लागे’ आचार्यले भने । त्यति बेला साढे सात सय तलवले आफूले शिक्षण पेसा सुरु गरेको भन्दै पैसाभन्दा पनि शिक्षाको ज्योति फैलाउनु पर्छ भनेर आफु शिक्षक पेसा अगालेकोे बताए । ‘त्यति बेला अन्य जागिर पनि पाइन्थ्यो म अरू तिर लागेन शिक्षालाई नै पहिलो ठानेर त्यही लागे म त्यसैमा खुसी भए उनले भने ।’
२०३२ सालमा बनारसबाट एसएलसी पास गरेका आचार्यले आफुले विभिन्न जिम्मेवारी प्राप्त गरी एक असल शिक्षकको रूपमा अवगास प्राप्त गर्न पाउँदा खुसी लागेको बताए । आचार्यले सल्यानको रिम, किमचौर, मार्के, माल्नेटा र दाङको हलवार, हापुरलगायतका विद्यालयमा शिक्षण गरेर हजारौँलाई शिक्षाको ज्योति दिएको भन्दै खुसी व्यक्त गरे । ‘अहिले पनि मैले पढाएका विद्यार्थीले मलाई सम्झनु हुन्छ, उनीहरूको प्रगति देख्दा निकै खुसी लाग्छ’ आचार्यले भने । शिक्षण पेसासँगै शिक्षक संघ सल्यानको संस्थापक सदस्य समेत रहेका आचार्यले आफु सङ्गठनमा रहेर विभिन्न राष्ट्रिय शिक्षा गोष्ठीमा सहभागी भई आफ्ना सल्लाह सुझाव र शिक्षाको विकास र शिक्षकको अक हितका लागि आफुले पहल गर्न पाएकोमा खुसी व्यक्त गरे । त्यस्तै शिक्षासँगै तुलसीपुरको राप्ती बबई क्याम्पस तुलसीपुर खानेपानीको आयोजना तथा गुहारखोला सिँचाइ आयोजना लगायतका विकास निर्माणमा आफुले सक्दो पहल सहयोग गरेको र अहिले त्यसको विकास भएकोमा खुसी व्यक्त गरे ।
‘मैले हरेक ठाउँमा विभिन्न सल्लाह सुझाव र सहयोग गर्ने अवसर मिलेको छ त्यसको विकास पनि भएको छ त्यो देख्दा मलाई खुसी लाग्ने गर्छ’ आचार्यले भने । उनले तत्कालीन अरुचल अस्पताल निर्माणदेखि कपुरकोटको अदुवा अनुसन्धान र तुलसीपुरको तरकारी मण्डी स्थापना गर्नमा आफुले सहयोगी भूमिका खेलेको भन्दै खुसी व्यक्त गरे । ‘तुलसीपुरमा त्यति बेला तरकारी मण्डी थिएन, हाम्रो घर अगाडि मैले डोकामा तरकारी राख्ने व्यवस्था मिलाएको थिए अहिले सुविधा सम्पन्न तरकारी मण्डी छ त्यो देख्दा पनि खुसी लाग्छ’, उनले भने ।
आचार्यले आफु शिक्षक हुँदा २०५४ सालमा सल्यानमा हैजाको महामारी फैलिएको समयमा त्यहाँका जनताको स्वास्थ्य उपचारका लागि पहल गर्न पाउँदा खुसी लागेको बताए । ‘सल्यानमा हैजाको महामारी फैलदा म त्यही पढाउँथे मैले प्रशासनलाई तत्काल खबर गरेर स्वास्थ्य व्यवस्था मिलाउन पहल गरेको थिए त्यति बेला सञ्चारको विकास त्यति थिएन’ आचार्यले भने । त्यस्तै तुलसीपुर स्थित ‘ग’ लाईन टोल विकास संस्थाको सचिव समेत रहेका आचार्यले टोलविकास संस्थामा रहेर टोलको विकास निर्माणमा सहयोग गर्ने अवसर मिलेकोमा पनि खुसी व्यक्त गरे ।
‘म सामाजिक प्राणी हो त्यसैले म समाज सेवा पनि गर्नुपर्छ भनेर आफ्नो फुर्सदको समय यसैमा बिताउने गरेको छु समाज सेवा गर्न पाउँदा मलाई खुसी लाग्छ’ आचार्यले भने । २०४० सालमा विवाह बन्धनमा बाधिएका आचार्यले २०४२ सालमा घर पहिलो सन्तान लक्ष्मीको जन्म भएको भन्दै त्यो पल पनि खुसीको पल भएको सुनाए । त्यस्तै घरमा श्रीमती छोराछोरीको पनि साथ सहयोग र सबैले आ–आफ्नो ठाउँमा उन्नति प्रगति गरेको भन्दै आफुलाई खुसीको अनुभूति मिलेको सुनाए । उनले मानिस खुसी हुनका लागि आत्म सन्तुष्टी ठुलो कुरा भएको सुनाए । ‘सतकर्म गर्नु पर्छ आफुले समाजलाई भलो हुने काम गर्नुपर्छ मान्छे जे छ त्यसैमा रमाउनु पर्छ त्यही नै सन्तुष्टी र खुसी हुने कुरा हो’, आचार्यले भने ।
प्रस्तुति : बालाराम खड्का
