तुलसीपुरमा प्रभावकारी बन्दै डिजिटल सेवा

गोरक्ष समाचारदाता
दाङ, ३ पुस । तुलसीपुर उपमहानगरपालिका–६ निवासी देवका शर्मा र वीरबल शर्मालाई व्यवसाय दर्ताका लागि सिफारिस लिन वडा कार्यालयमै पुगेर पालो कुर्नु पर्ला भन्ने चिन्ता थियो । कागजात बोकेर वडामा जानु पर्ने झन्झट भइरहेका बेला व्यवसाय दर्ता अनलाइनबाटै हुने खबर थाहा पाए । सोही अनुरूप वडाबाट अनलाइनबाटै सिफारिस बनाए । अनलाइनबाट ई–सिफारिस लिने देवका र वीरबल तुलसीपुरको पहिलो सेवाग्राही हुन् ।

‘अनलाइनबाट धेरै सजिलो भयो’ देबकाले भनिन्, ‘पाँच मिनेटमै मेरो काम सकियो, जमाना अनुसारको प्रबिधि गज्जब लाग्यो । प्रविधिको सदुपयोग गर्न सके डिजिटल युगमा सुविधा पनि उत्तिकै छ ।’ तुलसीपुर उपमहानगरपालिकालाई पेपरलेस उपमहानगर बनाउने नीतिअनुरूप वडा नम्बर ६ बाट ई–सिफारिसको काम सुरु भएको छ । अबनागरिकले आफूलाई आवश्यक परेका कुनै पनि कागजात अनलाइनमा प्रक्रिया पूरा गरेपछि मोबाइलबाटै सजिलै प्राप्त गर्न सकिने वडाध्यक्ष दुजमान भण्डारीले बताए ।

‘ई–सिफारीस सेवाका लागि मोबाइलको प्ले स्टोर मागएर तुलसीपुर एसएमएस एप्लिकेसन डाउनलोड गरेर सेवालिन सकिन्छ ।’ उनले भन्ने, ‘सेवाग्राहीले आफूलाई आवश्यक परेका पञ्जीकरण (जन्मदर्ता, विवाहदर्ता, बसाइँ सराई, मृत्यु दर्ता) बाहेकका सबै सेवा अनलाइनबाट लिन सक्छन् ।’ यो सेवाले पालिकालाई पेपरलेस बनाउने अभियानलाई सहयोग पुग्ने वडाध्यक्ष भण्डारीले बताए । तुलसीपुर उपमहानगरपालिकाका सूचना प्रबिधि अधिकृत सविन केसीका अनुसार ई–सिफारिस सेवा लिन सबैभन्दा पहिला मोबाइल एप्स डाउनलोड गर्नुपर्ने हुन्छ । डाउनलोड गरेर रजिस्टे«सन गरिसकेपछि चाहिएको सिफारिस लिन आवश्यक कागजात अपलोड गरेर निवेदन दिन सकिने छ ।

सोही निवेदनका आधारमा कागजात सही छ वा छैन भन्ने विषयमा हेर्ने जिम्मेवारी सम्बन्धित वडाको सचिवलाई प्रदान गरिएको छ तर वडाध्यक्षले हेर्न सक्ने व्यवस्था मिलाइएको केसीले बताए । ‘कागजात अपुग भए थप गर्न र प्रक्रिया मिलेको खण्डमा राजस्व बुझाउने सूचनाको सन्देस सेवाग्राहीको मोबाइलमै आइपुग्नेछ’, उनले भने, ‘त्यसपछि सेवाग्राहीले राजस्व मोबाइलबाटै दाखिला गरेर भौचर अपलोड गर्नुपर्छ र प्राप्त फाइललाई सम्बन्धित वडा सचिवले सम्बन्धित वडाध्यक्षलाई फरवार्ड गरिदिएपछि वडाध्यक्षले ई–हस्ताक्षर गरेर सेवाग्राहीलाई फरवार्ड गर्नुहुन्छ ।’

उनका अनुसार सिफारिस प्राप्त भएको सूचना सेवाग्राहीलाई तत्कालै मोबाइलमा जानकारी हुन्छ । त्यसपछि मोबाइलमा डाउनलोड गरेर ई–सिफारिस प्राप्त गर्न सकिन्छ । ई–सिफारिस सुरु भएपछि देशका जुनकुनै ठाउँमा भए पनि सिफारिसकै लागि पालिका पुग्नु पर्ने समस्या सधैँका लागि हटेको छ । वडा नं. ६ बाट सेवा आरम्भ गरिएको छ भने अन्य वडाले पनि परीक्षण गरिरहेका छन् । सूचना प्रविधि अधिकृत केसीले तत्कालका लागि वडाबाट प्रदान गरिने ३४ प्रकारका सिफारिस अनलाइनबाटै प्राप्त गर्न सकिने बताए ।

अनलाइनमै घर नक्सापास

तुलसीपुर उपमहानगरपालिकामा लागु भएको ई–घर नक्सापास सेवाले स्थानीय नागरिकलाई खुसी थपेको छ । विगतमा अनलाइन सेवा नहुँदा सेवाग्राहीका फाइल हराउने, फाइलिङ गरिएका कागजात सेवाग्राहीले भनेकै बेला खोज्दा नभेटिने, कतिपय झुठ्ठा विवरणहरू समेत पेस हुन सक्ने समस्या थियो । पहिले घर नक्सापासको काम गर्न सुरुमा फाइल बोकेर पालिकामा पुगेरै निवेदन दिनुपथ्र्यो ।

निवेदन दर्ता पश्चात सम्बन्धित वडा कार्यालयमा वडा सर्जिमिनका लागि फाइल बोकेर जानुपर्ने बाध्यता थियो तर अहिले त्यो समस्या हटेर गएको छ । घर नक्सापासको सबै काम अनलाइनबाटै हुने भएपछि समय र पैसाको बचत भएको सेवाग्राही पूर्णबहादुर विष्टले बताए । ‘पहिलेको प्रक्रिया अनुसार वडामा सर्जिमिनमा पुग्दा समेत घरको डिजाइन र तलाको समेत यकिन भइसकेको हुँदैनथ्यो’, उनले भने, ‘तर अहिले डिजिटल सिफारिसमा सबैभन्दा पहिला घर निर्माणका लागि नक्सा तयार गर्नुपर्छ ।’ सोही बमोजिम घरको आकार र कति तलाको बनाउने भन्ने विषयमा पूर्वतयारीका लागि सजिलो हुने गरेको सेवाग्राही तुलसीपुर–१८ का झविलाल घिमिरेले बताए । विष्ट र घिमिरे प्रतिनिधिमूलक पात्र भए पनि तुलसीपुर उपमहानगरपालिकामा आर्थिक वर्ष २०७७÷०७८ को पुसबाट सुरु भएको अनलाइन घर नक्सापास सेवाले झोलामा कागज बोकेर कार्यालय धाइरहनु पर्ने बाध्यता पूर्णरूपमा हटेर गएको छ ।