महेश बस्नेत
नारायणपुर, ३ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा संस्थागत विद्यालयका चालक र सहचालकका लागि ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरणसम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
साविक त्रिपुर क्षेत्रमा सञ्चालित निजी विद्यालयका चालक तथा सहचालकका लागि उक्त सचेतना कार्यक्रम सञ्चालन गरिएको संयोजक निर्मल न्यौपानेले जानकारी दिए । प्याब्सन दाङका निवर्तमान उपाध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता एवम् इलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख देवराज वलीको प्रमुख आतिथ्यतामा आयोजित सचेतना कार्यक्रममा त्रिपुर क्षेत्रका ५२ जना चालक र सहचालकलाई प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वलीले विद्यालयले बस सञ्चालन गर्दा विद्यार्थीको चापलाई ख्याल गर्नुपर्ने बताए । विद्यालयका बसमा सिट क्षमताभन्दा धेरै विद्यार्थी राख्ने गरिएकाले ट्राफिक नियमको पालना गरी सम्भावित दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउन सबैमा अनुरोध गरे ।कार्यक्रमका अर्का वक्ता प्याब्सनका केन्द्रीय सदस्य केशव थापाले चालकले विद्यालयका सवारीसाधन तीव्र गतिमा नचलाउन आग्रह गरे ।
उनले दुर्घटना जुनसुकै स्थानमा जुनसुकै अवस्थामा हुनसक्ने भएकाले चालक संयमित भएर बस चलाउनु पर्ने बताएका थिए । प्याब्सन घोराहीका सल्लाहकार सूर्यबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्याब्सन घोराहीका सदस्य सन्दीप शाहले गरेका थिए । कार्यक्रमको प्रशिक्षकमा अस्थायी ट्राफिक प्रहरी कार्यालय नारायणपुरका प्रमुख भुपेन्द्रप्रसाद गौली रहेका थिए ।