गोरक्ष समाचारदाता
दाङ, ३ पुस । घोराही उपमहानगरपालिकाको विकट बस्तीका रूपमा रहेको चाक्लीघाटमा सञ्चार सेवा विस्तार भएको छ । घोराही उपमहानगरपालिका–२ स्थित चाक्लीघाट क्षेत्रमा मोबाइल सेवा (टावर) सञ्चालनमा आएको छ । नेपाल टेलिकम र घोराही उपमहानगरपालिकाको संयुक्त लगानीमा वडा नम्बर २ को झुलेडाँडामा टावर स्थापना गरेपछि चाक्लीघाट क्षेत्रमा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा सुरु भएको हो ।
घोराही–लमही सडक खण्डको बेल्दमारदेखि उत्तर–पूर्वमा पर्ने चाक्लीघाट क्षेत्रमा फोन सेवा भरपर्दो नहुँदा नागरिकले सञ्चार सेवा उपभोग गर्नमा समस्या भएको थियो । नेपाल टेलिकमको ५० लाख र घोराही उपमहानगरपालिकाको १५ लाख रुपैयाँ लगानी गरेर झुलेडाँडामा टावर स्थापना गरेपछि सञ्चारको सहज भएको स्थानीय बताउँछन् । घोराही उपमहानगरपालिका–२ का अध्यक्ष चित्रबहादुर चौधरीको अध्यक्षतामा मङ्गलवार कार्यक्रमको आयोजना गरी चाक्लीघाट क्षेत्रमा नेपाल टेलिकमले फोन र इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले भूगोलका कारण अनेक समस्या भए पनि त्यसलाई पार लगाउँदै सञ्चार सेवा प्रयोगमा नागरिकलाई जोड्न सफल भएको बताए । चाक्लीघाटबाट झुलेडाँडामा विद्युत विस्तारका लागि घोराही उपमहानगरपालिकाले १५ लाख रुपैयाँ खर्च गरेको जानकारी दिए ।
विकट चाक्लीघाटलाई सुगमतासँग जोड्न स्थानीय सरकारले अब बाटो तथा पुललाई प्राथमिकतामा राखेको बताए । यसैगरी नेपाल टेलिकम काठमाडौंका बरिष्ठ अधिकृत केशवराज देवकोटाले घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीसँग समन्वय गरेर चाक्लीघाटका स्थानीयलाई सञ्चार सेवामा जोड्न केही वर्ष पहिलेदेखि नै गर्दै आएको र अहिले संयुक्त रूपमा काम सम्पन्न भएको बताए । नेपाल टेलिकम राष्ट्र निर्माणको अभियानमा रहेको चर्चा गर्दै उनले आफूहरूको जिम्मेवारी अनुसार स्थानीय सरकारसँग मिलेर चाक्लीघाटका नागरिकलाई सञ्चारको पहुँचसँग जोड्न सफल भएको बताए ।
कार्यक्रममा नेपाल टेलिकम घोराहीका प्रमुख सुरेशकुमार शर्माले चाक्लीघाटमा फोन सेवासँगै स्थानीयलाई निःशुल्क नमस्तेको प्रिपेड सिम वितरण गरिएको बताए । यसैगरी स्थानीय वीरबहादुर वलीले स्थानीय सरकार घोराही उपमहानगरपालिका र नेपाल टेलिकमले फोन सेवा सञ्चालन गरेर नागरिकको अधिकारलाई सुनिश्चितता गरेको प्रति आभार व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वडा सदस्य तथा स्थानीय टोपबहादुर डाँगीले गरेका थिए ।