नारायणप्रसाद श्रेष्ठ
प्रत्येक मानव आत्माभित्र कही न कतै ईश्वरीय भाव जागृत भइरहेको हुन्छ । उसैको माध्यम मनुश्यले आफ्ना भावना र विचार प्रदर्शन गरिरहेका हुन्छन् । जीवनको सत्यतालार्ई आत्मसात गर्दै निस्वार्थ रुपले सेवा र श्रद्धा अर्पण गरिरहेका हुन्छन् । किनकी उसले जीवनको महत्व बुझेको छ । उसले नै सबै प्राणीभित्र नयाँ विचार र सोच उजागर गर्न उत्प्रेरित गरिरहेको हुन्छ । सत्य, विश्वास र निस्वार्थ सेवा नै ईश्वरको अर्को रुप हो भनी उसले नै सबैलार्ई चेतनाको ज्वालामार्फत् बोध गराइरहेको हुन्छ ।
अबोध बालख ईश्वरको रुप हो भनी हामी सबैले स्वीकार छौँ । उ जे बोल्छ सत्य बोल्छ भनी मान्दछौँ पनि । किनकी उ निर्दोष छ । यो हाम्रो सर्वमान्य विषय हो । उसलार्ई कुनै इष्र्या डाह र लोभले प्रभाव पारिरहेको हँुदैन । उसको आत्माभित्र पवित्रताले बास गरेको हुन्छ । रागद्वेष केही नभएकोले उसले सबैलार्ई एउटै दृष्टिले हेरेको हुन्छ । उ जे बोल्छ, जे भन्छ स्वच्छ मनले भनिरहेको हुन्छ । उ निडर निश्पक्ष रुपले आफुलार्ई प्रस्तुत गरिरहेको हुन्छ । उसलाई कसैप्रति रिस राग द्वेस हुँदैन ।
प्रकृतिको नियमसँगै बढेको उसका मानसिकतामा तब मात्र विकृति र अशुद्धताले डेरा जमाउँछ जब उ सामाजिक चेतनशील भएर आफूलार्ई उभ्याउने सामर्थ जुटाउँछ । कारण सामाजिक विकृति र विलासी नै मानव जीवनलार्ई असत्यमार्ग मा लैजाने प्रमुख कारण हो । जब उ स्वार्थ र भौतिक आडम्वरप्रति आकर्षित हुन्छ तब उसमा देखिने निर्दोशितामा दाग लाग्ने अवस्था रहन्छ र उसका भावनाहरुरुमा आसुरी शक्तिको प्रभाव बढ्दै जान्छ । तत्पश्चात मात्र उ अबोध नभई वयश्क बन्न थाल्छ । असत्य नै सत्य हो भन्ने गरी उसले आफुलाई प्रस्तुत गर्न खोज्दछ । वास्तवमा यो विडम्बना मान्नु पर्छ । त्यहाँदेखि मनुष्यहरु असत्य मार्गमा लाग्न सुरु गरेको भेटिन्छ ।
दैविक शक्ति र आसुरी शक्ति बिचको भिन्नता छुट्याउन नसक्ने मानवीय दृष्टिकोण नै सत्यबाट टाढा रहनु हो । यस्तो अवस्था सिर्जना हुनु भनेको आफू र आफ्नो परिवेश थाहा नपाउनु हो । ईश्वरको पहिचान गर्न नसक्नु हो । जब यो परिवेशको श्री गणेश हुन्छ तब मानिसले आफूभित्रको क्षमता र शक्तिलाई भुल्न पुग्दछ । अनि उ आफै आफ्नो दुश्कर्मको फल स्वरुप दुःख र परेशानीको भागिदार बन्न पुग्दछ । जब दुःखकष्ट र परेशानीले उसलाई घेर्न थाल्छ, तब उसले भन्ने गर्छ ईश्वर कहाँ छ ? भए त मेरो दुःख हेर्थे होला नि ? भन्न थल्दछ । यस किसिमले समय, परिस्थितिको मूल्याङ्कन गर्न नसक्नु ईश्वरीय चाहाना र शक्तिको जानकारी बोध गर्न नसक्नुको कारण मानिसले आफुले आफैलार्ई पछि पारिरहेको छ । तत्कालै प्राप्तीको विषयमा जब मानव सोच जागृत हुन्छ तब उसले सहनशीलता गुमाउने स्थिति हुन्छ । जसको कारण दिगो र स्थायी आनन्द प्राप्त गर्न उ सक्दैन ।
