शिक्षकलाई क्षमता विकास सम्बन्धि तालिम

बर्दिया,१ पुस । बर्दियाको गुलरियामा अंग्रेजी विषयगत शिक्षकहरुको लागि तीन दिने पेशागत क्षमता विकास सम्बन्धि आधारभुत तालिम दिइएको छ ।
राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया र शिक्षा बिकास तथा समन्वय इकाइको समन्वयमा जिल्लाको चार पालिकाका २१ जना शिक्षक शिक्षिकालाई बिद्यालयमा पठनपाठन गराउन थप सहयोग पुग्ने उद्देश्यले तालिम दिइएको हो ।

प्लानइन्टरनेशनल नेपालद्वारा संचालित सशक्त बालिका परियोजनाअन्र्तगत ३ दिने तालिम दिइएको परियोजनाका संयोजक मनोज पौडेलले जानकारी दिएका छन् । मंसिर २८ गतेदेखि सुरु भएको तालिम आइतबार सम्पन्न भएको थियो । तालिमबाट बिद्यार्थीहरुलाई अध्यापन गराउन थप सहयोग पुग्ने तालिममा सहभागी शिक्षिका गोमा चालिसेले प्रतिक्रिया दिए । बिद्यालयमा बिद्यार्थीहरु बिच समूह बनाई उनीहरुलाइ कसरी सहज बाताबरणमा उत्पेरणा जगाई अध्यापन गराउने विषयमा समेत जानकारी पाइएको चालिसेले बताए ।

तालिममा सहभागी शिक्षक सानुकान्छा तमाङ्गले बिद्यालयमा समग्र शिक्षा सुधारको बारेमा सिकाइ भएको बताए । कक्षाका बिद्यार्थीलाइ अध्ययन गरि रहेको पाठ्क्रमप्रति कसरी आकर्षित गराउने तरिका बारे जानकारी पाइएको बताए । यस्ता तालिम र सिकाइ भन्ने सधै भरी हुनुपर्ने भन्दै सिकेका नयाँ कुराहरु बिद्यालयमा सबैले अनिवार्य लागू गरे प्रतिफल सकारात्मक आउने प्रशिक्षक दानबहादुर चन्दले बताए ।
समापन कार्यक्रममा बोल्दै शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख सुर्यबहादुर खत्रीले विशेष गरि गणित, बिज्ञान र अङ्ग्रेजी बिषयका शिक्षकहरुले अध्यापन गराउने बिषयमा विषेश ख्याल गर्न आग्रह गरेका थिए ।

जिल्लाको समग्र शिक्षाको अवस्थालाई उधृत गर्दै उनले एसईई तथा कक्षा १२ को आएको परिक्षाफल हेर्दा शिक्षणशैलीमा निक्कै सुधारको अवश्यकता रहेको बताए । तालिमहरुले उक्त समस्या समाधान गर्न सकिने खत्रीको विश्वास छ । तालिममा सिकेका कुरालाइ सबैले ब्यवहारमा लागू गर्न सुझाव दिए । कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रका कोषाध्यक्ष एवं तालिम समापन कार्यक्रमका सभापति यज्ञराज पोख्रेलले तालिम बहुउपयोगी भएको बताए ।

सिकाइ निरन्तरको प्रक्रिया भएको उल्लेख गर्दै उनले बिद्यालयमा शिक्षक र विद्यार्थी बिच लागू गराउन अनुरोध गरेका थिए । बर्दियाको ठाकुरबाबा, राजापुर, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाकामा अध्यापन गराउदै आएका शिक्षक शिक्षिकालाई तालिम दिएको कार्यक्रम अधिकृत सीमा वलीले बताइन ।