फाइल तस्वीर
भरत विश्वकर्मा
रोल्पा, ३ पुस । रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ खुङ्ग्री निवासी तेजी थापा २०४८ सालदेखि महिला स्वास्थ्य स्वयम्सेविकाको रुपमा काम गर्दै आएकी छिन । तीन दशक बढी समयदेखि स्वस्थ्य स्वयम्सेविका भएर काम गर्दै आएकी थापा सरकारले स्वयम्सेविकाहरूका लागि खासै प्राथमिकताका साथ काम नगरेको बताउँछिन ।
‘पहिलेको समयमा अत्यन्त चुनौती थियो, घरघरमा गएर स्वास्थ्यसेवाको बारेमा जानकारी दिनुपर्दथ्यो’, उनले भनिन्, ‘तर अहिले गाउँका टोलटोलमागाउँघर क्लिनिकहरूको स्थापना भएकाले स्वास्थ्य स्वयम्सेविकालाई केही सहज भएको छ ।’ तर आर्थिक रुपमा विपन्न समुदायका मानिसहरू बिरामी पर्दा पहिले आफूलाई नै सम्झिने गरेको बताउँछिन । भूगोलका रुपमा विकट क्षेत्रमा अहिले पनि नागरिकले सहज रुपमा स्वास्थ्य सेवा नपाउँदा आफूलाई खोज्दै नागरिक घरसम्म आउने गरेको भन्दै थापा भन्छिन्, ‘रोल्पाको सवै गाउँबस्तीमा सडक पूर्वाधारको पहँज छैन । जस्ले गर्दा सुत्केरीलगायतका चोट पटक लागेका बिरामीलाई तत्काल अस्पताल लग्न सम्भव हुँदैन । त्यस्तो बेला महिला स्वास्थ्य स्वयम्सेविका खट्नुपर्ने अवस्था छ ।’
नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनै समस्या हुने गरेको अनुभव सुनाउँछिन, सुनिलस्मृति गाउँपालिका २ खुङ्ग्रीकी चन्दा शाह । २०५५ सालदेखि स्वास्थ्य स्वयम्सेविकाका रुपमा काम गर्दै आएकी शाहले पहिलेको तुलनामा अहिले नागरिकमा धेरै चेतनाको विकास भएको बताउँछिन । अहिले नागरिकमा स्फुर्त तवरले स्वास्थ्य सेवा लिन आउने गरेको भन्दै उनले भनिन्, ‘पहिले त आफू जस्ता महिलाले स्वास्थ्यको बारेमा जानकारी दिँदा मानिसहरू हास्ने र परिवार नियोजनसम्बन्धी अस्थायी साधनका बारेमा कुरा गर्दा लजाउने र सुन्नै नचाहने अवस्था थियो तर अहिले त्यस्तो अवस्था छैन ।’
पहिले विशेष गरी गर्भवती महिलाहरूले नियमित जाँच नगराउँदा धेरै मृत्यु भएको भन्दै भनिन्, ‘सुरुसुरुमा पटकपटक आग्रह गर्दा पनि गर्भवतीले नियमित जाँच नगर्दा ज्यान कतिपयको मृत्यु समेत भयो तर अहिले त्यस्तो अवस्था छैन ।’ स्वास्थ्यको पहँुच नभएको ठाउँमा महिला स्वास्थ्य स्वयम्सेविका स्वास्थ्य क्षेत्रका प्रमुख मेरुदण्डका रुपमा काम गर्दै आएका छन् । खासगरी विकट क्षेत्रमा महत्वपूर्ण सेवा पु¥याउने काम गर्दै आएका छन् । महिला स्वास्थ्य स्वयम्सेविकाले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन् । चिकिन्सकको सहर केन्द्रित सेवाले गर्दा गाउँघरमा कयौँ स्वास्थ्य संस्था चिकित्सकविहीन छन् भने भएका अन्य कर्मचारीहरूले पनि राम्रोसँग सेवा दिन नसकेको हाम्रो मुलुकमा स्वास्थ्य स्वयम्सेविकाको भूमिका उल्लेखनीय रहेको छ ।
प्रविधिको प्रयोगमा वृद्धि भएपछि स्वयम्सेविकालाई केही सहज भएको उनीहरू बताउँछन् । दशकौँसम्म दिनरात नभनी नागरिकको सेवामा खट्ने महिला स्वस्थ्य स्वयम्सेविकाहरूको भूमिकाप्रति सरकारले खासै चासो देखाएको महिला स्वास्थ्य स्वयसेविका थापा बताउँछिन । गाउँघरमा स्वास्थ्य स्वयम्सेविकाले राम्रो सम्मान पाउनुका साथै कतिपय दुर्गम ठाउँमा स्थानीयवासीले उनीहरूलाई डाक्टरसमेत भनेर सम्बोधन गर्ने गर्दछन् । काम र जिम्मेवारीका हिसाबले हेर्ने हो भने महिला स्वास्थ्य स्वयम्सेविकाहरूले समुदायमा रहेर स्वास्थ्य र पोषणबारे जनचेतना अभिवृद्धि, प्रजनन् स्वास्थ्य, सुरक्षित मातृत्व, बाल एवम् शिशु स्वास्थ्य सेवाबारे जनचेतना अभिवृद्धि गर्नेलगायतका कार्यहरू गर्दै आएका छन् ।