भोक लाग्यो खाना खायो प्यास लाग्यो पानी पियो । जाडो भयो न्यानो कपडा लगायो आफूलार्ई तत्कालै फाइदा हुने कार्यको खोजीमै मानव सोच विकसित हुनु भनेको मानव सोचमा अल्पदृष्टिले डेरा जमाउनु पनि हो । दूरदर्शी चिन्तन दिने आत्माभित्रको ईश्वरको भाव कमजोर हुनु हो । अर्को कुरा मानव आफूले आफैलार्ई प्रश्न गर्नु भनेको श्रद्धा संयम र समर्पण भावलार्ई भुल्नु पनि हो । यसरी क्षणिक स्वार्थमा मानवीय चिन्तन गर्नु भनेको आसुरी शक्तिप्रति समाज, व्यक्ति आकृष्ट हुनु हो । आफ्नो स्वार्थलार्ई वर्ग स्वार्थभित्र परिभाषित गरी समयलार्ई आफ्नो मुठीमा पार्ने दुष्प्रयास पनि गर्नु हो । माया र मोहमा परि आफ्नो र बिरानोको भाव प्रदर्शन गर्न नसक्नु हो ।
मै खाउँ मै लाउ मै मोज मजा गरु भन्ने स्वार्थप्रति चिन्तन बढ्न थाल्यो भने तेरो र मेरोको भावना बढेर मानवीय नाताभित्र तुषारो पर्न सुरु गर्दछ । मानसिक सोच र आचरणमा रास हुने अवस्था सिर्जना हुनु भनेको अनैतिक कार्य मा दिलचस्पी बढनु हो । यस्तो भाव झल्कनु सुरु हुनु भनेको नैतिकतामा प्रश्न उठ्ने परिस्थिति जन्मनु हो । यसले मानव चेतनाभित्र रहेको ईश्वरीयभाव ओझेल पर्ने सम्भावना रहन्छ । वर्ग स्वार्थको कारण सामाजिक सद्भाव खल्बलिने अवस्था भई मानव मानव बिचको सम्बन्धमा दुरी बढनु थाल्दछ ।
सपनाको महल खडा गर्ने मानसिकताले जरा गाड्दै पवित्र आत्माभित्रको दैवीय शक्तिलार्ई पहिचान गर्न असमर्थ गराउँनु हो । यस्तो अवस्था मा व्यक्तिीको स्वार्थ सीमित घेरामा रही म जे गर्छु सबै राम्रो गर्छु मैले गरेको मात्र राम्रो अरु जे गर्दछन् ती सबै कोरा भावनामा बहकिएका हुन् भन्ने मान्यता जगाउने कार्य उ स्वयं गर्न पुग्दछ । यो दुनियामा सत्यमा आधारित ईश्वरीय तत्व छ र त्यसले हामीलाई हाम्रो आवश्यकताको चाजोपाजो मिलाएको छ ।हामी उनैको कृपाले यस संसारमा नाटकको पात्र बनेर कार्य गरिज्ञरहेका हौ भन्ने तर्फ अहिले मानव सोच आकर्षण नभई रहेको पाइन्छ । बाह्य आवरणमा यो त साच्चिकै ज्ञानी र धर्म परायण जस्तो देखिए पनि बस्तु प्राप्तीतर्फ बढेको उसको चिन्तनले उ स्वयमं गलित हुँदै छ । यस्तो अवस्था आउनु भनेको ईश्वरको महिमा नजान्नु हो ।
ईश्वर छ र ईश्वरको रचनाबाट नै यो संसारको इतिहास अगाडि बढेको छ भन्नुको साटो अहिले मानव इच्छा सधै म जितु, खुसी रहुँ भन्नेतर्फ मात्र लालायित हुन पुगेको छ । ईश्वरीय तत्वभित्रको जानकारी लिनेतर्फ खासै ध्यान पुग्न सकेको छैन । उसको चिन्तन केवल म र मेरो तर्फ मात्रकेन्द्रित भएको छ । मानव चोला हुन्छ भने उसको जन्मदिने बाबु पनि हुन्छ र उसको पनि बाबु हुन्छ । यो परम्परा जहाँ गएर अडिएको छ त्यही परमात्मा परमेश्वर हुन्छ । यो कुरा उसले बुझेर पनि नबुझेको अवस्था रहेको छ । सुक्ष्म तत्व जसको कारणले यो सृष्टिको इतिहास रचिएको छ । मानव जीव भएर नै यसको अस्तित्वको पहिचान बनेको छ भन्ने कुराको सोच बढ्न नसकिरहेको अवस्था छ । यसले विश्वासमा धमिराको काम भइरहेको देखिँदै छ ।
