नेवारी खाना महोत्सवमा यःमरी चाकु र खुवा आकर्षण

गोरक्ष समाचारदाता
तुलसीपुर, ३ पुस । तुलसीपुरमा भएको प्रथम तुलसीपुर सडक नेवाः खाना महोत्सवले स्थानीयको आकर्षण बढाएको छ । हरेक वर्ष सञ्चालन हुने मेला महोत्सवभन्दा फरक रुपमा सञ्चालन भएको महोत्सव स्थानीयको रोजाइमा परेको थियो । ‘अन्य महोत्सवमा यस्तो नौलो चिज हामीले पाएका थिएनौ, धेरै कुराको जानकारी यो महोत्सवले हामीलाई गराएको छे’, तुलसीपुरमा तीनसम्म सञ्चालन भएको प्रथम तुलसीपुर सडक नेवाः खाना महोत्सवमा आएका स्थानीय यमुना केसीले बताइन् ।

नेवारी खाना महोत्सवमा यःमरी चाकु र यःमरी खुवाले आफूहरूलाई आकर्षण गराएको बताइन् । उनले भनिन्,‘नेवारी परिकारहरू सवै राम्रोछ यःमरी त्यसमा पनि धेरै राम्रो लाग्यो ।’ नेवाः राष्ट्रिय मञ्च तुलसीपुरले आयोजना गरेको ‘नेवाः खाना महोत्सवको अन्तिम दिन पनि महोत्सवमा परिकारहरू खाना आउनेहरूको घुइँचो नै थियो ।

व्यावसायिक रुपमा नेवारी समुदायले नै ‘स्ट्रिड फुड’ आयोजना तुलसीपुरमा पहिलो पटक भएको हो । नेवार समुदायका मानिसहरूले आफ्नो कला, संस्कार र खाना संस्कृति सबै माझ पु¥याउने उद्देश्यले आयोजना गरेको तीन दिने महोत्सवमा उत्साहजनक सहभागिता रहेको नेवाः राष्ट्रिय मञ्च तुलसीपुरका अध्यक्ष शिवप्रसाद श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले नेवारी खाद्य संस्कार, कला संस्कृतिको पहिचान पछिल्लो पुस्तालाई बुझाउने उद्देश्यले गरिएको भन्दै महोत्सव फलदायी रहेको भन्दै आगामी दिनमा सवै जातजातिलाई समेटेर महोत्सव गर्ने बताए । ‘यस पटक हामीले मात्र यो आयोजना गरेका थियौँ, अब सबै जातजातिका खानाको महोत्सव गर्ने छौँ’, उनले भने ।’

महोत्सवमा करिव तिन हजार बढीले नेवारी परिकारहरू खाएको उनले बताए । ‘आफ्नै समुदायका युवा पुस्तादेखि अन्य समुदायका युवा पुस्ताहरूलाई पनि नेवारी खाद्य संस्कार, कला र संस्कृतिबारे जानकारी दिनु हाम्रो प्रमुख उेदश्य हो’, अध्यक्ष श्रेष्ठले भने । महोत्सवमा झन्डै दुई दर्जन प्रकारका नेवार समुदायका परिकारहरू खान राखिएको थियो । नेवाः राष्ट्रिय मञ्च तुलसीपुरको आयोजना तुलसीपुर उपमहानगरपालिका मुख्य प्रायोजन रहेको थियो ।

त्यस्तै महोत्सवलाई भाग्यलक्ष्मी इन्टरप्राइजेज, उत्तम वस्त्रालय, बुटवल वस्त्रालय र नेशनल बाथरोग सेन्टर तुलसीपुर सहप्रायोजक रहेको थियो । महोत्सवमा यःमरी चाकु, यःमरी खुवा, बारा, चुकौनी, चना, बोडी, चटामरी, सेल, माछा र नेवारले उत्पादन गर्ने मदिराका परिकारहरू पनि राखिएका छन् । यसैबिच एक कार्यक्रमका बिच तीनदिने महोत्सव मङ्गगलवार समापन गरिएको छ ।