मानिस बलवान छ । उसँग बल बुद्धि विवेक पनि छ र क्षमता आदि पनि छ । तर, उसले सत्य कुरा स्वीकार नगरिरहेको अवस्था छ । त्यसैले जे जति छन् ती सबै गुणको अन्त जहाँ हुन्छ त्यही ईश्वर हुन्छ भन्ने सत्य सबैले बुझी आफुलाई प्रस्तुत गर्नुपर्छ भनिएको हो । वास्तवमा ईश्वर मान्ने विषय हो । विश्वास र श्रद्धाको विषय हो । विचारको विषय होइन । विचारमा विषय हुन्छ जसलार्ई हामीले केही जान्न खोजेका पनि देखिन्छ । जिज्ञासु पनि बन्छौँ । परन्तु जसको विषयमा हामी अनभिज्ञ छौं त्यसतर्फ हाम्रो विचारै बढ्दैन । अनि हामीले ईश्वरको महिमा कसरी बुझ्न सक्छौ । संसार हामीले देखेको जस्तो हुन पनि सक्छ नहुन पनि सक्छ र यो संसार कसरी परिचालित भइरहेको छ त्यो हाम्रो बसमा पनि छैन । किनकि त्यो कसरी कहाँबाट कस्तो अवस्थामा परिचालन भइरहेको छ यो वास्तवमा गहिरो विषय पनि हो ।
शरीरधारी जीव विषय हो भने शरीरलार्ई परिचालन गर्ने तत्व ईश्वर नै हो । तसर्थ ईश्वरको हो यो कहाँ छ कुन अवस्थामा यसले आफूलार्ई प्रदर्शन गरेको छ भन्ने तर्कको विषय होइन । ईश्वर श्रद्धा र विश्वास को आधार हो । यो मान्ने वा नमान्ने भन्ने कुरा मानव आचरण र व्यवहार मा रहेको हुन्छ । जसले आत्माभित्र ईश्वरीय शक्ति छ भनी जान्दछ उसले गर्ने कर्म र व्यवहार पनि सोही आचरण अनुकुल रहेको हुन्छ । तर, जसले यस्को विपरित भौतिक आडम्बर र क्षणिक विलासितालार्ई स्वीकार गर्छ, उसले त्यही किसिमले कर्म गर्दछ । यहाँ भन्नू पर्ने विषय के हो भने जीव ईश्वर हुन सक्दैन न त जीवन स्वयमं ईश्वर बन्न सक्छ । यो त भावना विचार, कर्म र विश्वासले प्रमाणित भएको हुन्छ ।
जीव आफ्नो अनन्य भक्ती प्रदर्शन गरी ईश्वरको नजिक पुग्न सक्छ तर उ स्वयं ईश्वर बन्न सक्दैन । जीवन प्रकृतिको बसमा हुन्छ भने प्रकृति ईश्वरको बसमा हुन्छ । अघिल्लो जन्ममा भए गरेको कर्मको फल यो जुनीमा पाएको कुरा शास्त्र गर्दछ, तर सत्य के हो त्यो अदृश्य छ । किनकी अहिले देख्न र सुन्नमा आएको जुन संसार छ, बस्तु छ, त्यो पहिले थियो वा थिएन पछी हुन्छ कि हुँदैन, भए कस्तो हुने हो, यस्ता कुराले मानिसलार्ई दुबीधा पारिरहेको छ । संसार हिजो जस्तो थियो आज नहुन सक्छ किनकि अहिले क्षण–क्षणमा संसार नयाँ गतिमा गतिशील भइरहेको छ तर सत्य हिजो जे जस्तो थियो अहिले पनि त्यस्तै छ, न त यसले रुप परिवर्तन गरेको छ न त व्यवहार ।
जसरी स्वच्छ आकाश सधै स्वच्छ भइरहेको हुन्छ त्यसरी नै ईश्वरको भाव स्वच्छ र पवित्र छ । बुझ्नु पर्ने के हो भने ईश्वरीय शक्ति केवल अनुभव गर्ने विषय हो । निलो आकाशलार्ई बादलले जसरी क्षणिक समय ढाग्न खोजेको हुन्छ त्यसरी नै आसुरीशक्तिले ईश्वरीय शक्तिलार्ई क्षणिक तत्वभित्र लैजान खोजेको मात्र हो, पछि उ आफै पन्छिएर गएको सत्य भुुल्नु हुँदैन । ईश्वर निराकार छ । न त यसको रुप छ न त गन्ध छ । यो त अनुभव र नतिजाले मात्र थाहा हुने सत्य हो । त्यसैले ईश्वर सत्य हो सत्य नै ईश्वर हो भनी सबैले स्वीकार गरी समय अनुकुल चल्न जरुरी छ । हुन त अहिले ईश्वरको कुरा गर्दा २१औँ शताब्दीमा यसलाई हेर्ने र बुझ्ने दृष्टिकोण फरक हुन सक्ला तर बुझ्नु पर्ने के हो भने ईश्वर हिजो थियो आज छ र भोलि पनि रहने छ । जसरी सत्य सधै सत्य भइरहन्छ त्यसरी नै ईश्वर पनि ईश्वरको रुप मा पुजिँदै गरेको अवस्था हुने छ । किनकी यो विश्वास र श्रद्धा हो ।